शुक्रबार, वैशाख २८, २०८१

अधिराजकुमारी श्रुतिको त्यो तस्बिर

सुनील उलक २०८० वैशाख २५ गते १०:३६
सुनील उलक

Ed van der kooy प्रख्यात डच चित्रकार हुनुहुन्छ । उहाँ नेपाललाई निकै माया गर्ने कलाकार हुनु भएकोले २०३५ सालबाट नेपालमा धेरै पटक भ्रमण गर्नु भयो । उहाँको २०३५ को पोखरा तथा मुक्तिनाथ भ्रमणको डकुमेन्ट्री HISTORY of Nepal my diary into the Nepal Himalaya 1978 निकै महत्त्वपूर्ण छ ।

नेडरल्याण्डको रोयल एकेडेमी अफ भिज्यूअल आर्ट्समा १९७८ को समर सिजनमा पढ्दै गर्दा अचानक नेपालको बारेमा सुने । उनलाई नेपालले आकर्षण गर्‍यो । उनले नेपाल जाने निर्णय गर्दै २०३५ को दसैँ तिर काठमाडौं झरे । त्यति बेला काठमाडौंको आकर्षण भनेकै झोछे थियो । हिप्पी युगमा फ्रिक स्ट्रिटका नामले प्रख्यात यही ठाउँको सेन्चुरी लजमा दिनको १० रुपैयाँमा कोठा लिए । केही दिनलाई भनेर नेपाल आएका उनी करिब १ महिना बसे ।

धुलिखेल घुम्न जाँदा धुलिखेलमा धुलिखेल लजका मालिक बेलप्रसाद श्रेष्ठले पोखराबाट मुक्तिनाथ ट्रेकिङमा जान सुझाए पछि उनी पोखरा हान्निए । मुक्तिनाथ पनि पुगे । उनले आफ्नो यात्रा क्रममा बनाएको डकुमेन्ट्री उनले युट्युबमा पनि राखेका छन् । ३५ सालको नेपाल भ्रमणले नेपालसँग उनको यस्तो प्रेम बस्यो कि उनी वर्षको एक पटक जसरी पनि नेपाल आउन थाले ।

लाङटाङ, लोमाथाङ, कञ्चनजंघा, हेलम्बु लगायत धेरै ठाउँको यात्रा गरे । २०५५ सालको नेपाल भ्रमणको समय उनले अधिराजकुमारी श्रुतिलाई चित्रकला सिकाएका थिए । साथमा श्रुतिको चित्र पनि कोरेका थिए । पद्म कन्या कलेज पढ्दै गरेका श्रुतिको चित्र कोर्नु अगाडि श्रुतिसँगको साक्षात्कारको फिल्म उनले युट्युबमा राखेका छन् ।

निकै लजालु श्रुतिको चित्र कोर्न उनलाई निकै कठिनाइ भएको थियो । अन्ततः चित्र तैयार गरे । यसको एक वर्ष पछि पुन नेपाल आएर अधिराजकुमारी श्रुतिको चित्र सहित अन्य चित्रहरूको प्रदर्शनी गरे । यसको समुद्घाटन श्रुतिलाई नै गर्न लगाए ।

काठमाडौंकाे सिद्धार्थ आर्ट ग्यालरीमा ३ पटक चित्रकला प्रदर्शनी पनि गर्नुभयो भने तारागाँउ म्युजियममा १ पटक गर्नुभयो । २०५५ चैत १३ गते पहिलो चित्र कला प्रदर्शनी गर्नु भएको १४ महिना पछि पुन २०५८ वैशाख २४ गते चित्रकला प्रदर्शनी गर्नु भयो र सो को उद्घाटन अधिराजकुमारी श्रुतिबाट भयो । सो प्रदर्शनी Piet Warffemius सँग मिलेर गर्नु भएको थियो ।

यसै बिच नेपालको इतिहासको एउटा दुखद घटना घट्यो यो प्रदर्शनी समुद्घाटन गर्नु हुने अधिराजकुमारी श्रुतिको बुवा राजा वीरेन्द्र तथा सम्पूर्ण परिवारको साथ एक महिना पनि नबित्दै २०५८ जेठ १९ मा हत्या भयो । यस दुखद घटना पछि २०५९ कार्तिक १५ मा पनि प्रदर्शनी गर्नु भयो । यस पछि अन्तिम पटक उहाँले २०७६ असोज १ गतेबाट काठमाडौँ बौद्ध स्थित तारागाँउ म्युजियममा चित्रकला प्रदर्शनी गर्नुभएको थियो ।

बि.सं. २०१३ सालमा नेडरल्याण्डको हेगमा जन्मेका एड भानुसँग २०७६ सालमा मेरो भेट तारा गाउँमा भएको थियो । निकै लामो कुराकानी भएको थियो हाम्रो । उहाँले तारा गाउँको चित्रकला प्रदर्शनीमा श्रुतिको चित्र भने राखेनन् । देशको बदलिँदो परिस्थितिमा राजपरिवारको तस्बिर खासै नरुचाउने उनको ठम्याइ थियो । साथै गलत अर्थ्याउन पनि सक्ने सम्भावना रहेको हुँदा पनि श्रुतिको चित्र नराख्ने उनले निर्णय लिएका थिए ।

प्रतिक्रिया