आइतबार, वैशाख ३०, २०८१

जङ्गबहादुरको नयाँ अवतारको प्रतीक्षा गरिएको हो र ?

नेपालखोज २०८० वैशाख २९ गते ७:५९
आदित्य मान श्रेष्ठ

काठमाडौं । जङ्गबहादुर राणा भनेको कुनै खास मानिस होइन । जङ्गबहादुर भनेको एउटा यस्तो चरित्र हो जसको कुनै ठेगान हुँदैन। उनले नेपालको सत्ता कब्जा गर्दा कुनै योजना बनाएका थिएनन् ।

तर उनले त आफ्नो जागिर जोगियोस् भनेर कोसिस मात्र गरेका थिए । उनको समयमा राजेन्द्र विक्रम राजा थिए । उनको कान्छी महारानी लक्ष्मीदेवीको हालीमुहाली चल्ने गर्दथ्यो। दरबारको चाल चलन सित भने जङ्गबहादुर राम्रो जानकार थिए ।

त्यसैले उनले कोतमा जाँदा आफ्ना भाइ भतिजाहरूलाई हतियारमा सुसज्जित भएर आउनु भनेर अह्राएका थिए । कोतपर्व हुन सक्छ भन्ने छनक जङ्गबहादुरलाई थियो ।

नेपालको आजको परिस्थितिले पनि त्यस्तै एउटा मानिस खोजिरहेको देखिन्छ । त्यो मानिस को हुन सक्छ, कहाँबाट आउँछ कसैले पनि भन्न सक्दैन । तर त्यस्तो भविष्यवाणी गर्न नसकिने खालको चरित्रको मानिस निस्कन सक्छ । आजको परिस्थितिले त्यस्तै मानिस जन्माउँछ । यो एउटा यस्तो परिस्थिति हो जसमा मानिसहरूको विश्वास हराइसकेको छ ।

लोकतन्त्र नराम्रो होइन । हामीले त्यो सबै पाएका छौँ जो मानिसले आफ्नो जीवनमा खोजिरहेको हुन्छ । स्वतन्त्रता पाएका छौँ । मनमा लागेको कुरा र बिचार पोख्न पाएका छौँ । तर के त्यतिले मात्र सन्तोष हुने रहेछ रु लोकतन्त्रमा निर्वाचन नहुने पनि होइन । हेर्दा सबै मानिस चुनिएरै आएका हुन्छन् ।

मतदान पनि धेरै खसेकै हुन्छ । निर्वाचनमा धेरै धाँधली भएको छ भन्न पनि मिल्दैन । निर्वाचन आयोगले आचारसंहिता पनि बनाउँछ। लागू भयो पनि भन्छ । तर मानिसहरूलाई चित्त बुझ्दैन ।

सरकार पनि दलगत बलमा बन्छ। ठुला दलहरूले आआफ्ना दलका अधिवेशन पनि गर्छन् । नेतृत्व पनि चयन गर्छन् । तर नेतृत्वमा आएका मानिसको मुख देखेर सबै खिन्न हुन्छन् । उही अनुहार धेरै वर्ष देखि देखिएका हुन्छन् । तर कसैले जनताको पिर मर्का बुझेको हुँदैन । कतै कसैको नेतृत्व बदलियो भने के के नै भयो भन्ने लाग्छ। तर काम गर्न लाग्यो भने उही पुरानो पारा देखिन थाल्दछ ।

पैसा बिना कुनै काम हुँदैन। जहाँ गयो उहीँ पैसा खुवाउनु पर्ने हुन्छ। पैसाले सबै थोक किन्न पाइन्छ। राजदूत हुनु पर्‍यो पैसै चाहियो । कुनै राजनैतिक नियुक्ति लिनु पर्‍यो पैसै चाहियो । कुनै उम्मेदवार हुनु पैसै चाहियो । कुनै बेला जागिर खान पनि पैसै खुवाउनु पर्ने अवस्था थियो । अहिले पनि मन्त्री हुनलाई कसैले दुई करोड माग्यो भनेर कार्यवाही नै भयो ।

नेताहरू भनेका राज्य सञ्चालक हुन् । उनीहरूको हातमा मानिस राख्ने खोस्ने अधिकार हुन्छ । त्यही अधिकार प्रयोग गरेर उनीहरूले पैसा कमाउन सक्छन् । त्यसै भएर नेतृत्व छाड्न कोही तैयार हुँदैनन् भनेर सबैलाई थाहा छ ।

गर्दा गर्दा नेपालीलाई नक्कली भुटानी बनाएर विदेश पठाउने काण्डको पर्दाफास भएको छ । पुराना गृह मन्त्रीहरू पनि यस काण्डमा तानिएका छन् । एक जना सचिव त थुनामा नै परेका छन् । अरू कति मानिसहरू पनि संलग्न भएको शङ्का लागेको छ । उनीहरूको नाउँ पनि बाहिर नआएको होइन । प्रहरीले सबै किसिमको खान तलासी गरिरहेको समाचार आइरहेको छ । बलियो प्रमाण खोजिरहेको पनि प्रहरी आफैले भनिरहेको छ ।

बलियो प्रमाणको खोजीमा यो मुद्दा त्यसै सेलाएर जान सक्छ । किनभने यस्तो गैर कानुनी पैसाको लेनदेनमा कुनै भर्पाई हुँदैन । कसैले दोषारोपण गर्ने बित्तिकै दोष प्रमाणित हुने पनि होइन । यसै सिलसिलामा अपराध साबित गर्न सारै गाह्रो काम हुन्छ । यस कारण यो सब प्रकरण फासफुस हुन पनि सक्छ ।

यसमा राजनैतिक दबाब नहुने पनि होइन । राजनीति नै यस प्रकारले विकास हुन सक्छ कि त्यसको परिणाम शून्य पनि हुन सक्छ। यही हुन्छ भनेरै नै संसदमा ठुलो हङ्गामा भएको छ । बाहिर पनि उत्तिकै आवाज उठिरहेको छ । तर सबै प्रकरणको निवारण न्यायालयमा नपुगी हुँदैन ।

त्यहाँ पुगिसके पछि बलियो प्रमाण मात्र काम लाग्छ । फितलो मुद्दामा सबै दोषी छुट्ने गरेका छन् । यो पनि यस्तै एउटा फितलो मुद्दा साबित हुन सक्छ। यही डरले धेरैलाई सताएको देखिन्छ ।

अब त देशमा आएको परिवर्तनले केही प्रतिफल दिन्छ कि भनेर सबैले आस गरिबसेका छन्। तर यस काण्डले लहरो तान्दा पहरो आउने सङ्केत देखिसकेको छ । मानिसहरूले यस काण्डबाट धेरै भ्रष्टाचारीहरू बाहिर आउने आस गरेका छन् । तर नेताहरूको बैठकबाट खास के कुरा भयो भनेर आउँदैन । तर मानिसहरू बुझ्छन् कि नेताहरूले यो काण्डलाई ढाकछोप गर्न कोसिस गरिरहेका छन् ।

दोषारोपण गर्ने बित्तिकै अपराध सिद्ध हुने होइन । छानबिन गरिरहेको प्रहरी र त्यसका जिम्मेदार व्यक्ति हालका गृह मन्त्री नै भएकाले उनीहरूको मनोबल बलियो होस् भनेर सबैले आशा गरेका छन् । तर त्यसको आखिरी फल के हुने हो भनेर कसैले यकिन भन्न सक्ने अवस्था छैन ।

यही अवस्थामा अनेक काण्डको कुरा यो देशमा ननिस्केको होइन । तर सबै दबाइए । मानिसहरू हेरेको हेरै भए । जस्तो वाइड बडी काण्डमा संसदको एउटा समितिले नै चार करोड घुस लिएको बतायो । तर त्यसलाई सरकारले एकातिर पन्छाई दियो ।

बुढी गण्डकी परियोजनामा अर्बौँ रुपैयाँ हिनामिना भयो र नौ करोड कस कसले खायो भनेर एक जना नेताले नै बोले ख । तर त्यस्तो सिकायत कसैले पनि सुनेन । मानव तस्करी कति भए कति भए त्यसको कुनै हिसाब किताब भएन । फ्री भिसा र फ्री टिकटको व्यवस्था भयो भनेर सरकारले नै भन्यो। तर त्यो कहिले लागू भएन । आखिर नेपालीहरू बाहिर जाँदा जसरी शोषणमा पर्दथे सो कायमै रह्यो ।

३८ किलो सुन नेपालको एयरपोर्टबाट गायब भयो। त्यसमा सरकारले अनेक छानबिन समितिहरू बनायो। तर त्यो सुन गायब भयो । समिति पनि हरायो ।

सरकारले हाँसेर नै टारी दियो। मेलम्ची खानेपानी योजना कति पटक बन्यो कति पटक बिग्रियो । त्यसमा सरकारले पैसा खनायो । तर न पानी आयो, न योजना तैयार भयो । यस योजनाले काठमाडौका कति सडकहरू बिगार्‍यो त्यसको कुनै हिसाब किताब छैन। कसैले केही कुरा उठायो भने उसलाई विकास विरोध भनेर भनिदियो। कुरा त्यहीँ टुङ्गियो ।

यी सब कुरा सुन्दा सुन्दा थाकेका जनताले अब त केही हुन्छ भनेर बसेका छन्। तर आखिरमा निराशा सिवाय अरू केही हात पर्दैन। यो यस कारणले हो कि यो व्यवस्था नै भ्रष्टाचारमा उभिएको छ।

भ्रष्टाचार नगरीकन यो व्यवस्था टिक्नै सक्दैन । त्यस कारण जन चाहनाको यस पालि पनि मरण हुने पक्का छ । सहन नसक्ने कोही नेपाली अगाडि आएर जङ्गबहादुर हुन सक्छ । यसको भने ठुलो सम्भावना देखिन्छ ।

प्रतिक्रिया