बिहीबार, चैत १५, २०८०

नेपालमा टेलिफोनको स्थापना

सुनील उलक २०८० जेठ ३ गते ९:४३

काठमाडौं । १७ मई १८६५ मा बीस देशका प्रतिनिधि पेरिसमा भेला भएर सम्मेलन गरे पछि नै विश्वभर दूरसञ्चारको महत्त्व बढेको थियो । यही १७ मई को महत्त्वलाई ध्यानमा राखेर सन १९६९ बाट विश्व दूरसञ्चार दिवस मनाउन थालियो ।

विश्वको परिवेशमा जे जस्तो भए पनि नेपालमा भने वि.सं.१९७० मा टेलिफोनको सुरुवात भएको मानिन्छ । १९७२ मा काठमाडौं देखी वीरगन्जसम्म तार ओछ्याइएको र १९७३ बाट काठमाडौं वीरगन्ज बिच दूरसञ्चार गाँसिएर विश्वसँग सम्पर्क गर्ने माध्यमको सुरुवात भएको थियो । यस कार्यको लागी ब्रिटिस इन्जिनियर बर्नार्ड पण्टेको अहम भूमिका रहेको थियो ।

यो सुखद समाचारलाई १९७३ असार २० गते सोमवारको गोरखापत्रले प्राथमिकताका साथ छापेको थियो । त्यही समाचारलाई यहाँहरु सामु राखिदिएको छु ।

टेलिफोन स्थापित

हे प्रिय पाठक महाशय हो ! आज तपाञीहरुका अगाडी आनन्ददायक खबर जाहेर गर्न पाउनु हाम्रो ठुलो भाग्य रहेछ ! उहिले हामीहरूलाई बिजुली भनेको कस्तो होला ? कसरी बन्दो हो ? टेलिग्राम भनेको कस्तो हुन्छ ? दश मिनट्मा हजारन् कोश परको खबर कसरी जानिन्छ ? टेलिफोन भनेको कस्तो होला ?

हजारन कोशका बिचमा फासला राखी, वल्लाछेउमा र पल्लाछेउमा बसी एकै पलङमा बसी बातचित गरे झैँ कसरी गर्दा हुन् ?भन्ने लाग्दथ्यो, आज परमेश्वरका असीम अनुग्रहले र श्री ३ महाराजका प्रखर प्रतापले, बिजुली बत्ती यस्तो हुँदो रहेछ यसरी बल्दो रहेछु भन्ने हामी नेपाल बासीलाई पुरा बोध भयाका सबैलाई जाहेरै छ ।

हालमा श्री ३ महाराजका अनुग्रहले सबैलाई असल होस् , सबैको उपकार होस् भनी , मिस्टर बर्नोर्डपन्टे लाई लगाइ यौटा काम फेरी तयार भया टुडीखेल देखि वीर गन्जसम्म करिब ७२ माइल अर्थात् करिब ३६ कोशको फासला छ।

तेस्मा १५०.१५० फीट्को फरक पारी काष्ठमय उचाखम्बा खडा गराइ ती खम्बाका शिरशिर्मा तामाको तार लगाइ यन्त्रादिको मेलन समेत गरी वीरगन्जमा र यहाँ टुँडिखेलका नगीच पश्चिम पट्टी टेलिफोन आफिस खडाभै ३६ कोशको हाल क्षणभरमै नजिकै बसी बातचित गरेझैँ गरिन लाग्यो ! हाम्रा भाग्यले गर्दा ५ हजार कोश परको हालखबर पनि ५ घण्टा भित्रमा सुन्न पाउने भयौ ! यसबाट खाली सर्कार लाई मात्र व्हैनकि, दुनिञादारलाइ समेत फाइदा हुने भयो ।

किनभने, हेर्नुहोस्- धर्मावलम्बी (सनातन धर्मवाला) हामीहरू हिन्दुस्थान तर्फको तीर्थ सफर गर्न गयाका बेलामा दैव संयोग कोही विपतमा पर्नभयो भने मैन्हन सम्म घरका बालबच्चालाई केही खबर मिल्दैनथ्यो । कदाचित कसैले रक्सौलसम्म तारदिया पनि । वीरगन्जबाट चिठी सरहभै ।

आउने हुनाले कालातीत भई दुनिञाले बडो अपसोच मनाउनु पर्दथ्यो । सो अब उदाराशय श्री ३ महाराजका दूरदर्शिता सहितको करुणापरंपराले गर्दा दूर भयो ! काठमाडौ देखी वीर गन्जसम्म बराबर टेलिफोन चल्न लाग्यो । ७२ माइल्का वरिपरि बसी सामुन्नेमा बातचित गरेझैँ गर्नहुन्छ ।

यहाँ जस्तो बोल्यो वहाँ उस्तै सुनिन्छ । वहाँ जस्तो बोल्यो यहाँ उस्तै सुनिन्छ , एकजात् फरक पर्दैन यस्ता यस्ता अद् भुत कार्खानाको आविष्कार गरी, देशोन्नति र सबैको उपकार गर्नामा तत्पर होइबक्स्याका प्रजाबत्स्ल श्री ३ महाराजको दीर्घायु होस, कीर्ति चारोतरफ फैलियोस् राज्यबृद्धिका साथ साथ चिरकालसम्म अटल रहोसभन्ने परमेश्वरसित सतत प्रार्थना गर्दछौ !!

प्रतिक्रिया