आइतबार, वैशाख ३०, २०८१

तिमी

राम योन्जन २०८० जेठ ६ गते ८:३६

आँखा भएरै आँखाहीन छौ
मुटु भएरै मुटुहीन छौ
चतुर भएर चेतनामै चेतनाहीन बन्यौ

अब त्यसपछि
आफ्नै घरमा वास माग्नु पर्ने छ
आफ्नै आँगनमा खेल्न अनुमति लिनुपर्ने छ ।

पुरिने छ बन्द हुने छ
हिँड्दै आएका स्वाभिमानी पैतालाहरुका बाटाहरू
सगरमाथा भुइँमा ओर्लिएर रुने छ ।

धिकार्ने छ पूर्खाले जोगाएको अस्तित्व घुमेपछि।
हाँसी हाँसी बगेको सप्तकोसी( अब रोएर बग्ने छ ।

पहाडको आदिम माया लिएर
गुराँस र सुनाखरी अन्तै कतै विलय हुने छ ।

आजैबाट यो घरसँगको सम्बन्ध सकियो तिम्रो ।
आफ्नै आमाको छातीमा लात हान्ने
तिमी अब यो घरको छोरा हुन सक्तैनौ।

केवल यो माटोको सुगन्धमा
तिम्रो दुर्नियतिको दुर्गन्ध मात्रै रहने छ ।

आजसम्मको यो स्वतन्त्र भूमिले
अब तिम्रो चिहानसम्म स्वीकार्दैन
बाँचे पनि तिमी
अब हामी तिम्रो मृत्युु उत्सव खोजिरहेका छौँ
किन कि
तिमी त भूमिपुत्र होईनौ हुनै सक्तैनौ
केवल आफ्नो मात्रै नाफा र फाइदा चाहाने
कुपुत्र दलाल पुजीवादी हौ।

अब तिमीले मर्नु पूर्व नै
यो भूमि भन्दा बाहिरै आफ्नो चिहानको बन्दोबस्त गर।

प्रतिक्रिया