सोमबार, वैशाख २४, २०८१

राजा त्रिभुवनको शिर छाप भएको एक रुपैयाँको सिक्का

सुनील उलक २०८० जेठ ६ गते ९:२६

वि. सं. २०१० सालमा राजा त्रिभुवनको शिर अंकित पचास पैसा र रु एकको सिक्का छापिएको थियो । यो सिक्काले कतिपय परम्परा तोडेको थियो । देशमा प्रजातन्त्रको आगमन पछि पनि पुरानै किसिमको सिक्काकै स्वरुपमा छापिएको थियो । चाँदी मिसिएको यि सिक्काको क्रम २०१० मा परिवर्तन भएर तामा र निकेल मिसिएको धातुबाट सिक्का छापिन थालेको थियो । २०१० साल फागुन ७ गतेदेख चलनचल्तीमा आएको यस प्रकारको रु १ र ५० पैसाको सिक्कामा १८० ग्रेन (एक तोला) र ९० ग्रेन (आधा तोला)का थिए ।

जसमा ७५ प्रतिशत तामा र २५ प्रतिशत निकेल मिसाइएको थियो । सिक्काको अग्रभागको घेरामा चौसट्ठी योगिनी स्वरुपको ६४ थोप्ला भने यथावत राखिएको थियो । भने स्वस्तिकको बिचमा शंख, चक्र, गदा, पद्म, चन्द्र, सूर्य तथा त्रिशुल सबै हटाइएको थियो । बिचमा पाँच चुच्चो भएको ताराको बिचमा तेज फैलाउदै राजा त्रिभुवनको शिर अर्थात सिङ्गो राष्ट्रको प्रतिक रुपमा राखिएको थियो । साथै पुरानो परम्परा श्री श्री श्री त्रिभुवन वीर बिक्रम शाह देवको रुपमा राजाको सर्वोपरी जनाउने शब्दलाई छोट्याएर श्री त्रि भु व न मात्र लेखिएको थियो । यसले अब जनताको सरकार भन्ने जनाउन पनि खोजिएको थियो । यस सिक्काको पृष्ठ भागमा श्री श्री श्री गोरख(ष)नाथ पनि लेख्न छोडिएको थियो ।

साथै खड्गमा राखिएको फूलमाला र श्री भवानी पनि लेखिएन । सिक्काको घेरामा चौसट्ठी योगिनी स्वरुपको ६४ थोप्ला भने यथावत राखिएको थियो । त्यस भित्र माथिल्लो अर्ध गोलाकारमा श्री नेपाल सरकार लेखियो भने तल एक चौथाइ गोलाकारको रुपमा पचास पैसा (एक रुपैया) लेखिएको थियो । साथमा बिच भागमा हिमालमा उडाउदो सूर्यको दायाँबायाँ धानको बाला राखिएको थियो । यो प्रजातन्त्र प्राप्ति पछिको नयाँ युगको प्रतिक थियो । साथै कृषीमा प्राथमिकताको प्रतिक पनि थियो । साथै बिच भागमा हिमालको तल मिती २०१० (२०११) लेखिएको थियो ।

२०१० मा शुरु भएको यो नयाँ किसिमको सिक्का २०११ मा राजा त्रिभुवनको स्वर्गारोहण पछि रोकियो । नयाँ राजा महेन्द्रले जनताको सर्वोपरिलाई पूर्णरुपमा स्विकार्न चाहेन । राजा महेन्द्रले उहि पुरानै डिजाइनको सिक्का छाप्न लगाए । धातु भने तामा र निकेल मिसिएको नै थियो । यो डिजाइनका पचास पैसाको सिक्काहरु २०४९ सालसम्म रह्यो । धातुमा भने परिवर्तन आयो । २०४१ सालसम्म तामा र निकेल मिसिएको धातुबाट बनाईएको थियो भने बिचमा दुइ वर्ष नयाँ सिक्का छापिएन २०४४ पछि सोही डिजाइनमा स्टीलका सिक्काहरु छापिए । २०५० मा छापिएन २०५१ सालबाट २०५७ सम्म भने नयाँ डिजाइनका पचास पैसाका सिक्का निष्काशन भए ।

यसै गरि रु एकको सिक्कामा २०३७ देखि २०४४ सम्म नियमित सिक्का निष्काशन भएन । बिचमा २०४१ सालमा राष्ट्रिय जनसंख्या वर्षको सिक्का निष्काशन भएको थियो । २०४५ सालबाट ४९ सम्मा स्टीलको निष्काशन भयो भने २०५१-५२ मा स्टीलमा पितलको जलप लगाएर अग्रभागमा परिवर्त नगरि पृष्ठ भागमा भने बागेश्वरी मन्दिर राखिएको रु १ को सिक्का निष्काशन भएको थियो । तस्विरमा २०१० र २०११ सालमा निष्काशित वास्तविक रुपमा प्रजातन्त्रको अनुभूती दिलाउने नेपाल सरकार तथा राजा प्रति अलंकार नराखि श्री त्रिभुवन मात्र लेखिएको सिक्काहरु । यो पचास पैसाको सिक्का मसंग ३० वटा रहेको छ । साथै राजा त्रिभुवनको शिरअंकित रु १ को सिक्का पनि मसंग २० वटा छ ।

प्रतिक्रिया