एक हजार पाँच सय मिटरमा अस्मितालाई स्वर्ण

नेपालखोज २०८० जेठ ८ गते २१:१८

काठमाडौं । दोस्रो बागमती प्रदेश खेलकुदको एथ्लेटिक्सतर्फ एक हजार पाँच सय मिटर दौडमा सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले स्वर्ण पदक जित्न सफल भएका छन् ।

हेटौँडास्थित पिप्ले क्याम्पा रङ्गशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फ स्वर्ण पदक विजयी बन्न सफल भएका हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समयमा सफल भए भने यही विधामा नुवाकोटका दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कास्य पदक जित्न सफल भए।

यस्तै, महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समयमा सफल भएका थिए भने रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कास्य पदक जित्न सफल भइन्। यस्तै, हाइजम्प खेलमा दोलखाकी रोजिना कार्कीले स्वर्ण पदक प्राप्त गरे भने उनले १ दशमलव ३१ मिटर उचाइमा उफ्रिन सफल भइन्।

यस्तै चितवनकी करुणाबोटले रजत र काभ्रेकी कविता गौतमले कास्य पदक प्राप्त गरिन् । यसै विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण पदक जिते । उनले १ दशमलव ६९ मिटर उचाइ उफ्रिएर स्वर्ण पदक हासिल गर्न सफल भए । उता सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कास्य पदक जित्न सफल भए।

यस्तै, डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१ दशमलव ९८ मिटर पर फ्याँक्दै स्वर्ण जित्न सफल भइन् भने दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कास्य पदक जित्न सफल भइन्।

पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७ दशमलव ७० मिटर पर फ्याँकेर स्वर्ण पदक प्राप्त गर्न सफल भए भने चितवनका ललित राउत रजत र दीपेश महतो कास्य पदक जित्न सफल भए ।

प्रतिक्रिया