आइतबार, वैशाख २३, २०८१

वैदेशिक रोजगारीमा भौँतारिएका युवा अहिले आफैँ रोजगारदाता

नेपालखोज २०८० जेठ १० गते १०:१२

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल वि.सं २०६९ देखि ५ वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल आए ।

विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उनको सोच थियो । सोचअनुरूप उनले स्वदेश फर्किएपछि केही गरौं भनेर साथीहरूसँग सल्लाह गरे ।

यस्तै, शुक्लागण्डकी नगरपालिका–८ का रूपबहादुर गोतामे पनि १ वर्ष कतार र ८ वर्ष दुबईमा काम गरे । उनी पनि पाँच वर्ष अगाडि नेपाल आए। नेपालमै केही गरौं भन्ने भावना थियो दुवैमा । पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग पनि सरसल्लाह भयो ।

शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका अन्य पाँच युवा र स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभस्टक एग्रो प्रालि सञ्चालन गरे । कुल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ । पहिले रोजगारी खोज्दै भौतारिएका युवा अहिले आफ्नै गाउँठाउँमा पशुपालन व्यवसाय गरी अन्यलाई रोजागरी दिनसक्ने अवस्थामा पगेका छन् ।

पौडेल र गोतामेसहित विदेशबाट फर्किएका शुक्लागण्डकी–११ का सुमन गौतम, दिपक सिग्देल र दिपेन्द्र पौडेलको पनि फार्ममा लगानी छ । अन्य ८ जना भने विभिन्न क्षेत्रका व्यक्ति यसमा आबद्ध छन् । उक्त एग्रो प्रालिमा हाल १५० गाईभैँसी छन् । त्यसमध्ये ३० गाई छन् भने बाँकी भैँसी रहेको एग्रो प्रालिका व्यवस्थापक समेत रहनु भएका विशालले बताए ।

‘उत्पादनमूलक व्यवसाय गर्नुपर्यो भनेर साथीहरूसँग सल्लाह भयो र ५ वर्षदेखि एग्रो प्रालि सञ्चालन भइरहेको छ । ५ जना विदेशबाट फर्किएका युवाहरू छौँ । राम्रोसँग गरे पक्कै पनि सफल भइन्छ भन्ने उद्देश्य राखेर फार्म सञ्चालन गरिएको हो,’ उनले भने, ‘पहिला हामी आफै रोजगारी खोज्दै खाडी मुलुकमा भौतारिएका थियौँ ।

अहिले यहाँ ५० भैँसी र ३० गाई दुधालु छन् । पशुको रेखदेख तथा उत्पादित दुधको बजारीकरणलगायतका काम गर्न अन्य १७ जनालाई रोजागरी समेत दिएका छौं ।’

फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको पौडेलले सुनाए । व्यवसायमा कठिनाइ र संघर्ष रहेको भन्दै पौडेलले भने, ‘पहिला अर्काको देशमा गएर रोजगारी गर्नुभन्दा अहिले अरुलाई रोजगारी दिन पाउँदा सन्तुष्ट छौं ।’

तर, सरकारी निकायबाट कृषि र पशुपालनका लागि साथ सहयोग नपाउँदा दुःख लाग्ने गरेको उनको गुनासो छ। दाना, चोकर, औषधि उपचारमा सरकारी पक्षको सहयोग हुनुपर्ने उनको माग छ ।

‘सरकारी पक्षबाट पशुपालन व्यवसायमा सहयोग छैन । गाईभैंसी बिरामी पर्दा पालिकाबाट प्राविधिक आउँदैनन्, बाहिरबाट मगाउनुपर्छ । यति ठूलो फार्म सञ्चालन गरेपछि सरकारी पक्षबाट पनि हेरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने ।

कुल लगानी १५ करोड रुपैयाँ पुगेको र फार्म सञ्चालनका लागि बैंकबाट १० करोड रुपैयाँ ऋण लिइएको प्रा.लिका अध्यक्ष मुक्ति सिग्देलले बताए । प्रा.लिले १२० रोपनी जग्गा खरिद गरेको छ । त्यसमध्ये पशुपालनमा ५० रोपनी जग्गा प्रयोग भएको छ ।

गोबर र पिसाब व्यवस्थापन सहितको कामका लागि प्रालिलाई नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइमार्फत १ करोड ७६ लाख अनुदान प्राप्तिका लागि सम्झौता गरेको छ । त्यसमध्ये पचास प्रतिशत लागत साझेदारी प्रालिले बेहोर्नुपर्नेछ ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीका हरि खड्का पनि वैदेशिक रोजगारीबाट फर्किएर युनिक बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेका छन् ।

२०७४ सालदेखि सञ्चालित फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैंसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कृषक खड्का अगाडि बढेका छन् ।

नेपालमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उनले करोडौंको लगानीमा उक्त फार्म सञ्चालन गरेका हुन् । पाडापाडीसमेत गरी एक सय भैंसी रहेको सो फार्मबाट दैनिक ३५० लिटर दूध उत्पादन हुने गरेको र उत्पादित दूध खैरेनीटार तथा दुलेगौँडामा रहेको बिक्री केन्द्रमार्फत बिक्री भइरहेको छ ।

‘खैरेनीटार र दुलेगौडा बजारमा एक-एक वटा बिक्री केन्द्र राखेर दूध बिक्री भइरहेको छ, दूध बिक्रीका लागि बजारको समस्या छैन,’ कृषक खड्काले भने, ‘माग बढी भएकाले दूध उत्पादन वृद्धि गर्नुपर्ने भएको छ ।’

उनको फार्ममा अहिले ११ करोड रुपैयाँ बराबरको लगानी पुगेको छ । फार्ममा १० जना आवासीय कर्मचारी छन् । घाँस काट्नका लागि आवश्यकता अनुसार थप जनशक्ति राख्ने गरिएको छ ।

१२ वर्ष नेपाली सेनामा बिताउनुभएका खड्काले १२ वर्ष आबुधाबी प्रहरीमा काम गर्नाका साथै स्वदेश फर्किएर युनिक डिपार्टमेन्टल स्टोर्सबाट व्यावसायिक यात्रा सुरुआत गरेका थिए ।

स्वदेशमै परिवारसँग बसेर कृषि पेसा अँगाल्न सके राम्रो आम्दानी छ, विदेश जाँदा खर्चिने रकम कृषि र पशुपालनमा लगानी गर्ने हो भने त्यहाँ कमाउने जति रकम परिवारसँगै रमाएर यहीँ कमाउन सकिने उनले बताए ।

‘जबसम्म कृषि काम गर्नेलाई सम्मान गर्न सकिँदैन तबसम्म अन्य कुरा गर्न सक्दैनौं। तीन तहको सरकारले कृषिलाई बढी प्राथमिकता दिनुपर्छ,’ कृषक खड्काले भन्नुभयो, ‘राज्यले गरेको लगानी उत्पादनसँग जोड्न सक्नुपर्छ।’

व्यावसायिक रूपमा कृषि गरेकालाई राज्यले सहयोग नगरेको उनको गुनासो थियो । निर्वाहमुखी कृषि गरेकालाई बढी प्राथमिकता दिने गरिएको गुनासो गर्दै उनले भने, ‘झोलामा कृषि गरेकाले अनुदान पाएका होलान्, तर व्यावसायिक रूपमा गर्नेलाई कम प्राथमिकता छ ।’

फार्मले प्राङ्गारिक तरकारी उत्पादन गर्ने अवधारणा बनाएको र कृषि पर्यटनलाई जोड दिएको छ। कृषि र पशुपालनलाई पर्यटनसँग जोडेर घरबास सञ्चालन गर्ने योजना बनाइएको छ । त्यसका लागि फार्म परिसरमा घुमाउने घर बनाइएको छ ।

लोप हुने अवस्थाका घुमाउने घरलाई संरक्षण गरिएको उनले बताए । ‘लोप हुने अवस्थामा पुगेका पुराना कृषि सामग्रीलाई संग्रहालयको रूपमा घुमाउने घरमा राख्ने तयारी छ ।

यसका लागि ढिकी, जाँतो, कुटो, कोदालो, हँसिया लगायत सामग्री संकलन भइरहेको छ,’ खड्काले भने, ‘होम स्टेमा बास बस्न आउने पर्यटकलाई आफ्नै फार्ममा उत्पादन भएको प्राङ्गारिक परिकारका स्वाद चखाउँछौं ।’

प्रतिक्रिया