बुधबार, वैशाख २६, २०८१

काभा पुरुष भलिबल नेसन्स लिगलाई नेपालकाे टाेली घाेषणा

नेपालखोज २०८० जेठ २० गते १०:४८

काठमाडौं । किर्गिस्तानको विस्केकमा जुन तेस्रो सातादेखि आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई कटौती गर्दै १२ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रशिक्षक जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवसँगै लोेकेश बुढा रहेको प्रशिक्षण टोलीले १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

टोलीको ओपन स्पाइकरमा मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रोविन चन्द छन् । अपोजिट हिटरमा धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल छन् ।

मिडल ब्लकरमा दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विकले टोलीमा स्थान बनउा सफल भए । सेटरमा हरि हजुर थापा र लोकेन्द्र राज गिरी छनोट हुँदा लिवेरोमा भीम बहादुर गाहा छन् ।

सेटर लोकेन्द्र र हिटर रोविन चन्दले लामो समयपछि टोलीमा पूनरागमन गर्दा सफल विक, हेमन्त बहादुर मल्ल र लिवेरो भीम बहादुर गाहाले पहिलो पटक टोलीमा स्थान बनाउन सफल भए ।

बिशाल विक, रवि केसी, धिरोज काजी बस्नेत, सम्राट भण्डारी, मनिष मानन्धर र विनोद चन्दले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बैशाख तेस्रो साता तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको थियो । छनोट लगत्तै टोलीलाई बन्द प्रशिक्षणमा राखिएको थियो ।

छनोटमा राष्ट्रिय टोलीका कप्तान तथा सेटर इम बहादुर रानासँगै यसअघि टोलीका सदस्य रहिसकेका लिवेरो ईश्वर थापा मगर सहभागी थिएनन् ।

नेपाली पुरुष भलिबल टोलीले यसवर्ष १९औं एसियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने तय छ । एसियन गेम्स चीनको हाङझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ ।

काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने भएको छ । काभामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान रहेका छन् ।

अन्तिम टोली
हरि हजुर थापा, लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा

प्रतिक्रिया