पाल्पाका वन डढेलोको जोखिममा

पाल्पा । डढेलोका कारण वनका उपभोक्ताले सास्ती खेप्नु परेको छ । वन पैदावार जलेर नष्ट हँुदा घाँसदाउरा गर्न समस्या भएको छ । खडेरीयाम रहेकाले वनमा सल्केको आगोले स्थानीयलाई त्रसित समेत बनाइरहेको छ । यस वर्ष मात्रै पाल्पा जिल्लाका एक हजार ६ सय ८५ हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको छ ।
सामुदायिक वन ८३, निजी वन तीन र एक धार्मिक वनमा डढेलो लागेको जिल्ला वन कार्यालय पाल्पाका डढेलो फोकल पर्सन उपेन्द्र अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार रामपुर नगरपालिकामा ३७, तानसेन नगरपालिकामा १५ पटक डढेलो लागेको छ भने गाउँपालिकातर्फ रिब्दिकोट ५८, रैनादेवीछहरा ७५, रम्भा आठ, पूर्वखोला ७६, तिनाउँ एक सय एक, निस्दी ५३, बगनासकाली तीन, माथागढीमा ९३ पटक डढेलो लागेको छ । रामपुर नगरपालिकाभित्रका ६० प्रतिशत बढी सामुदायिक वनमा डढेलो लागेको छ ।
गत चैत १५ देखि हालसम्म लागेको वन डढेलोले नगरभित्रका ३८ वटा वन क्षेत्र प्रभावित बनाएको छ । नगरमा रहेका सबैजसो वन डढेलोको जोखिममा रहेको रामपुर सबडिभिजन वन कार्यालयका प्रमुख सुजनराज भण्डारीले जानकारी दिए । रामपुर नगरपालिकाभित्र वडा नं १ स्थित नाम्लेसाल र लुचनडाँडा सामुदायिक वन, २ स्थित सेराबास सामुदायिक वन, ३ स्थित लामटाङ सामुदायिक वन र ठूलोवन सामुदायिक वन, ४ स्थित गाबुडाँडा सामुदायिक वन र देउराली सामुदायिक वन, वडा नं ७ स्थित ठाँडी उकाली सूर्यवास सामुदायिक वन, रानीवन तथा वडमान सामुदायिक वन र गोर्खे आरुखरक सामुदायिक र वडा नं १० स्थित गेब्दीखोला सामुदायिक वन क्षेत्रका विभिन्न भूभाग यस वर्ष डढेलोबाट धेरै प्रभावित बनेका छन् ।
वन कार्यालय रामपुरले डढेलो नियन्त्रणका लागि गोष्ठी, सञ्चारमाध्यमबाट सूचना, विद्यालयमा पुगेर डढेलो रोकथामसम्बन्धी सचेतनासम्बन्धी कार्यक्रम गर्दै आएको छ । डढेलोका कारण खरबारी तथा बारीमा लगाइएका घाँसपात, पिँडालुलगायत वस्तु डढेर नष्ट भएको ठाडी उकाली सूर्यवास सामुदायिक वन समूहका अध्यक्ष कर्णबहादुर लुइँटेलको भनाइ छ । अध्यक्ष लुइँटेलका अनुसार वन क्षेत्रको ब्लक ३ र ४ पूरै जलेको छ भने ब्लक नं ५ को केही भाग जलेको छ । करिब ९९ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा एक सय १६ घरपरिवारका उपभोक्ता आबद्ध छन् । नगरभित्रको ७२ सामुदायिक वनमध्ये ३८ सामुदायिक वनमा डढेलो लागेको छ ।
जसमा १४ सामुदायिक वनमा आंशिक र २४ सामुदायिक वन पूर्णरुपमा आगलागी भएको छ । बर्सातपछि आगलागीको घटना कम भए पनि जोखिम अझै कायम रहेकाले सावधानी अपनाउन वन कार्यालयले अनुरोध गरेको छ । रामपुर नगरभित्रका सामुदायिक वनमध्ये कालीगण्डकी किनार क्षेत्रका वन डढेलोबाट जोगिए पनि माथिल्लो भागका अधिकांश जङ्गलमा डढेलोले वन प्रभावित बनाएको छ । वनमा लागेको आगो बस्तीमा सल्किएर गत वैशाख २६ मा रामपुर नगरपालिका–९ स्थित मधुकोटमा चार घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
रामपुरभित्र ७२ सामुदायिक वन तीन हजार तीन सय ४७ हेक्टरमा फैलिएको छ । केही सामुदायिक वनमा उपभोक्ताहरु आगो निभाउन निकै सक्रिय भए पनि कतिपय स्थानमा भने उपभोक्ताहरु उपस्थित कम हुनाका साथै भिरालो जमिनमा लागेको आगो नियन्त्रणमा समस्या हुँदा वन जोगाउन समस्या भएको छ । जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, वनका कर्मचारी र उपभोक्ताहरु खटिए पनि भिरालो जमिनमा आगो लाग्नाका साथै सो समयमा हावा चल्दा समस्या हुने गरेको छ । अधिकांश स्थानमा बस्ती बचाउन ब्याक फायर विधि प्रयोग गरिएको छ ।

प्रतिक्रिया