नेपालले ओमानसँग खेल्दै

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अन्तिम वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
नेपाल यसअघिका तीन अभ्यास खेलमा लगातार पराजित भएको छ । नेपाल विश्वकप छनोटअघि अन्तिम खेलमा जितको खोजीमा हुनेछ । नेपाल युएईसँग पहिलो वार्मअप खेलमा तीन विकेटले पराजित भएको थियो ।
त्यसअघि दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुन पुगेको थियो । युएईविरुद्ध नेपालले २ सय ७५ रन बनाएपनि पराजित हुन पुगेको थियो ।
नेपालले तीनै खेलमा स्पिनर सन्दीप लामिछानेलाई मैदान उतारेको छैन । नेपालले आज मैदान उतार्न सक्छ । आज पनि मैदान नउतारेले सिधैं विश्वकप छनोटमा प्रयोग गर्ने रणनीति हुनसक्छ ।
यो अभ्यास खेल हुँदा नेपालले आफ्ना सबै खेलाडीलाई ब्याटिङ र बलिङमा राम्रोसँग प्रयोग गर्नसक्छ । पछिल्लो खेलमा नेपालका ओपनर आसिफ शेखले ७६ र कुशल भुर्तेलले ३९ रन बनाएका थिए ।
नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र अर्जुन साउदलाई मौका दिनसक्छ । कप्तान रोहित पौडेलले अभ्यास खेलमा राम्रो गर्न सकेका छैनन् । रोहितलाई लय समाउने यो राम्रो अवसर बन्नसक्छ ।
दीपेन्द्रसिंह ऐरीबाट नेपाल लगातार ठूलो इनिङको अपेक्षा गर्दै आएको छ । तर प्रदर्शन भने हुन सकेको छैन । भीम सार्की, आरिफ शेख र कुशल मल्ल नेपालका मध्यक्रमका ब्याटर हुन् ।
सोमपाल कामी, करण केसी र गुलशन नेपालका तीव्र गतिका बलर हुन् । अभ्यास खेल हुँदा प्रतिश जि।सी र किशोर महतोलाई पनि मौका दिनसक्छ ।
नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपमा ओमानविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । जुन नेपालले ओडिआईमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।
उक्त खेलमा नेपालका कुशल मल्लले ५९ बलमै शतक हानेका थिए । करण केसी र सन्दीपले समान तीन विकेट लिएका थिए । ओमानका मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाएका थिए ।
उता वार्मअप खेलमा ओमान जिम्बावेसँग २८ रनले पराजित भएको थियो । ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ३ सय ३९ रनमा अल आउट भएको थियो ।
उक्त खेलमा ओमानका अकिब इलियासले १ सय १५ र आयन खानले ९१ रन बनाएका थिए । अकिब नेपाललाई घातक बन्नसक्छन् । बिलाल खान ओमानका प्रमुख हतियार हुन् ।
नेपाल र ओमान विश्वकप छनोटमा भने फरक समूहमा छन् । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।
नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
ओमानको टोली :
जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जतिन्दरसिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, सन्दीप गौड, आयन खान, सुरज कुमार, अदिल शफिक, नसिम खुशी, बिलाल खान, कलिमुल्लाह, फयाज बट, जय ओडेरा, स्यामी श्रीभात्सव र रफिउल्लाह ।

प्रतिक्रिया