कर्णालीमा घरका मूल ढोका र मन्दिरमा किन भेडाका आकृति कुँदिन्छ ?

कर्णाली । कर्णालीका मस्टो (कर्णाली भेगका परम्परागत कुलदेवता)को थान अथवा मन्दिर मात्र नभई घरका मूल ढोकामा भेडाको आकृति कुँद्ने परम्परा सयौँ वर्षदेखि रहँदै आएको जानकारहरूले बताएका छन् ।
कर्णालीको भूबनोटअनुसार यस्तो आकृति कुँदिने परम्पराको विशिष्ट मौलिक, संस्कृति र भौगोलिक महत्त्व रहेको जानकारहरूले बताएका छन् ।
गाउँघरमा हुन सक्ने प्राकृतिक प्रकोपले असर नगरून् भन्ने मान्यताअनुसार यस्तो गरिँदै आएको संस्कृतिका जानकार तथा पूर्वशिक्षक रमानन्द आचार्य बताउँछन् ।
‘देवताको शरणमा जाँदा मनलाई आतङ्कित पार्ने तनावको स्थिति नहोस् अनि भूकम्प, चट्याङ, आगलागी, बाढीपहिरो र महामारीजस्ता प्रकोपले असर नपारून् तथा अन्य पशुपक्षीको संरक्षण होस् भनेर यस्तो आकृति कुँद्ने गरेको पाइन्छ,’ आचार्यले बताए ।
ऐतिहासिक महत्त्व
१२ औँ शताब्दीमा खस साम्राज्य रहँदादेखि नै मस्टो देवताको थानमा यस्ता आकृति कुँद्ने गरिएको इतिहास रहेको आचार्य बताउँछन्।
कर्णाली भेगका परम्परागत कुलदेवता मस्टोका बाह्र भाइ रहेको बताइन्छ।
कर्णाली तथा खस क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरूले बाबिरा, सुनरगाउँ, थार्पा, गुरो, उखाडी, बुढा, लाखुडालगायत १२ भाइ मस्टो मान्न सुरु गरेदेखि नै यस्ता आकृति कुँदिएको उनले बताए।
‘लिखित रूपमा यसको आधिकारिक दस्तावेज नभए पनि बुढापाकाहरूको भनाइअनुसार यसको महत्त्व खस साम्राज्य कालदेखि नै रहेको पाइन्छ’,उनले भने ।
भेडा शुभ जनावर भएको र साँढ जातको भेडालाई मेषवाहनी भगवतीको वाहनका रूपमा लिइने भएकाले पनि यसको आकृति कुँदिएको उनले बताए ।
सामाजिक तथा सांस्कृतिक महत्त्व
कर्णाली क्षेत्रका किसानहरू पशुपालन पेसामा बढी संलग्न हुने भएकाले यसको सामाजिक महत्त्व छुट्टै रहेको पाइन्छ।
हिमाली क्षेत्रको अन्य पशुका तुलनामा भेडा सुन्दर र सद्गुणी मानिने भएकाले देवताका मन्दिरमा यसका आकृति कुँद्ने गरिएको बुढापाकाहरू बताउँछन् ।
सोही कारण आवश्यकताअनुसार मानिसहरूले भेडाको बलिसमेत दिने गरेको आचार्य बताउँछन् । देवताको मन्दिरमा मात्रै नभई घरमा पनि मानिसहरूले आफ्नै आस्थाका कारण राख्ने गरेको पाइन्छ।
घरपरिवारमा शुभ तथा कल्याण होस् भनेर आफूहरूले घरको मूल ढोकामा यस्ता चित्र कोर्ने गरेको जुम्लाको तिला गाउँपालिका ४ नुवाकोटकी ७० वर्षीय बिजुली उपाध्यायले बताइन्।
‘भेडालाई भगवतीको वाहनको रूपमा लिने मान्यताले घरमा पनि यस्तो आकृति राखेका हौँ,’ उनले भनिन्।
यी काठका आकृतिहरू सिकर्मीहरूले नै बढी बनाउने गरेका छन् ।
परम्परा हराउँदै
पहिला घर बनाउँदा मूल ढोकामा वा घरको धुरीमा अनिवार्य रूपमा भेडाको सिङको आकृति बनाउने गरिए पनि नयाँ घरहरूमा भने त्यस्तो बनाएको पाइँदैन ।
बुढापाकाका अनुसार साँढलाई देवताले मन पराउने र त्यसले संरक्षण पनि गर्ने मान्यताका कारण घरमा त्यस्तो बनाउने गरिन्थ्यो।
जुम्लाको चन्दननाथ नगरपालिका ५ का पूर्णसिंह कठायत यस्ता आकृति कुँद्ने काम वंश अथवा कुल परम्पराको रूपमा चल्दै आएको बताउँछन् ।
‘अहिले मानिसहरूले महँगो हुन्छ अथवा घरको नयाँ डिजाइनमा सुहाउँदैन भनेर पनि बनाउन छोडेका छन्,’ उनले भने।
तर केहीले भने आफूले घर बनाउँदा राख्ने गरेको अहिले पनि देख्न सकिन्छ ।
कसले बनाउँछन् यस्ता आकृति ?
पहिला मन्दिरहरूमा राखिएका भेडाका आकृति देखेर आफूहरूले त्यस्तै बनाउन सिकेको जुम्लाको तिला गाउँपालिका ४ नुवाकोटका दले सार्कीले बताए।
अहिले भने मन्दिरमा भेडाबाहेक अन्य देवीदेवताको आकृतिसमेत कुँद्ने गरिएको उनी बताउँछन्।
‘भेडाको सिङको महत्त्वका विषयमा जानकारी नभए पनि पहिलाका मानिसले बनाएको सीपलाई जोगाई राख्नका लागि हामीले बनाउने गरेका छौँ,’ उनले भने।
पहिला घरमै उपलब्ध औजारहरूबाट बनाइने भए पनि अहिले भने भेडाको आकृति बनाउन मेसिनको प्रयोग गरिने र त्यसले आफ्नो काम सहज बनाएको उनी बताउँछन्।
मूर्ति तथा अन्य काष्ठकलाका सामाग्री बनाउनको लागि कडा खालको पुरानो काठ बढी प्रयोग हुने उनी बताउँछन्।
‘यस्ता कला आस्थाको आधारमा आफ्नो इच्छाअनुसार निःशुल्क बनाउने गर्छौँ। देवताप्रति आफ्नो कर्तव्य ठानेर आत्मसन्तुष्टिको लागि पनि बनाउँदै आएका छौँ,’ उनले भने।
प्रतिक्रिया