बुधबार, वैशाख २६, २०८१

‘नेपाली हाम्रो जात’ सार्वजनिक

नेपालखोज २०८० असार २ गते १०:१६

काठमाडौं । गीतसङ्गीतलाई मनोरञ्जनको रुपमा लिने गरिन्छ । लोकप्रिय हुनकै लागि समेत सङ्गीत सिर्जना गर्नेको भीडमा डिआर सुजन आफ्ना सिर्जनामार्फत सामाजिक कथालाई व्यक्त गर्ने गरेका छन् । ती मनोरञ्जनमै सिमित छैनन् ।

सन्देशमूलक गीतसङ्गीतमार्फत आफ्नो छुटै पहिचान स्थापित भएका स्रष्टा सुजनले साङ्गीतिक चलचित्र ‘नेपाली हाम्रो जात’ सार्वजनिक गरेका छन् । उनले आफ्ना अघिल्ला गीतझैँ मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरिएको जानकारी दिए ।

‘हामी सर्जक भएका हाम्रो दायित्व भनेकै गीतसङ्गीतमार्फत चेतना वृद्धि गर्नु हो । त्यहीँ कारणले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन्’, निर्देशक सुजनले भने, ‘मैले जातीयभन्दा पनि वर्गीय विभेदको बारेमा कथा बुनेको छु । हामी कलाकारको दायित्व नै गीतसङ्गीतमार्फत सन्देश दिनु हो ।’ उहाँले गीतसङ्गीत तयार गर्दा नै कथा बुनिएकाले साङ्गीतिक चलचित्र बन्न पुगेको बताए ।

सत्र मिनेट लम्बाइ रहेको श्रव्यदृश्यमा सामाजिक विभेदलाई चित्रण गरिएको छ । ‘सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको पाएको छु, त्यसैले भिडियोमा समेटेको हुँ । किनकि हामी जुनसुकै जात भए पनि नेपाली हौँ’, उनले भने ।

गीतमा शब्द, सङ्गीत, परिकल्पना, कथा र निर्देशन सुजनले नै गरेका छन् । गीतमा उनलाई हेमन्त कान्छा रसाइली, राजु परियार र धर्म गन्धर्वले गायनमा साथ दिएका छन् ।

श्रव्यदृश्यमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, ताराबहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, ईश्वरी बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

साङ्गीतिक चलचित्रमा मुकेश नेपालीले नृत्य निर्देशन, किरण चैसिरले छायाङ्कन, मिलन विश्वकर्माले सम्पादन र रङ्ग संयोजन, रोनिशा अधिकारीले शृङ्गार गरेका छन् ।

प्रतिक्रिया