आइतबार, वैशाख २३, २०८१

दत्त सिंह कार्कीको नजरमा टिम्बुरबोटेका सहिद अम्बर बहादुर खड्का

बाबुराम आचार्य २०८० असार ३ गते ९:५६

सोलुखुम्बुको तिङला स्थायी ठेगाना भएका दत्त सिंह कार्की नेपाली काँग्रेसमा पुराना नेता हुनुहुन्छ । कार्की काँग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिको जीवित योद्धा हुन् । उहाँसँगै क्रान्तिमा होमिएका धेरै साथीहरू सहिद भए । उहाँ सहिद भए मध्येका एक अम्बर बहादुर खड्कालाई यसरी सम्झनुहुन्छ । उहाँसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको एक लेख ।

नेपालको प्रजातन्त्र पुर्नवहालीका लागि नेपाली काँग्रेसले देशव्यापी आन्दोलन सुरु गरिसकेको थियो । म त्यो समयमा काठमाडौंमा थिए । गोपाल राई र प्रेमध्वज राई मेरा सहपाठीहरू थिए । आन्दोलनको व्यापक तयारी भएको थियो । गोपाल राई इन्डियामा जानुभएको थियो । उहाँले बि.पी.को सल्लाह बमोजिम काठमाडौं रहेका चिनजान भएका क्रियाशील युवाहरूलाई सम्पर्क गरी इन्डिया झिकाउने तयारी गर्नु भएको रहेछ । गोपाल जीले मलाई इन्डिया आउनु¥यो भन्ने खबर गर्नुभएको रहेछ, मैले त्यो खबर पाएपछि म पनि प्रजातान्त्रिक आन्दोलनमा होमिने निर्णय गरी भारतको पटना गए । पहिलो पटक म फारवेसगञ्च सम्म पुगेँ । त्यहाँ पुगेर साथीहरूसँग भेटघाट गरी फर्किए । दोस्रो पटक फेरी पटना गए र गोपाल राई सँग भेटघाट गरे । उहाँको भेटपछि गिरिजा प्रसाद कोइराला सँग भेट गर्ने निधो भयो । गिरिजा भेट्न म २२ दिनसम्म पटना बसेको थिए ।

मलाई महेश कर्मचाको साथ लगाएर वि.पी.लाई भेट्न बनारस पठाए । महेश सँग बनारसमा वि.पी.लाई भेटे । हामी वि.पी.बसेको कोठाको के ढोकामा पुगेका थियौँ । उहाँ जुरुक्क उठेर आउनुभयो । महेशलाई देख्नासाथ मलाई पनि अङ्कमाल गर्नुभयो । भित्र बसेर मलाई परिचय भन त भन्नुभयो, मैले दत्त सिंह कार्की सोलुखुम्बु भने । तिमि यहाँ पहिलो पटक आएका कि दोस्रो पटक आएका भन्नुभयो । म पहिलो पटक आएको हुँ भने । त्यसो हो भने मलाई भेट्न आइरहनु पदैन, म अहिले बाह्य नीति हेर्छु । तिमिले गिरिजालाई भेटेर त्यही अनुरूप काम गर्नु भन्नुभयो । मैले हुन्छ भनेर छुटे ।  अब त्यहाँ म केही दिन बस्नुपर्ने भयो । लोक बहादुर कार्की कि भाउजूले त्यहाँ एउटा होटेल चलाउनुभएको रहेछ । त्यहाँ वि.पी.ले कुपन लिएर खाना खाने, सुत्ने गर्नुपर्ने रहेछ, मैले पनि त्यही अनुरूप गरे ।

बनारसबाट फर्केर आएपछि पूर्णिमा स्टेसनमा गिरिजासँग भेट्ने प्रबन्ध मिलाएका रहेछन् गोपालले । त्यो स्टेसनमा ब्लु स्टार भन्ने तिनतारे होटेल रहेछ । त्यहाँ गोपाल जी र म पु¥यौँ । त्यस पछि गिरिजा बाबु आउनुभयो र म अलि फ्रेस भएर आउँछु बस्दै गर्नु भन्नुभयो । फ्रेस भएर आएपछि हामीले चिया खाँदै गर्दा उहाँले के भन्नुभयो भने, हेर हामी नेपाल भित्र सशस्त्र क्रान्ति गछौं । सबै तयारी भएको छ, निकट भविष्यमा गर्छौ । तिमिले एउटा सहयोग गर्नु¥यो भन्नुभयो ।

हामी सशस्त्र क्रान्ति गर्छौ । एक महिनामा हाँसी हाँसी सहिद बन्नुपरे पनि तयार हुने मान्छे पठाउनु¥यो, भन्नुभयो । तिमिले कति जना मान्छे पठाउन सक्छौँ ? भन्नुभयो । मैले १० जना मान्छे भने तर उहाँले फिस्स जस्तो मान्नुभयो । किनभने त्यति बेला हाम्रो एक बहादुर गुरुङले पाँच सय पूर्व सैनिक म सँग छन्, हतियार पाए म जम्मै तिन नं. (सोलु, ओखलढुङ्गा, खोटाङ) कब्जा गर्छु भनेका रहेछन् । मैले १० जना भन्दा  उहाँले अल्लि हल्का मान्नु स्वाभाविकै थियो । तर मैले जे यथार्थ हो त्यही भने । फेरी उहाँले ठिक छ,  १० जनामा कति जना पूर्व सैनिक, कति जना राजनैतिक कार्यकर्ता पठाउँछौँ भन्दा मैले ५/५ जना भने । त्यस पछि उहाँले हामी क्रान्तिमा छौंं । हाम्रो भेट हुन्छ कि हुँदैन भनेर मलाई १२०० भारु झिकेर बाटो खर्च लैजाऊ भनेर दिनुभयो । यताबाट हामी खबर पठाउँछौँ । खबर पाएपछि तालिम गर्न मान्छे पठाउनु भन्नुभयो । 

त्यसपछि म फरबेसगञ्ज क्याम्प हुँदै हिँडे । त्यहाँ मेरो नौलो घटना छ । गिरिजा बाबु भेटेर १२०० भारु बोकेर आएको छु । फारबेसगञ्ज आउनु अगाडि कुन ठाउँतिर हो, त्यहाँ ट्राफिक चेकिङ रहेछ पुलिसले गाडी रोक्न लगायो र ड्राइभर सँग कागजपत्र चेक गर्न थाल्यो । मलाई नि देखेर चिने गाडी रोक्यो भने सातो पुत्लो उड्यो । ला… अब पक्रेर लाने भो मार्छ पनि होला भन्ने तर सामान्य चेकजाँच रहेछ ।  एक छिनमा छोड्यो । म ढुक्कले अगाडि आए । सुनसरी बसेर केही दिनमा घर आए र त्यसपछि तालिममा पठाउने मान्छेहरूको खोजीमा लागे १० जना मान्छे निकाल्न धेरै गाह्रो भयो मलाई ।

मैले एउटा शमसेर बहादुर कार्की मेरै घर तिर बसेर हुर्केको थियो, उनको बुबाको मृत्यु भएको थियो भने उसको आमा उनको बुबाको मृत्यु भइसकेपछि पोइला गएकी थिइन । उनीसँग गएपछि प्रहरीमा जागिर .खाइछिन् र पुलिसमा हवलदार भएका रहेछन् तर दैव संयोग कमान्डरले पिटेर जागिरबाट निष्कासनमा परेका रहेछन् र गाउँमा गएर बसेका रहेछन्, त्यो पत्ता लगाएपछि गिरिजाबाबुले भने जति मिल्दो एक त शमसेर बहादुर हो भन्ने लागेर ऊ सँग सम्पर्क गरे र अरू नै खोज्न मैले सहयोग मागे । केशर थुलुङ, तीर्थ थुलुङ, भगिवन्त राई, भीम बहादुर, अम्बर बहादुर र हुत्तराज बस्नेत सहित हामी ११ जना तयार भयौँ । उता, भारतबाट मलाई इसारा आयो, इसारा आएपछि हामी जानुपर्छ भनेर सबैलाई कन्भिन्स गरेर हामी सबै जान तयार भयौँ ।

यस क्रममा अम्बर बहादुर खड्का विष्णुदल गुल्म ओखलढुङ्गामा कार्यरत रहेछन् । उनी अहेव जस्तै तालिम लिएका स्वास्थ्य डिपार्ट भित्र काम गर्दथे । त्यहीँका स्थानीय भएर राम्रो थियो । सबसँग हाईहलो गर्दथे ।  उनीहरू पहिला त्यहीँ लाममानका हुन् । उनका बुबाले आफू बसेको सबै घरबारी दान गरेर सङ्घारमा बत्ती बालेर च्याङसर गएका मान्छे हुन् । अनि उनी त तिङ्लामा पुरै गनिएका राम्रो मान्छे थिए । अम्बर बहादुर जागिरमा रहँदा के कुरामा खटपट भएछ । उनलाई त एक्सन लिएर तीन महिना थुनेछ, अनि जागिरमा खटपट भएपछि जागिर नखाने भनेर छोडेर घर आएर बसेका रहेछन् । 

उनी जागिर छोड्ने बेलामा नायक भएका रहेछन् । शमसेर बहादुरलाई यो कुरा थाहा भएछ अनि भेटेर हाम्रो आन्दोलनको बारेमा सबै कुरा बताएछन् । अम्बर बहादुर त उत्साहित भएर मलाई भेट्न आए । मैले सबै कुरा उनलाई बताए । उनी प्रजातन्त्रका लागि जो सँग पनि लड्न तयार छु भनेर कम्मर कसिहाले । त्यसपछि सबै उनैबाट भारत जाने तयारी ग¥यो, म सहित ११ जना भएर । सबै जना सँगै जान तयार भएका थियौँ । हुत्तराज जीले यी सँगै जानुहुदैन्, हामी काठमाडौं हुँदै जाउँ, अरूलाई यतैबाट पठाऔँ भन्नुभयो । अरूलाई उतैबाट पठाएर हामी काठमाडौं आयौँ । त्यो बेला म व्यापक क्रान्तिमा होमिएको छु भन्ने हल्ला चलेको रहेछ । त्यसपछि हामी विश्व विद्यालयमा तीर्थ थापा भेट्न गयौँ । मेरो उनी साथी र क्रान्ति विज्ञ पनि थिए ।

उहाँसँग व्यापक छलफल र जानकारी लिइयो र बेलुका कोठामा गएर बस्यौँ । भाउजूलाई हामी क्रान्ति गर्न बनारस हिँडेका भनेर फुर्ती लगायौँ । यो कुरा भाउजूले दाईलाई भन्नुभएछ । बाबुकाजी मेरो दाई हुन्, यो कुरा दाईले थाहा पाएपछि हामीलाई कुनै हालतमा जान दिनु भएन । हतियार चलाउन पनि नजानेकाले अकालमै मर्ने भए भनेर रातभर सम्झाउनुभयो । हुत्तराज कन्भेन्सन भइहाले, उनी नजाने भएपछि मलाई एक्लै आँट आएन । हुत्तराज घर फर्किए ।  म पनि जान्छु भनेको तँ वारेन्टमा छस् न जा, पुलिसले गाउँमै पक्रिन्छ भनेर आउन दिनुभएन ।  केही दिनपछि जबरजस्ती म घर आए । तर उता भारतमा पठाएका अधिराज्य भरका मान्छेहरू धेरै पुगेनछन् । यता सोलुबाट पठाएका सबै मान्छे पुगेछन् । धेरैले पैसाका लागि फुर्ती गरे तर मान्छे पठाएन । 

पार्टीलाई धोका दिए । उनीहरूले केही दिन हतियार सम्बन्धी तालिम पनि लिएछन् । हतियार लिएर पञ्चायत व्यवस्था विरुद्ध लड्ने व्यापक तयारी गरेछन् र यज्ञ बहादुर थापालाई कमान्डर बनाएर नेपाल फर्केछन् । म काठमाडौंबाट सोलु पुग्दा तीर्थ पुगेर व्यापक सङ्गठन गरिरहेका रहेछन् । भीम बहादुरले मलाई भेट्ने बित्तिकै काका कहाँ हराउनुभएको ? यहाँ हामीलाई कति खोज्यौँ, तीर्थ नि आएछन् भने । क्रान्तिको टोली आइपुगे, अब सहयोग गर्नुपर्छ, तयारी थालिहालौँ भने । व्यापक लागि हाले, फेरी अलि अलि पैसा जोहो गर्नुपर्ने भन्नुभएको थियो । गिरिजाले पछि क्रान्ति सफल भएपछि पैसा तिर्नुपर्छ भनेकाले म अब पैसा खोज्न तिर लागे । त्यति बेला राजेन्द्र कार्की तलुवाका हुन् । उनि भूमि सुधारमा अकाउन्टेन थिए । ती बलबहादुर राई सँग नजिकको सम्बन्ध भएका थिए । उनले त्यो बेला ठुलो सहयोग गरे, त्यो समयमा भूमि सुधारले गोरु किन्ने भनेर ५÷५ हजार दिन्थ्यो किसानलाई, त्यही ढगंले मैले २ जनाको दश हजार निकालेर पार्टीलाई सहयोग गरे । त्यो दिन बेलुका म सल्लेरी बसे । 

भोलिपल्ट बिहान घर आउँदा मलाई खोज्न केशर थुलुङ आइपुगेका रहेछन् ।  केशरलाई त्यो जङ्गलबाट अगाडि पठाएको रहेछ । उनले आन्दोलनको स्वरूप बताएर साथीहरू टिम्बुरबोटे आएको जानकारी गराए । मैले पठाएका केही मान्छे त भरिया बनाएर बन्दुकहरू बोकाएका रहेछन् । अम्बर बहादुर चाहिँ विष्णु दल गुल्ममा काम गरेकाले त्यहाँका हातहतियार बारेमा विज्ञ थिए  र उता हाम्रा साथीहरू चाहिँ हतियारहरू केही मात्रामा लैजाने भनेका रहेछन् । अनि उनले त यिनै हतियारबाट विष्णु दल गुल्म हान्न सकिदैन्, हतियार थप मगाउनु पर्छ । त्यहाँ त अति आधुनिक हतियार छन् भनेका रहेछन् ।

  यस क्रममा आन्दोलनको व्यापक तयारी भएको कुरा सेनालाई सुराक पुगेछ र प्रहरी त तिङ्लामा व्यापक परिचालन भइसकेछन् । केही हाम्रा साथीहरू पुलिसले समातिसकेका रहेछन् । म घरमै थिए  पुलिसहरू माथि रमिते बजार तिर ओहोर दोहोर गरेको देखेँ । म खाना खान बसेको थिए । मेरा ठाइँला बा व्यापार गर्नुहुन्थ्यो । उदारो उठाउन गाउँ भरि हिँडिरहनु हुन्थ्यो । राति नै भीम बहादुर र हर्क बहादुरलाई पुलिसले समातेको खबर पाउनुभएछ  र मलाई खोज्दै गरेको भन्ने खबर पाउनुभएछ । उहाँ हतार हतार घर आएर मलाई पुलिसले खोजेका छन्, छिटो के गर्ने हो गरिहाल भन्नुभयो । मलाई खाना निल्नै गाह्रो भयो र म जुरुक्क उठेँ । दौरा सुरुवाल लगाएर एउटा खुकुरी भिरेर भागे । अम्बर बहादुर, केशर थुलुङ सबैलाई पक्रन पठाई हालेछन्, दीप बहादुर कार्कीले सबैलाई सुराकी दिएछन् ।

म घरबाट निस्कने बित्तिकै सोच आयो, अब केशर, तीर्थ, भववन्तिलाई नि पक्रन्छन्, उतै गएर भगाउँछु भनेर केशरकोमा पुगेर सबै बताएपछि हामी एउटा खोल्सोमा जम्मा भएर रात बितायौँ । जसोतसो कता कताबाट खानेकुराको प्रबन्ध मिलायौँ । राती हामी सुत्न तिङ्ला बेसीमा हाम्रो गोरु बाँध्ने गरेको गुवालीमा गएर सुत्ने भयौँ । त्यहाँ सुत्न जाँदा केशरले भाग्ने मान्छे, यस्तो सेतो कपडा के लगाएका रहेछन् । राती पनि पुलिसले देखिहाल्छ नि फर्कनुपर्छ भनेर अङ्क बहादुरलाई मेरो घर लुगा लिन पठायौँ ।  हामी गुवालीमा बसेका थियौँ । रातीको समयमा टक–टक जुत्ता बज्यो, पुलिस आए भनेर हाम्रो सातो उड्यो । ला पुलिस आए अब के गर्ने भनेको, केशर थुलुङले खुकुरी लेउ १/२ जना पुलिस म काट्छु । त्यसै त के मर्नु भनेर मैले बोकेको खुकुरी दाउबाट निकालेर हामी बस्यौँ । ऊ ढोकामा उभिए । उनले के खुकुरी हान्न लागेका थिए, इसारा आयो । उनी त लुगा लिन गएका अङ्कलले पठाएका ओम सिंह पो रहेछन् । केशरले त्यो दिन झन्डै ओम सिंह मारे, हामीलाई आज पनि चिसो हुन्छ । 

हामी यही क्रममा केही दिन तिङलाको पारिपारि नेलेको जङ्गलमा रात बितायौँ । पछि तिङ्लामा व्यापक प्रहरी परिचालन भएपछि त्यहाँ बस्न नसक्ने भएर हामी सल्यान तिर आयौँ । खाल्पाका प्रेम थापालाई सबै थाहा भएकाले उनलाई भेट्यौँ र उनको सल्लाह अनुसार केही दिन अलि माथि जङ्गलमा बस्यौँ । खानाको प्रबन्ध उनले नै गरे । धेरै दिन यसरी बसेपछि हामी बिचमा टिम विभाजन भएर बस्ने भनेको थियो । म ओखलढुङ्गा तिर जाने साथीहरू केही नेले, काँगेल, कोही कता गएर एकल ढङ्गले बस्ने भन्ने भएर टिमबाट छुटे । साथीहरू पनि छुटाछुटै हिँड्ने भयौँ । मङ्सिर मसान्तको अन्तिम आकाशमा निकै हेलिकप्टर उडिरहेका थिए । आर्मी आएका रहेछन् टिम्बुरबोटे घटना घटाउन रहेछ । उनीहरूले भोलिपल्ट त आक्रमण गरिहालेछन् । 

यही क्रममा घटना पश्चात् म पनि पक्राउ परे । ओखलढुङ्गामा लगेर पुलिसले हिरासतमा राखे । पछि एक दिन दत्तसिंहलाई थप अनुसन्धानका लागि सल्लेरी पठाउने भनेर मलाई खबर गरे र मलाई उताबाट सल्लेरी हिँडाएर जाँदा सल्लेरीबाट अम्बर बहादुरसहित अरूलाई राजविराज जेल चलान गर्ने भनेर हिँडाएका रहेछन् । बाटोमा हामी दुवै टोलीलाई तिमिहरूका साथीहरू भनेर भेट गराए, भेटमा हामी केही बोल्न सकेनौँ । टुलुटुलु हेराहेर मात्र भयो । आँसु पनि झर्न थाले, अम्बर बहादुर अलि आँटिला र साहसी थिए, उनले दत्त जी हुन त हामी कसैको जीवनको ज्ञारेन्टी छैन यदि हामी बाँच्यौँ भने तपाईँको र तपाई बाँच्नु भयो भने मेरो परिवार र मरो एउटा काखे बालक सानो छोरा छ, त्यसलाई रेखदेख गर्नु है । सहयोग गरागर गरौँ भन्नुभयो । म भावविहल भएँ । टाउको हल्लाएर हवस् भने त्यसपछि हामीलाई छुटाए, त्यो भेट्नै हाम्रो लागि अन्तिम भयो । उहाँलाई माघ ३ गते टोक्सेलमा पु¥याएर खाजा खानु भनेर मासु चिउरा दिएछन् । खाजा खाई सक्न के लागेका थिए, अब तिमिहरू सबै लाइन लाग भनेर आँखामा कालो पट्टि बाँधी गोली हानि निर्मम तवरले हत्या गरेछन् । ती मेरा महान् साथीहरू अझै पनि अमर छन्, रहिरहने छन् । चिरस्मरणीय अम्बर बहादुर लगायत सबै प्रिय साथीहरूमा उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली !

(लेखक आचार्य नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका पूर्व अध्यक्ष हुन् ।)

याे पनि पढ्नुहाेस् ।

यसरी घट्यो टिम्बुरवोटे घटना 

प्रतिक्रिया