बिहीबार, वैशाख २७, २०८१

इतिहासको एउटा कुरा

सुनील उलक २०८० असार १३ गते ७:५५

इतिहास खोतल्न त्यति सजिलो छैन । यी र यस्ता कागज खोज्न सक्नुपर्छ, खोतल्न सक्नुपर्छ र त्यस बेलाका ती भाष्यहरू पढ्न पनि सक्नुपर्छ । यी लालमोहरहरू भीमसेन थापाका, जङ्गबहादुरका, चन्द्रशमशेरका, जुद्धशम्शेरका र अन्य राणा शासकहरूका हुन् । यश कागजहरू भित्र नेपालको इतिहासले लुकाएको वीर सपूत सुब्बा प्रह्लाद गुरुङले पाएको वीरता र उनका सन्ततिले पाएको बिर्ता (गुठी)को विवरण छ ।

वि.सं. १८७२ वैशाख ४ गते अङ्ग्रेजले देउथल कब्जा गरेपछि भोलिपल्ट काजी अमरसिंह थापाको नेतृत्वमा पुन देउथल आक्रमण गर्दा ७२ वर्षीय वृद्ध सरदार भक्ति थापाले वीरगति प्राप्त गरेको थियो । युद्धमा सरदारको मृत्यु भए पछि राजगढ फर्केका गोर्खाली माथि वैशाख ६ गते अङ्ग्रेजले आक्रमण गर्दा सुब्बा प्रह्लाद गुरुङ, सुब्बा अतिवलल भण्डारी, सुब्बा गोरे भण्डारी लगायत धेरैले वीरगति पाएका थिए ।

प्रह्लाद गुरुङले अङ्ग्रेज आक्रमणको समय अक्टरलोनीको जेठी तरबार खोसेर लिएका थिए भने अङ्ग्रेजको झन्डा च्याटेका थिए । यसरी अङ्ग्रेजसँग खोसेर ल्याएको तरबार र झन्डा तथा त्यस बेलाका गोर्खालीको अन्य हतियारहरू तथा नगर निशानी आज पनि सुरक्षित राखिएको छ । अङ्ग्रेजसँगको युद्धमा सहिद भएका प्रह्लाद गुरुङको नगरा निशान सुरक्षित राख्न तथा नित्य पूजा गर्न सरकारले चौर गाउँमा १०० मुरी खेत गुठी राखिदिएका थिए ।

हालसम्म पनि नगरा, निशान, खुँडा तथा तरबारहरू सुरक्षित राखी वीरगति प्राप्त गरेको वैशाख ६ गते स्मृति दिवस मनाउने गरिन्छ । देउथलमा वीरगति प्राप्त गरेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा भयो । तर अक्टरलोनीको जेठी तरबार खोस्ने तथा अङ्ग्रेजको झन्डा च्याट्ने सुब्बा प्रह्लाद गुरुङको इतिहास कतै उल्लेख छैन । नेपालको इतिहासमा अङ्ग्रेजसँगको युद्धको इतिहास वैशाख ५ सम्म मात्रै छ । यसको भोलिपल्ट के भयो कतै उल्लेख छैन ।

प्रतिक्रिया