आइतबार, वैशाख १६, २०८१

सोलुदुधकुण्डकाे जनमैत्री र निष्पक्ष विकासमा प्रतिबद्ध छौँ : मेयर शेर्पा

नेपालखोज २०८० असार १६ गते ६:००

काठमाडौं । सोलुखुम्बुको एक स्थानीय तह हो, सोलुदुधकुण्ड नगरपालिका । मुलुकमा सङ्घीयताको अभ्यास भएपछि भएको दुई वटै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका नाम्गेल जाङबु शेर्पालाई मतदाताले निर्वाचित गरेर नगरको नेतृत्व गर्ने अवसर दिए ।

अहिले उनै मेयर शेर्पाले नगरको सुशासन र विकास निर्माणको नेतृत्व गर्दै आएका छन् । नेपाली काँग्रेसकाे जिल्ला सभापति समेत रहेका शेर्पाले आफ्नो नेतृत्वमा नगरको विकासले फड्को मारेको दाबी गरेका छन् । 

दोस्रो कार्यकालको पहिलो वर्ष सकिँदै गर्दा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल भइरहेको वर्तमान अवस्थामा मेयर शेर्पासँग सहकर्मी शिखर गजरकोटेले गरेको कुराकानीको सम्पादित अंश : 

तपाईँले नगरको दोस्रो पटक नेतृत्व गर्दै गर्दा के फरकपन महसुस गर्न सकिन्छ ?

पहिलो कार्यकालमा राजनीतिक संरचना र हामी दुवै नयाँ थियौँ । कर्मचारी व्यवस्थापन र आवश्यक नीति नियमको अभावका कारण विकास र सुशासनको जग बसाल्न समय लाग्यो । 

सुरुवाती चरणमा केही अलमल देखिए पनि पहिलो कार्यकालको अनुभव र नीति निर्माणले गर्दा दोस्रो कार्यकालमा विकासका काम अघि बढाउन निकै सजिलो भएको छ । पहिलो कार्यकालमा पनि हामीले जनमैत्री विकास र सुशासनको कामलाई प्राथमिकता दिएकै थियौँ । कोरोना कहरका बिचमा पनि निर्विवाद जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने स्थानीय तह हो, सोलुदुधकुण्ड नगरपालिका ।

अहिले अब पहिलो कार्यकालमा निर्माण गरिएको आवधिक योजना अनुरूप नगर क्षेत्रमा देखिने प्रकारको गौरवका योजनाहरू अघि सारेका छौँ । पूर्वाधार निर्माण, सार्वजनिक सेवा प्रवाह र सामाजिक विकासका कामहरू तीव्र गतिमा अघि बढाइएको छ । वातावरण सरसफाइ, बजार व्यवस्थापन र अन्तरपालिका जोड्ने सडक विस्तार र स्तरोन्नतिमा पनि उत्तिकै काम गरेका छौँ ।

आधुनिक ढल प्रशोधन (वाटर ट्रिटमेन्ट प्लान्टसहित)को काम फाप्लु र दोर्पुमा सम्पन्न भएका छन् । सल्लेरीको लागि डिपिआर तयार पारेर काम अघि बढाएका छौँ । यो वर्ष कम्तीमा ३ वटा सडक कालोपत्रे गर्ने योजनालाई सफल बनाउन प्रदेश, सङ्घ सरकार र एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण सडक कनेक्टिभिटी परियोजना सँग जोडिएर प्रक्रिया अघि बढाइएको छ । जिल्ला अस्पतालको भौतिक पूर्वाधार निर्माणमा नगरले नेतृत्व ग¥यो । बसपार्क निर्माणको काम चलिरहेको छ ।

यो पटक जिल्लाकै गौरवको रूपमा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पसको आवश्यक पूर्वाधार निर्माण गर्ने, जिल्लाकै लागि असहाय बाल केन्द्र निर्माण, गार्मामा व्यावसायिक सीप तालिम केन्द्र स्थापना गर्ने लगायतका काम अघि बढाउदैँछौ । कृषि क्षेत्रको कुरा गर्दा नेपालभरको एक सय स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिकामा पनि एसियाली विकास बैङ्कको ५० प्रतिशत अनुदानमा तरकारी खेती प्रवर्द्धन, ओखर, स्याउ र किवी जस्ता फलफूल खेती प्रवर्द्धनका लागि नयाँ कार्यक्रम सुरु हुदैँछ ।

बजार व्यवस्थापनको हकमा अव्यवस्थित टहरा हटाउने, नेपाल टेलिकम लगायत निजी सेवा प्रदायकको अव्यवस्थित तार हटाउने, बजार क्षेत्रको ढलान, ढल व्यवस्थापन र खानेपानी व्यवस्थापनमा नगरपालिका दत्तचित्त भएर लागेको अवस्था छ । हामी प्रचारमा भन्दा काममा केन्द्रित छौँ । जनता र सम्वृद्धिलाई केन्द्र भागमा राखेर निरन्तर अघि बढिरहेका छौँ ।

पर्यटन विकासमा जुन प्रकारको परिवर्तनको आभास हुनुपर्ने थियो । त्यो नभएको हो कि भन्ने लाग्दैन ?

नगरभित्र रहेको ज्वालामाइ मन्दिर, दुधकुण्ड, पिके, पत्ताले, तात्नाङगे लगायतका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको योजनाबद्ध विकासका काम चलिरहेको छ ।

ज्वालामाइ क्षेत्रको विकासमा यसअघि कसैको पनि ध्यान गएको थिएन । हामी आएपछि गुरु योजना बनाएर सोही अनुसार चरणबद्ध रूपमा पार्किङ, शौचालय लगायतका काम भइरहेको छ । पहिले भन्दा ज्वालामाइ मन्दिर क्षेत्रको स्वरूप फेरिएको छ । दर्शनार्थी जो कोहीले पनि परिवर्तनको महसुस गर्नुहुनेछ ।

दुधकुण्ड पोखरीको कुरा गर्ने हो भने पिके–जुनवेशी–थुप्तेन छोलिङ हुँदै दुधकुण्ड–टाक्सिन्दु जोड्ने ट्रेकिङ ट्रेलको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । त्यस्तै, रात्नाङगे–टाक्सिन्दु साइक्लिङ ट्रेल निर्माणको काम भएको छ । पत्तालेमा पर्यटकीय पार्क निर्माण हुदैछ । अन्य क्षेत्रको विकासमा पनि निरन्तर लागि परेका छौँ ।

तपाईँले यतिका धेरै विकास निर्माणको बेलिबिस्तार लगाए पनि दोस्रो कार्यकालसम्म आइपुग्दासम्म प्रशासनिक भवन निर्माण गर्न सकेन भन्ने कोणबाट आलोचनाको गुञ्जायस सुनिन्छ नि ?

पहिलो कार्यकालमा प्रशासनिक भवन निर्माणको काम हाम्रो प्राथमिकतामा थिएन । किनकि, जनताको मागमा केन्द्रित योजना सञ्चालनमा ध्यान दियौँ । अहिलेसम्म आउँदा ११ वडामध्ये वडा नं ६, ९ र ११ वडामा सुविधा सम्पन्न भवन छ । अब यो पटक हामीले जिल्लास्तरिय हल, सामुदायिक लाइब्रेरीसहितको सुविधा सम्पन्न र मौलिक ढाँचाको प्रशासनिक भवन निर्माण गर्दैछौँ । भवनको डिपिआर बनिसकेको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गा भवन निर्माणको लागि उपलब्ध भएको छ । स्रोतको सुनिश्चितता गरेर यही साउनमा टेन्डर प्रक्रिया अघि बढाउँछौँ । त्यसको दुई वर्षमा भित्रमा प्रशासनिक भवन निर्माणलाई पूर्णता दिने तयारीमा छौँ । भवनको डिजाइन स्थानीय संस्कृतिलाई पनि जीवन्त राख्न सकिने गरी तयार पारेका छौँ । मलाई लाग्छ, हललाई जिल्लाभरकै सरोकारवालाले उपयोग गर्न मिल्ने गरी मौलिकताको हिसाबले मुलुककै नमुना भवन निर्माण हुनेछ ।

अहिले नगरपालिका बजार क्षेत्रको अव्यवस्थित टहरा र तार हटाउनमा व्यस्त छ । काम कसरी भइरहेको छ ?

नगरपालिकाको राष्ट्रिय भवन आचारसंहिता, मापदण्डहरू छन् । त्यसलाई आत्मसाथ गरेका हौँ । भविष्यको सम्भावित विपत् र जोखिम मात्र हैन बजारको व्यवस्थापन र सुन्दरतालाई पनि ध्यानमा राखेर निष्पक्ष रूपमा काम गरिरहेका छौँ । नयाँ संरचना मापदण्ड अनुसार निर्माण गर्ने, पुराना संरचनालाई मापदण्डको परिधिमा ल्याउने, जारी सूचनालाई बेवास्ता गरेर सार्वजनिक जग्गामा आफूखुसी बनाइएको र बजार क्षेत्रको पुराना संरचनालाई हटाउने काम गरी नगरलाई सुरक्षित र व्यवस्थित बनाउन लागि परेका छौँ । 

यो काममा नगरले विभेदको दृष्ट्रिले हेर्यो, दलीय आस्थाको हिसाबले काखा पाखा गर्यो । निष्पक्ष व्यवहार गरिएन भन्ने गुनासो सुनिन्छ नि ?

नगर क्षेत्रको अव्यवस्थित र मापदण्ड विपरीतका संरचना हटाउने विषयको छलफल र निर्णय २०७४ सालमा म पहिलो पटक नगरको नेतृत्वमा आए लगत्तै भएको थियो । २०७५ सालमै बजार क्षेत्रका पसलका पाली हटाउने काम गरेका थियौँ भने तार हटाउने सम्बन्धमा सेवा प्रदायक निकायमा पत्राचार गरेका थियौँ । 

स्थानीय तहको दोस्रो निर्वाचन ताका नगरपालिकाको नियम, कानुन र मापदण्डलाई चुनौती दिने गरी निर्माण गरिएका संरचनालाई अहिले नै कडाइका साथ हटाउने काम गरिएन भने पछिका लागि चुनौती बन्ने निष्कर्षमा नगरपालिका पुगेको छ ।

समन्वय र सूचना दिने काममा हामी चुकेका छैनौँ । सार्वजनिक सूचना निकाल्ने, पत्राचार गर्ने, नगरपालिकामा छलफल गर्ने र नगर प्रहरीले सम्झाउने सम्मको काम गरेपछि पनि हटाउन अटेर गरेपछि डोजर चलाउन बाध्य भएका हौँ । सामान्य टीकाटिप्पणी हुन्छन्, त्यसलाई स्वाभाविक मान्नुपर्छ तर नगरले कसैलाई काखा पाखा नगरी काम गर्दै आएको छ ।

फाप्लु, सल्लेरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाउने र प्रयोगमा ल्याउने काम भएको छ । त्यसको संरक्षण नगरको दायित्व हो । सोही अनुसार संरचना हटाउने काम गरिएको हो । त्यस्तै, बजार क्षेत्रको वर्कसपलाई पनि व्यवस्थापन गर्दैछौँ । सडकसँग जोडिएका ग्यारेजले दुर्घटनाको जोखिम बढाएकाले आगामी कार्त्तिक महिनासम्म फाप्लु–सल्लेरी–नयाँ बजार–दोर्पुमा सञ्चालनमा रहेका वर्कसपलाई मापदण्ड अनुसार व्यवस्थित गर्ने तयारीमा छौँ ।

यसबाहेक हामीले दमकल र एम्बुलेन्स पुग्न नसकेको क्षेत्रमा पहुँच वृद्धि गर्ने अभियानमा छौँ । नगरको मातहतमा ४ वटा एम्बुलेन्स सञ्चालन गरेर नगर बासी मात्र नभई जिल्लावासीलाई नै निःशुल्क सेवा दिइरहेका छौँ ।

अब आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा केन्द्रित हौँ । कुन आकारको बजेट पारित हुदैँछ र कस्ता गौरवका योजनाहरू समावेश गरिएका छन् ?

यस पटक हामीले करिब ६९ करोडको बजेट बनाएका छौँ । वास्तविक धरातलमा निर्माण गरिएको बजेट कार्यान्वयन गर्न सकिन्छ । विगतको अनुभवबाट सिकेर ठुलो बजेट भन्दा पनि कार्यान्वयनमुखी बजेट बनाएका छौँ । बजेटमा नगरको प्रशासनिक भवन, बाँकी वडा कार्यालय, स्वास्थ्य चौकीको भवन, सडक स्तरोन्नति, खानेपानी, ढल व्यवस्थापन, कृषि, उत्पादनमुखी लक्षित वर्गको कार्यक्रममा केन्द्रित छ ।

अन्त्यमा केही छुटेका कुरा छन् कि ?

स्वास्थ्यको कुरा गर्न चाहन्छु । आधारभूत स्वास्थ्यमाथि नागरिकको पहुँच वृद्धिका लागि ज्येष्ठ नागरिक, असक्त, अपाङ्ग, दीर्घ रोगीहरूको घरमै पुगेर नियमित जाँच, औषधि वितरण, गर्भवती महिलाहरूको नियमित जाँच, स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने, सुत्केरी र नवजात शिशुको स्वास्थ्य र पोषणका कार्यक्रम जिल्लामै सबैभन्दा पहिले सोलु दुधकुण्ड नगरपालिकाले सुरु गरेको हो । मेरो पहिलो कार्यकाल देखि नै निरन्तर रहेकाले ज्येष्ठ नागरिक, असक्त, अपाङ्ग, दीर्घ रोगी र गर्भवती महिलाहरू निरन्तर लाभान्वित भएका छन् । जुन प्रभावकारी देखिएको छ । 

त्यस्तै, फोहोर मैलाको क्षेत्रमा पनि उत्तिकै महत्वका साथ काम गरेका छौँ । वर्षौँदेखि सल्लेरी क्षेत्रका खोल्साखोल्सीमा फालिएका सिसा र प्लास्टिकजन्य फोहोर सङ्कलन गरी टनका टन फोहोर प्रशोधनका लागि निर्यात गरेका छौँ । जसले सफाइमा ठुलो राहत पुगेको महसुस गरेका छौँ ।

प्रतिक्रिया