शुक्रबार, वैशाख १४, २०८१

‘अनुभव पढेर होइन गरेर आफैं पाइने कुरा हो’

नेपालखोज २०७८ माघ १७ गते ९:४०

वाग्मती प्रदेशको पहाडी जिल्ला रसुवाको प्रशासनिक नेतृत्व अहिले भैरवी गाउँपालिका दैलेखका नवराज जैशीको काँधमा छ । २०७८ असोज २२ गतेदेखि रसुवाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जैशी कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ जैशीलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २३ वर्ष बिताएका रसुवाका प्रजिअ जैशी यसअघि गृह मन्त्रालयअन्तर्गत प्रशासन शाखामा कार्यरत थिए ।
राजधानीबाट टाढाको जिल्लाको बासिन्दा भए पनि दैलेखलाई लोकसेवाको क्षेत्रमा पश्चिमतिरको जिल्लामा अग्रणी भूमिकामै रहेको बताउँछन् प्रजिअ जैशी । ‘अहिले पनि हामी नौ-दशजना प्रजिअ छौं होला दैलेखबाटै । त्यसबेला पनि केही अग्रज लोकसेवाबाट नाम निकालेर काममा हुनुहुन्थ्यो,’ प्रजिअ जैशीले नेपालखोजसँग भने, ‘उहाँहरूको सुझाव-सल्लाह र आफूले पनि निजामती सेवा राज्यको मूल संयन्त्र रहेछ । राज्यद्वारा नागरिकलाई सेवा प्रवाहको सवालमा निजामती सेवा मूल संयन्त्र भएको यसमै रहेर काम गर्दा नै नागरिकलाई केही सेवा गर्न सकिन्छ भन्ने बुझेरै यता प्रवेश गरियो ।’
रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नवराज जैशीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ४२औं शृंखला :

हाइलाइट्स :
-जहाँ रहँदा पनि मैले आफ्नो सीप, अनुभव र ज्ञानलाई आधार मानेर सेवा प्रवाह गरें ।
-कतिपय व्यक्तिगत घटना पनि राजनीति मुद्दा बन्नेबाहेक अरू सार्वजनिक सेवा-प्रवाहलगायत विषयमा त्यस्तो खालका दबाब छैन ।
-राज्यद्वारा नागरिकलाई सेवा प्रवाहको सवालमा निजामती सेवा मूल संयन्त्र भएको यसमै रहेर काम गर्दा नै नागरिकलाई केही सेवा गर्न सकिन्छ भन्ने बुझेरै यता प्रवेश गरियो ।
-दुल्ल पढ्दाको अवस्थामा सहज रुपमा मट्टितेल पनि पाइँदैन थियो । दियालो बालेर पढियो कति दिन त । दियालो पनि नहुँदा घरबाट लगेको खाने तेल बालेर पनि पढियो ।
-अहिलेको पुस्ता निजामती सेवातर्फ त्यति आकर्षित भएजस्तो मलाई लाग्दैन । निजामती सेवाको साख खस्कँदै छ । २-३ कारणले निजामती सेवाको साख कमजोर भएको मलाई अनुभूति हुन्छ ।
-हाम्रोमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्व त्यति पूरा गर्न सकेको छैन । सामाजिक उत्तरदायित्व हुन्छ भनेर कमै बुझे जस्तो मात्र लाग्छ ।
-लोकसेवामा लेखनशैली अलि भिन्न हुनुपर्छ । उत्तर अलि चित्तबुझ्दो दिनुपर्छ । लेखनशैलीमा मिठास र शब्द खेलाउने क्षमता भयो भने अलि सफलता पाउन सहज हुन्छ ।
-निजामती सेवामा अहिले त्राही–त्राहीको अवस्था भनेकै सरुवा हो । पदपूर्ति, नियुक्ति, सरुवा र बढुवा यी निजामती सेवाका नियमित पक्ष हुन् । यिनै वृत्तिविकास पनि हुन् ।
-सेवा प्रवाहलाई प्रभाव पार्ने धेरै कुरा हुन्छन् । तीमध्ये कर्मचारीको व्यवहार पनि एउटा पाटो हो । यही कुराले कतिपय कर्मचारीहरू आफ्नो क्षेत्रमा अब्बल पनि हुनुभएको छ । कतिपय आलोचित पनि हुनुभएको छ ।
-नागरिकले दुःख पाएको अवस्था पनि छ । कर्मचारीले अन्तरआत्मादेखि म सेवक हो शासक होइन भनेर सोच्नुभयो भने सेवाग्राही सन्तुष्ट हुन त्यति गाह्रो हो जस्तो लाग्दैन ।
-निजामती सेवा मुलुकको मियोका रूपमा छ । निजामती सेवाभन्दा अरू सार्वजनिक सेवा छ भन्ने छैन ।
-सिद्धान्तहरू जति पनि पढ्न सकिन्छ किताबहरू जति पनि पढ्न पाइन्छ । अनुभव पढेर होइन गरेर आफैँ पाइने कुरा हो ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मेरो जागिर जीवन २३ वर्ष पुग्यो । जहाँ रहँदा पनि मैले आफ्नो सीप, अनुभव र ज्ञानलाई आधार मानेर सेवा प्रवाह गरेँ । पछिल्लो समय प्रमुख जिल्ला अधिकारीको भूमिकामा रसुवामा कार्यरत छु । खासगरी प्रमुख जिल्ला अधिकारीका काम शान्ति–सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र समन्वय यी चार केन्द्रमा रहन्छन् । यी काममा भूमिका निर्वाह गर्ने क्रममा आफू सन्तुष्ट भएको महसुस गरेको छु ।

कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
विभिन्न पार्टीको जिल्लालगायत समग्र मुलुकमै उहाँहरूको प्रतिनिधित्व छ । यस सवालमा कतिपय व्यक्तिगत घटना पनि राजनीति मुद्दा बन्नेबाहेक अरू सार्वजनिक सेवा–प्रवाहलगायत विषयमा त्यस्तो खालका दबाब छैन ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
छन्, यस्ता घटनाहरू । भर्खरै मात्र मैले अनुभव गरेको छु । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएपछि बेलुका ‘आँखा देख्ने बेलासम्म’ भनेर मैले शब्द राखेको थिएँ । बत्ती बालेर सेवा प्रवाह गर्न सकिँदैन । बिहान चिसो भएकाले समय बढाउन सकिएन । बेलुका आँखा देख्ने बेलासम्म नागरिकता, पासपोर्टलगायत विभिन्न सार्वजनिक सेवा प्रदान गर्ने व्यवस्था गरें । अहिले जुन खालको सेवा जसरी प्राप्त भयो त्यसरी पहिला भएको भए होटेलमा बास बस्नुपर्ने थिएन । अन्य खर्च हुने थिएन । चिसो खानुपर्ने थिएन भन्ने जनताबाटै प्रतिक्रिया आएपछि यस्तो व्यवस्था मिलाएको हुँ । हामीलाई जुन समस्या परेको छ त्यो नै ठूलो लाग्ने रहेछ । नागरिकता प्राप्त गर्नेलाई नगरिकता नै ठूलो विषय छ । पासपोर्ट प्राप्त गर्नेलाई पासपोर्ट नै ठूलो छ । यो चिसोका बेला म रसुवा जिल्लाको गाउँगाउँ डुलेँ । न्यानो कपडा खासगरी ब्ल्यांकेट वितरण गरेँ । यसक्रममा त्यहाँका जनता निकै खुसी हुनुभयो । पहिले दुईवटा सीडीओ आए जस्तो लाग्थ्यो आज तपाईं यो गाउँमा आइदिनुभयो भन्नुभयो जनताले । नागरिकको सन्तुष्टिको स्तर अत्यन्तै हुने रहेछ । चिज सानो हामी राज्यले दिएको त्यति ठूलो होइन एउटा ब्ल्यांकेट त्यो पनि सामान्यखालको तर नागरिकलाई सर्वस्व प्राप्त गरेजस्तो लाग्ने रहेछ । भनाइको अर्थ एउटा सार्वजनिक सेवा प्रवाह गर्न कर्मचारीले गर्ने व्यवहार उसको नागरिकसँगको सामीप्यता ठूलो महत्त्व राख्ने रहेछ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
दैलेख विकट पहाडी जिल्ला । राजधानीबाट पनि टाढा रहेको जिल्ला भए पनि लोकसेवाको क्षेत्रमा पश्चिमतिरको जिल्लामा अग्रणी भूमिकामै छ । अहिले पनि हामी नौ-दशजना प्रजिअ छौं होला दैलेखबाटै । त्यसबेला पनि केही अग्रज लोकसेवाबाट नाम निकालेर काममा हुनुहुन्थ्यो । उहाँहरूको सुझाव-सल्लाह र आफूले पनि निजामती सेवा राज्यको मूल संयन्त्र रहेछ । राज्यद्वारा नागरिकलाई सेवा प्रवाहको सवालमा निजामती सेवा मूल संयन्त्र भएको यसमै रहेर काम गर्दा नै नागरिकलाई केही सेवा गर्न सकिन्छ भन्ने बुझेरै यता प्रवेश गरियो ।

निजामती सेवा प्रवेशका लागि आफ्ना अध्ययन सामग्रीहरू कसरी जुटाउनुहुन्थ्यो ?
म दैलेखको दुल्लुमा पढेको हो । मसँगै पढेको साथी अहिले काठमाडौंमा प्रजिअ हुनुहुन्छ । हामी क्लासमेट हौं- ८, ९, १० सँगै पढेको । अहिलेको सुर्खेतको प्रजिअ पनि क्लासमेट नै हो । हामी तीनभाइ सँगै पढेको संयोगले हामी अहिले तीन जिल्लाको प्रजिअ पनि बनेका छौं । दुल्ल पढ्दाको समयमा मट्टितेल पनि पाइँदैन थियो । दियालो बालेर पढियो कति दिन त । दियालो पनि नहुँदा घरबाट लगेको खाने तेल बालेर पनि पढियो । त्यसबेला अंग्रेजी शिक्षक पनि कता–कता मात्र पाइने विद्यालयमा एउटा मात्र पाइने । गणितको शिक्षक पनि त्यस्तै थियो । लोकसेवाको सामग्री त पाइँदै नपाइने अवस्था थियो । संयोगले मकालु बुक्सले प्रकाशन गरेको किताव अलिअलि पाउँथ्यो । खोजी गर्दा एकजना, दुईजना साथीसँग हुन्थे । अरू त टेक्सबुकबाट पढेकै कुराले लोकसेवा पास गर्न सहज भयो । त्यतिबेला अहिलेको जस्तो सहजता थिएन । गाडी प्लेनको पनि सुविधा थिएन । एकदम कम रूपमा गाडी चल्थे । बाटै थिएन । अध्ययनका क्रममा सुर्खेत आउँदा त्यहाँबाट अलिअलि गाडी काठमाडौं आउथे । कतैबाट किताब फेला परे फोटोकपी गर्ने, महत्त्वपूर्ण कुरा टिपोट गर्ने अवस्था थियो । नबुझेको कुरा अग्रजहरूसँग सोध्ने यति नै त्यसबेलाको स्रोत थियो । अहिलेको जस्तो बग्रेल्ती स्रोत भएको भए कति सजिलो हुन्थ्यो हुन्थ्यो ।

राज्यद्वारा नागरिकलाई सेवा प्रवाहको सवालमा निजामती सेवा मूल संयन्त्र भएको र यसमै रहेर काम गर्दा नागरिकलाई केही सेवा गर्न सकिन्छ भन्ने बुझेरै यता प्रवेश गरियो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
अहिलेको पुस्ता निजामती सेवातर्फ त्यति आकर्षित भएजस्तो मलाई लाग्दैन । निजामती सेवाको साख खस्कँदै छ । २-३ कारणले निजामती सेवाको साख कमजोर भएको मलाई अनुभूति हुन्छ । एउटा कुरा निजामती क्षेत्रले आफूले गर्नुपर्ने कामभन्दा पनि अरूको काममा बढी रुचि राखेको पाइयो । अर्को प्रणालीअनुसार लिन सकिएन हाम्रो निजामती सेवालाई । सिस्टममा ल्याउन सकेको भए कर्मचारीले निर्धक्क भएर काम गर्न सक्थे । त्यो अवस्था छैन । निर्धक्क भएर काम गर्न खोज्दा उसले विभिन्न समस्या झेल्नुपर्ने अवस्था आउँछ यस्तो भएपछि मान्छेले आफूसँग भएको इमानदारिता र नैतिकता प्रयोग गर्न सक्ने अवस्था भएन । प्रणालीमा गएको भए प्रणालीले काम गर्थ्यो । प्रणालीले उसलाई दण्ड दिन्थ्यो । प्रणाली नै उसलाई पुरस्कृत गर्थ्यो । यी कुरामा संकट छ । यो विषयमा कुनै पार्टी, संस्था वा व्यक्तिलाई दोष दिएर मात्र हुन्न । राजनीतिक तह र प्रशासनिक तहले नै अब सुधार गर्नुपर्छ । राजनीतिमा सुधार त जरुरी नै छ । तर राजनीतिलाई भन्दा बढी प्राथमिकता निजामती क्षेत्र अथवा सार्वजनिक प्रशासनलाई दिन जरुरी छ । किनभने मुलुकको राज्य संयन्त्रको स्रोत-साधन प्रयोग गर्ने संयन्त्र यो हो । निर्णय गर्ने मात्र राजनीतिक तह हो । कार्यान्वय निजामती क्षेत्रले गर्ने हो । यही कारण निजामती सेवा आकर्षित हुँदैन कि जस्तो लाग्छ । हामी सबै लागेर निजामती सेवालाई सुधार गर्नुपर्ने अवस्था आइसकेको छ ।

उसो भए लोकसेवाले थोरै संख्या माग गरे पनि आवेदन दिनेको संख्या त निकै धेरै हुन्छ नि किन ?
मुलुकमा बेरोजगारीको अवस्था भयाबह छ । खासगरी राज्यले रोजगार दिने होइन । विश्वमा राज्यले रोजगार दिने मुलुक विपन्न मुलुक मात्र हुन् । सम्पन्न मुलुक जहाँ औद्योगिक विकास भएको छ । विकास र प्रविधिले फड्को मारेको छ । त्यहाँ सबैभन्दा ठूलो रोजगारी दिने भनेको निजी क्षेत्र हो । राज्यले सेवा प्रवाह गर्ने हो जहाँ निजी क्षेत्रले गर्न नसक्ने र गर्न नचाहेको काम । हाम्रोमा निजी क्षेत्रले पनि त्यति आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न सकेको छैन । सामाजिक उत्तरदायित्व हुन्छ भनेर कमै बुझे जस्तो मात्र लाग्छ । लगानीका क्षेत्रमा पनि निजी क्षेत्र सक्षम छैन । यसकारण रोजगारी सिर्जना भएन । यही कारण थोरै भ्याकेन्सीमा पनि धेरै आवेदन पर्छ । सायद रोजगरीको सिर्जना भएको भए यस्तो हुने थिएन होला ।

निजामती सेवामा सहज सेवा प्रवेशका लागि कसरी पढ्ने ?
मेरो अनुभवमा दुई–तीनवटा मेजर कुरा छन् पढ्नलाई । लोकसेवा पास गर्न जेन्युन डकुमेन्टहरू पढ्नुपर्छ । विगतमा मेरो पनि अनुभव छ । अरूले लेखेको गाइडहरू पढ्दा जसमा पुराना तथ्यांक (डाटा) हरू हुने रहेछन् । नयाँ ऐन संशोधन हुने रहेछ, पुराना कुरा राखिदिने रहेछ । हामीले मुख्य डकुमेन्ट भनेको संविधान पढ्नुपर्यो । योजनाको कुराहरू पढ्नुपर्यो त्यो राज्यको डकुमेन्ट हो । मन्त्रालयका प्रतिवेदनहरू पढ्ने । यी जेन्युन डकुमेन्ट पढ्ने एउटा पाटो भयो । यसबाट आफूलाई सही सूचना प्राप्त हुन्छ । मेरो अनुभवअनुसार लेखनशैली अलि भिन्न हुनुपर्छ । उत्तर अलि चित्तबुझ्दो दिनुपर्छ । लेखनशैलीमा मिठास र शब्द खेलाउने क्षमता भयो भने अलि सहज हुन्छ । मुख्य रूपमा जेन्युन डकुमेन्ट पढ्नुपर्यो । पृथक लेख्न सकियो भने र विषयवस्तु गहन रूपमा बुझियो भने सफलता पाउन सहज हुन्छ । गहन रूपमा बुझ्न सकिएन भने पृथक लेख्न पनि सकिँदैन ।

निजामती सेवामा किन चाँडो–चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवामा अहिले त्राही–त्राहीको अवस्था भनेकै सरुवा हो । पदपूर्ति, नियुक्ति, सरुवा र बढुवा यी निजामती सेवाका नियमित पक्ष हुन् । यिनै वृत्तिविकास हुन् । लोकसेवा आयोगले गर्दा २–३ वटा कुरा सिस्टममा छन् । पदपूर्ति लोकसेवा आयोगले गर्छ त्यसमा कसैले प्रश्न उठाउन सकेको छैन । एकाध साना-तिना घटना कतै होलान् । व्यक्तिको स्वार्थ र संस्थाले गर्ने कुरा फरक हुन्छ । लोकसेवा आयोग हुनेवेलासम्म यी कुरामा प्रश्न उठ्छ जस्तो मलाई लाग्दैन । नियुक्तलाई पनि एक हिसाबले सहजै रूपमा लिइएको छ । बढुवा पनि सिस्टमै छ । अंक गणना गर्ने हो । भौगोलिक क्षेत्र, शैक्षिक योग्यता, ज्येष्ठता, कार्यसम्पादन हेरेर हो । सबैभन्दा भद्रगोल भनेको सरुवा नै हो । यसले निजामती कर्मचारीलाई आतंकित पनि बनाएको छ । यसैले नेताहरूलाई आलोचित पनि बनाएको छ । साथै कर्मचारीलाई असुरक्षित पनि बनाएको छ । शक्ति र अधिकार जबसम्म एक हुँदैन तबसम्म नेता कर्मचारीले काम गर्न सक्ने वातावरण कम नै रहन्छ । जस्तो शक्ति एकजना व्यक्ति अथवा समूहसँग छ । अधिकार अर्कोसँग छ । अधिकार भएकाले प्रयोग गर्न पाउँदैन शक्ति भएकाले दबाब दिन्छ । अहिले सरुवाको अवस्था यस्तै छ । कर्मचारीले आफ्नो क्षमताअनुसार काम गर्न खोज्यो र शक्तिवाला ग्रुप अनुकूल भयो भने भोलि उसले विभिन्न झमेला व्यहोर्नुपर्ने हुन्छ । निजामती सेवालाई व्यवस्थित गर्ने हो भने सरुवा प्रणालीलाई व्यवस्थित गर्नुपर्छ ।

तपाईं सेवाग्राही अर्थात् जनता पनि त हो । जनताका तर्फबाट सोच्दा कर्मचारीबाट कुन रूपमा सेवा प्रवाह भइरहेको छ ? कर्मचारीबाट प्रवाह भइरहेको सेवाको मूल्यांकन कसरी गर्नुहुन्छ ?
सेवा प्रवाहलाई प्रभाव पार्ने धेरै कुरा हुन्छन् । तीमध्ये कर्मचारीको व्यवहार पनि एउटा पाटो हो । यही कुराले कतिपय कर्मचारीहरू आफ्नो क्षेत्रमा अब्बल पनि हुनुभएको छ । कतिपय आलोचित पनि हुनुभएको छ । नागरिकले दुःख पाएको अवस्था पनि छ । कर्मचारीले अन्तरआत्मादेखि म सेवक हो शासक होइन भनेर सोच्नुभयो भने सेवाग्राही सन्तुष्ट हुन त्यति गाह्रो हो जस्तो लाग्दैन । अहिलेको अवस्थामा कर्मचारीले दत्तचित भएर सेवा प्रवाह गरेका छन् भन्ने अवस्था छ जस्तो त लाग्दैन । तथापि निजामती सेवा खत्तमै भयो अरूले राम्रो गरेका छन् भन्ने पनि होइन । निजामती सेवाले गरेका महत्त्वपूर्ण काम पनि छन् । मुलकलाई संकट भएको अवस्थामा निजामती प्रशासनले हेन्डल गरेको अवस्था पनि छ । लामो समय देशलाई अस्थिरताबाट जोगाउन सक्षम भएको क्षेत्र पनि हो निजामती सेवा । सुधारको आवश्यकता जुनै क्षेत्रमा पनि हुन्छ । कमी–कमजोरीलाई सुधार गर्दै भोलिका दिनमा अगाडि बढ्नुपर्ने हुन्छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
निजामती सेवामा रहेर काम गर्न पाउँदा आफूलाई एकदम गर्व लागेको छ । निजामती सेवा मुलुकको मियोका रूपमा छ । निजामती सेवाभन्दा अरू सार्वजनिक सेवा छ भन्ने छैन । यसको मतलब म मियोका रूपमा छु, यो क्षेत्र सबै चिजले सम्पन्न छ भन्न चाहन्नँ । यो क्षेत्रलाई सिस्टममा ल्याउन जरुरी छ । त्यसकारण सिस्टमबाटै पुरस्कृत हुने, दण्डित हुने, वृत्तिविकास हुने प्रणालीको विकास जब हामीले गर्दैनौं तबसम्म निजामती सेवामा प्रश्न चिह्न उठिरहन्छ । म यो पेसामा रहेर गर्व गर्छुभन्दा पनि प्रश्न उठ्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
निजामती सेवाका बारेमा तपाईंले जुन कुरा सोध्नुभयो त्यसका लागि धन्यवाद छ । यो स्तम्भ राम्रो लाग्यो । सिद्धान्तहरू जति पनि पढ्न सकिन्छ किताबहरू जति पनि पढ्न पाइन्छ । अनुभव पढेर होइन गरेर आफैँ पाइने कुरा हो । निजामती सेवामा रहेका विभिन्न क्षेत्रका अनुभव संकलन गर्ने स्तम्भ रहेछ खुसी लाग्यो । यसको प्रगति हुँदै जाओस् । निजामती सेवाको सुधार कसरी गर्न सकिन्छ भनेर अलिकति तपाईंहरूले कलम चलाइदिनुभयो भने हुन्थ्यो । हुन त राजनीतिक दलका नेताहरूमा पनि ज्ञान त होला यसबारेमा ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले मधेस प्रदेशको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले वाग्मती प्रदेशको पहाडी जिल्ला रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

कृष्णबहादुर कटुवाल, प्रजिअ, बारा – ‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया