शनिबार, जेठ ५, २०८१

मेरै लागि हो !

अर्जुन पराजुली २०८० असार १६ गते ८:३५

शिक्षकले स्कुलमा नपढाएर
ट्युसनमा पढाएको मेरै लागि हो !
व्यापारीले नसुती नसुती रात बिताएर
भाउ बढाएको मेरै लागि हो !
मेरै लागि हो कर्मचारीले घुस खाएको
मेरै लागि हो – धारामा पानी नआएको !

मेरै लागि हो –
ठेकेदारले बनिनसक्दै भत्किसक्नेगरी पीच बनाएको !
मेरै लागि हो – सडकका खाल्टाहरू
डोजरले पैसा खन्याउँदा पनि भरिन नपाएको !
तुइनको गाउँले
झोलुङ्गे पुल देख्न नपाएको मेरै लागि हो !
भिउटावर
उकालो चढेर डाँडाको टुप्पोमा आएको मेरै लागि हो !
मेरै लागि हो –
मेरा छोराछोरी स्कुल जाने पुलको बजेट काटेर नेताले
आफ्नु खेतमा जाने पुल बनाएको !
मेरै लागि हो –
पशुपतिको जलहरीले एक अरब खाएको १ र, मेरै लागि हो –
ललिता निवासको लालपुर्जा आफ्नु नाममा नबनाई सुखै नपाएको !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया