आइसिसी विश्वकप छनोटको प्लेअफमा नेपाल युएईसँग भिड्दै

काठमाडौं । आइसिसी विश्वकप छनोट-२०२३ अन्तर्गतको प्लेअफमा आज आइतबार नेपाल र युएईसँग पुन एक पटक आमनेसामने हुँदैछन् । यो प्रतिस्पर्धाको विजेताले सातौँ स्थानका लागि प्रयास गर्नेछ ।
यो खेल आज आइतबार दिउँसो १२ः ४५ मा जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । सुपर सिक्स यात्राबाट बाहिरिएका नेपाल र युएईका लागि यो खेल प्रतिष्ठा तथा वरियताको लडाइँ हुनेछ ।
गएको शुक्रवार भएको अर्को प्लेअफको विजेता आयरल्यान्ड र आजको विजेताबिच सातौँ स्थानका लागि प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए बाट ४ खेलमा १ मा जित र ३ मा हारसहित चौथो स्थानमा रहेर प्लेअफ खेल्न लागेको हो ।
यसै गरी युएई समूह बीका चार वटै खेलमा पराजयको सामना गर्दै प्लेअफमा पुगेको हो ।
नेपाल र युएईको विगत
नेपालले दुई महिना अघि टियु क्रिकेट मैदानमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको थियो भने विश्वकप छनोट अघिको वार्मअप खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो ।
नेपाल र युएईबिच ओडिआईमा कुल १४ खेल भएको छ । जसमा नेपाल ८ खेलमा विजयी तथा ६ खेलमा पराजित भएको छ । आफ्नो ओडिआई इतिहासमा नेपाल सबैभन्दा बढी खेल नै युएईसँग खेलेको छ । नेपालले रोहित पौडेल कप्तानीमा युएईविरुद्ध आइसिसी विश्वकप लिग–२ मा चार र प्रिमियर कपको फाइनलमा गरी पाँच खेल खेलेको छ ।
रोहितको कप्तानीमा नेपालले युएईविरुद्ध ४ मा जित र १ मा हार व्यहोरेको छ । नेपालले पछिल्लो पटक युएईसँग २ मार्चमा विश्वकप लिग २ मा नै उसकै मैदानमा ६८ रनले पराजित भएको थियो । त्यसपछि भने नेपालले युएईमाथि सहज जित हात पार्दै आएको छ ।
दुबई इन्टरनेशल मैदानमा ४२ रनले हराउँदा टियुमा १ सय ७७ रन, डकवर्थ लेविस पद्धतिको आधारमा ९ रन र ७ विकेटले हराएको थियो ।







प्रतिक्रिया