ललितपुरको ऐतिहासिक अदालत भवन पुनः निर्माणको प्रतीक्षामा

ललितपुर । ललितपुरको पाटन म्युजियमको छेउमा अदालत भवन नामको एउटा ऐतिहासिक भवन छ । घाँसले ढपक्क ढाकेको उक्त भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरिरहेको छ ।
राणाकालीन संरचनाको अदालत भवनको अवस्था निकै नाजुक छ । सबै ढोका अहिले बन्द अवस्थामा छन् ।
ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा क्षेत्रमा अवस्थित छ । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको सो भवनसहित कतिपय सम्पदा पुनःनिर्माण हुँदैछन् । ऐतिहासिक अदालत भनवको नामले चिनिने जीर्ण अवस्थामा रहेको उक्त भवन पुनःनिर्माणको काम अझै सुरु नहुँदा दिन प्रतिदिन जीर्ण देखिदै गएको हो ।
जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी शारदा शिवाकोटीका अनुसार उक्त भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने प्रक्रियामा छ ।
उनले भने, ‘ऐतिहासिक अदालत भवनको पुनःनिर्माण भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । वि.सं १९९०को भूकम्प अगाडिको सो भवन तीन तलाको रहेको देखिएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको छ ।’
माटोको जोडाइमा इँटाद्वारा निर्मित ऐतिहासिक भवनलाई २०७२ सालको भूकम्पले थप क्षति पुर्याएको थियो । भूकम्पपछि उक्त भवन जस्तै अन्य राणाकालीन दरबारका संरचना पनि पुनःनिर्माण भएका छैनन् । अहिले सो भवन पनि संरक्षणको अभावले भत्किने जोखिममा छ ।
सत्यमोहन जोशी मार्गमा रहेको उक्त भवनको एउटा कोठामा इलाका हुलाक कार्यालय छ । ‘पञ्चायतकालमै अदालतको भवनमा जिल्ला हुलाक कार्यालय रहेको र उक्त कार्यालय आफ्नै भवनमा सरेपछि अहिले त्यहाँ इलाका हुलाक कार्यालय रहेको इलाका हुलाक कार्यालयकी कर्मचारी लिला खत्रीले जानकारी दिइन् ।
उनले भनिन्, ‘मैले हुलाक कार्यालयमा जागिर खाएको करिब २८ वर्ष पुग्यो । अब यो भवन भत्काएर पुनः निर्माणको प्रक्रियामा छ भन्ने सुनेको छु । हाम्रो इलाका हुलाक कार्यालय कहाँ सर्छ थाह छैन ।’
उक्त भवनलाई नेपालको प्राचीन स्मारक संरक्षण ऐन २०१३ /(१९५६)अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित सम्पदाको संरक्षणको नाममा पुनःनिर्माणका लागि पुरातत्व विभागको आधारभूत निर्देशिकामा आधारित रहेर निर्माण गरिनेछ । भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनःनिर्माणका लागि प्रस्ताव गरिएको पुरात्व विभागको भनाइ छ ।
प्रतिक्रिया