मंगलबार, असार २४, २०८२

साफ च्याम्पियनसिपमा नेपाललाई फेयर प्ले अवार्ड

नेपालखोज २०८० असार २० गते १९:५९

काठमाडौं । भारतमा मंगलबार सम्पन्न चौधौं साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । भारत र कुवेतबीचको फाइनल सन्चालन गरेका नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड ग्रहण गरेका थिए ।

साफ च्याम्पियनसिपमा अघिल्लो संस्करणको उपविजेता रहेको नेपाली टोली यसपटक भने समूह चरणबाटै बाहिरिएको थियो । कुवेतसँगको पहिलो खेल ३–१, भारतसँगको दोस्रो खेल २–० ले गुमाएको नेपालले अन्तिम खेलमा भने पाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी घोषित भए । ५ गोल गरेका सुनिल च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता समेत रहे । बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले गोल्डेन ग्लोभ अवार्ड प्राप्त गरे ।

सडन डेथमा कुवेतलाई ५–४ ले हराउँदै भारत नवौं चरण च्याम्पियन बनेको थियो । बैंगलुरु रंगशालामा निर्धारित समय र थप समय १–१ को बराबरीपछि टाइब्रेकर भएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि सडन डेथमा भारतले बाजी मारेको थियो ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेवननको सहभागिता रहेको थियो । लेवननलाई सेमिफाइनलमा भारतले टाइब्रेकरमा हराएको थियो । कुवेत र भारत एकै समूहबाट अघि बढ्दै फाइनल पुगेको थिए ।

फिफाको प्रतिबन्धका कारण यसपटक श्रीलंकाको सहभागिता थिएन । त्यसबाहेक दक्षिण एसियाका ६ राष्ट्र नेपाल, आयोजक भारत, बंगलादेश, पाकिस्तान, भुटान र माल्दिभ्स तथा कुवेत र लेवनान गरि ८ टोलीको सहभागिता थियो ।

भारतले यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ च्याम्पियनसिप जितेको थियो । साफ च्याम्पियनसिपको चौधौं संस्करण समाप्तीमा भारतले सबैभन्दा बढी ९, माल्दिभ्सले २ तथा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक उपाधि जितेका छन् । -hamrokhelkud

प्रतिक्रिया