शुक्रबार, वैशाख २८, २०८१

महाभारत कालका चार पक्षी ऋषिहरूको कथा

हरिबिनोद अधिकारी २०८० असार २३ गते ८:५७
हरिबिनोद अधिकारी

पिंगाक्ष, विवोध, सुपुत्र र सुमुख चारओटा पक्षीहरूको जन्म कसरी भयो र यी कसरी भूत— वर्तमानका ज्ञाता र भविष्यद्रष्टा विद्वान भए ? विद्वान पनि र कुन श्रेणीका ठहरिए भने वेदव्यासका प्रिय शिष्य जैमिनिसमेतलाई व्यासका व्याख्यामा लागेको सन्देहको समाधान गर्ने क्षमता र जैमिनिको मनमा उठेको सन्देहको गाँठो समेत फुकाउन सक्ने क्षमता देखिएको थियो ।

सर्वद्रष्टा चिरञ्जीवी महर्षि मार्कण्डेयले पत्याएका विद्वान थिए ती चार पक्षीहरू । एकातिर तिर्यकयोनि, अर्कोतिर परमात्माको ज्ञान र ध्यान । काम, क्रोध, लोभ, मोह र मात्सर्यभन्दा धेरै टाढा रहेर पनि सांसारिक अवस्थाको सम्पूर्ण ज्ञान राख्दै, मानवीय मूल्य र नैतिकताको व्याख्या गर्न सक्ने, महर्षि मार्कण्डेयलाई समेत ज्ञान प्रसारमा सहयोग गर्न सक्ने विद्वान चराहरूको जन्मका बारेमा जान्न ऋषि जैमिनिलाई चासो लाग्यो ।

जब महामुनि मार्कण्डेयले आफू अहिले जैमिनिका जिज्ञासाको उत्तर दिन नभ्याउने र फुर्सद नभएकोले विन्ध्य पर्वतमा चारआोटा पक्षीसमक्ष जाने निर्देशन दिएपछि जैमिनिलाई उनीहरूका बारेमा यथार्थ जान्ने र उनीहरूले दिने ज्ञान सही नै हुने कुरामा विश्वस्त हुन मनलागेको देखियो । विन्ध्य पर्वतको शिखरमाथि अवस्थित हिमाली गुफामा रहेका चारओटा पक्षीहरूको जन्म विवरण, उनीहरूले जैमिनि ऋषिलाई महाभारतका विषयमा रहेका सन्देहहरू र हरिश्चन्द्रोपाख्यानको वर्णन नै मार्कण्डेय पुराणको प्रारम्भिक भागमा पाइन्छ।

मार्कण्डेय पुराणको रचना तीनस्तरमा भएको देखिन्छ। अध्याय १ देखि ४२सम्मको भाग पक्षीहरूले भनेका छन्, त्यसपछिका वर्णनहरूमा मार्कण्डेय ऋषि र ऋषि कौष्टुकि वक्ता र श्रोताका रुपमा पाइन्छन्। यसै मार्कण्डेय पुराणभित्रै संसार प्रसिद्ध देवी माहात्म्यकौ विश्वभर पाठ गरिने दुर्गा सप्तशती (नेपाली जनजिब्रोमा चण्डी) पर्दछ। यस पुराणमा भुवनकोश, हरिश्चन्द्रोपाख्यान, मदालसा चरित र देवी माहात्म्य मुख्य विषयहरू हुन्।

अष्ट चिरञ्जीवीमध्येका एक चिरञ्जीवी मार्कण्डेय ऋषि मानिसमा हुनसक्ने १८ दोषमध्ये दोषरहित मानिन्छन्। ती १८ दोषहरू हुन् —निद्रा, तन्द्रा, भय, क्रोध, मोह, मद, उन्माद, प्रमाद(घमण्ड),विस्मय, सन्देह, लोभ, असूया (इर्ष्या, डाह), मात्सर्य, कपटता, मिथ्या, नास्तिकता, अगमदर्शिता र अशिक्षा ।

वेदव्यास शिष्य जैमिनिले आफ्ना महाभारतसम्बन्धी सन्देहका केही कारणहरूका बारेमा प्रश्न गर्दा ऋषि मार्कण्डेयले नै वेदशास्त्रार्थ ज्ञानयुक्त, विन्ध्य पर्वतको हिमशिखरको कन्दरामा बास गर्ने चार पक्षीहरू पिंगाक्ष, विवोध, सुपुत्र तथा सुमुखको नाम लिएर, उनीहरूको उपासना गरेर प्रश्न सोधेमा सन्देह समाधान गर्ने सल्लाह दिएपछि जैमिनिले अचम्म मानेर सोध्छन् —हे महामुनि मार्कण्डेय, पक्षी मानिससरह बोलेर कथा वाचन गर्छन् भन्ने नै अचम्मको कुरा सुनियो । फेरि दुर्लभ शास्त्रज्ञान प्राप्त गरेको कुरा झन अचम्मको लाग्यो। चराको योनिमा जन्मेर कसरी यस्तो ज्ञान प्राप्त भयोरु अनि द्रोण पुत्र भन्नुहुन्छ, ती चार पक्षीहरूका पिता कसरी ऋषि द्रोण हुन पुगेरु ती ऋषि द्रोण को हुन्रु र महात्मा पक्षीहरूमा धर्म ज्ञान कसरी प्राप्त भयोरु

जिज्ञासु ऋषि शार्दूल जैमिनिलाई महामुनि मार्कण्डेयले जबाफ दिए—पहिल्यै नन्दनवनमा देवराज इन्द्र, देवर्षि नारद र अप्सराहरूको एउटा भेटघाटको अद्भूत घटनासँग यी चार पक्षीहरूको उत्पत्तिको  रहस्यमय कथा जोडिएको छ। एकदिन नन्दनवनमा अचानक देवर्षि नारद आइपुगेका थिए। त्यहाँ नारद आउँदा ती अप्सराहरू सबैले देवराज इन्द्रलाई घेरेर बसेका थिए र उनकै मुखमण्डलमा हेरेर मोहित हुँदै  हाँसिरहेका थिए ।

नारद आएको देखेर देवराज जुरुक्क उठेर नारदको सादर अभिवादन गरे र सम्मानपूर्वक स्थान ग्रहण गराए। देवराज उठेर सम्मान गरेको देखेर अप्सराहरूले पनि देवर्षिको सम्मान गरेर अभिवादन गरे। अनि देवराजले देवर्षि नारदलाई अप्सराहरूको गीत, संगीत सुनेर र नाचगान हेरेर मनोरञ्जन गर्न आमन्त्रित गरे। इन्द्रको सादर आमन्त्रणलाई देवर्षिले सोचेर, मनन गरेर भने —हे नृत्यांगनाहरू, तिमीहरूमध्ये जो सबैभन्दा रुपवती, गुणवती र उदारमनाका गुणहरू भएकी हौ, त्यसैले मलाई गीत गाएर, संगीत बजाएर र नृत्य गरेर देखाऊ ।

रुपवती, गुणवतीबाहेक अरुलाई  नृत्यकलाको सिद्धि प्राप्त भएको हुँदैन । हाउभाउ, कम्मर भाँचेर कटाक्ष विक्षेपादि युक्त नृत्यलाई मात्र नृत्यको रुपमा गणना गरिन्छ, अरु नृत्य त वृथा हुन्छ। जो योग्य छ, उसले मात्र नृत्य गरेर देखाओस्, नत्र मनोरञ्जन भन्ने पनि बेकारको मानिन्छ। यसरी पारंगत नृत्यांगनाले मात्र मेरा सन्मुख नृत्य गरोस्।

अब अप्सराहरूमा भनाभन हुन लाग्यो, म राम्री छु, म योग्य छु र ममात्र नृत्यका लागि सक्षम छु। देवर्षिलाई नृत्यमार्फत् सन्तुष्ट पार्न ममात्र सक्षम हुनेछु भनेर मेनका, तिलोत्तमा, उर्वशी, घृताची, मिश्रकेशी, रम्भा आदि अप्सराहरूमा विवाद बढ्न थाल्यो। अनि को गुणवती, रुपवती, उदारमना भएर हाउभाउ कटाक्षपूर्वक नृत्य गर्न जान्ने

भन्ने निधो हुन सकेको थिएन। त्यही बेलामा पाकशासन अर्थात् इन्द्रले भने —यसको निर्णय पनि देवर्षिले गर्नुहोस् कि भएका यति धेरै अप्सराहरूमध्ये कुनचाहिँ अप्सरा देवर्षिको मापदण्डभित्र नृत्य गर्न लायक देखिन्छरु उहाँले नै छान्नुहोस् । अप्सराहरूले जब नारदलाई अनुरोध गरे, हामीमध्ये कुनचाहिँ नृत्यका लागि योग्य हुँला, उसैले हजुरको मनोरञ्जन गरुँला ।

नारदले पनि ठ्याक्कै यही  अप्सरा नै भनेनन् तर योग्यताको मापदण्ड तयार गर्नका लागि एउटा काम लगाउन चाहे र भने —तिमीहरूमध्ये जो हिमाली गुफामा गएर महर्षि दुर्बासाको तपस्या भंग गरेर मोहित पार्नेछ, त्यही नै सर्वश्रेष्ठ अप्सराको रुपमा गुणशालिनीको रुपमा मैले गणना गर्नेछु र उसैलाई अप्सरामध्ये असल नृत्यांगना मान्नेछु र उसैबाट सम्पादन गरिने नृत्य हेर्नेछु।

ऋषि दुर्वासाको तपस्या भंग गर्न जाने भन्ने बित्तिकै सबै अप्सराहरू भयभीत भए। अघिसम्मको रमाइलो वातावरण अचानक भयपूर्ण देखियो। सबै ऋषि दुर्वासाको नाम सुन्ने बित्तिकै कम्पायमान भए र भन्न थाले —हामी त ऋषिको तपभंग गर्न र मोहित पार्न जाने आँट गर्दैनौ ।

तर त्यसमध्येकी एकजना वपु नामकी अप्सराले भने देवर्षिको आशीर्वाद पाउने र देवर्षिलाई नृत्य देखाउनका लागि सर्वश्रेष्ठ अप्सरा हुने लोभले ऋषि दुर्वासा तपस्यारत हिमाली शिखरमा जाने र उनलाई मोहित पार्ने कुराको जोखिम उठाउने हिम्मत गर्न चाहिन् र भनिन् —हे देवर्षि, हे देवराज इन्द्र, मलाई त्यता जानका लागि तत्काल अनुमति दिनुहोस्, आज्ञा दिनुहोस् किनभने मैले पहिले पनि धेरै मुनिहरूको तपस्यामा उनीहरूलाई मोहित पारेर उनीहरूको तपभंग गरिसकेकी छु र अहिले पनि दुर्वासा ऋषिको तपस्यास्थलमा पुगेर उनलाई कामवाणले आघात पार्दै, मनरुप लगाम लगाएर, उनका इन्द्रियरुपी घोडाहरूलाई उत्मार्गगामी गराउँदै देहरूपी रथको बुद्धिरुपलाई सारथिविहीन बनाउने छु ।

यदि ब्रह्मा, विष्णु र महादेव नै किन नहुन्, म यसैबखत गएर उनको अन्तरहृदयमा कामवाणले जर्जर पार्दै उनलाई मोहित पार्नेछु र कामको बशमा ल्याउने छु। त्यसपछि उनको तपस्यालाई ध्वस्त पार्दै  लाई मोहित पारेर उनको तपभंग गराउन म लालायित छु । म  ऋषि दुर्वासा जहाँ तपस्यारत छन्, त्यो हिमाली टाकुरामा जानेछु, ऋषिको तपस्यारत ध्यान भंग गराएर उनलाई मोहित पार्नेछु ।

आफूलाई सर्वश्रेष्ठ अप्सरा र सर्वश्रेष्ठ नृत्याङ्गना साबित गराउन आफ्ना कुरा देवराज र देवर्षिसमक्ष राख्दै वपु अप्सरा तत्कालै हिमाली शिखरतर्फ दोडिहालिन् । तत्कालै हिमाली शिखरमा पुगेर दुर्वासा ऋषिको तपस्यास्थल पत्ता लगाएर त्यो वपु अप्सराले हेर्छे त त्यो हिमाली भेगमा रहेका हिँस्रक जनावरहरूसमेत ऋषिको तपस्याको प्रभावले शान्तचित्त रहेका थिए । सबै प्राणीहरू आपसमा मिलेर बसेका देखिन्थे ।

दुर्वासा ऋषिको तपस्यास्थलभन्दा एक कोश वरै वपुले आफ्नो स्थान बनाई र त्यो निर्जन हिमाली भेगमा कोइलीको कण्ठले जस्तै गरी मिठो स्वरमा गीत गाएर दुर्वासाको ध्यान आफूतिर तान्न थाली । साँच्चै मिठो स्वर थियो कोकिल कण्ठी वपुको । नभन्दै ध्यानरत ऋषिको ध्यान त्यो निर्जन, वन नभएको ठाउँमा पनि कोइलीको जस्तो सुरिलो आवाजमा गाएको गीत कता हो, आवाज पछ्याउँदै, आवाजले तानेजस्तै गरी, गीतको आवाज आएतिर ऋषि गए ।

देख्छन् त सर्वाङ्गसुन्दरी एक कामिनी अप्सरालाई देखे,  एकाग्रचित्तले आफूलाई मोहित पारेर तपस्या भंग गराउने आएकी कुरा ध्यानलाई आफ्नो वशमा पारेका ऋषिले नबुझ्ने कुरै भएन र बुझे मेरो ध्यान भंग गराएर मलाई कर्तव्यच्यूत गराउन आएकी रहिछे यो अप्सरा वपु भन्ने कुरा। इन्द्रिय ग्रामलाई संयमित गराउँदै तर ऋषि दुर्वासाको स्वभावअनुसार नै उनी झोक्किए, रिसाए र क्रोधले थर्थराउँदै भन्न थाले —हे मदोन्मत्त खेचरी, हे दुर्बुद्धि, र्तैले मेरो यत्रो दुखोपार्जित तपस्या बिघ्नपार्न मोहित पारेर तपस्या भंग गर्न चाहेकी थिइस् नि, यसकारण मेरो क्रोधले कलुषित भएर तेरो यो सर्वाङ्गसुन्दरी रुप मासिएर तत्कालै पक्षीकुलमा (तिर्यकयोनिमा) जन्म होस् ।

हे अप्सराधम खेचरी, तैँले १६ वर्षसम्म चराको योनिमा बिताउनु परोस्, तेरा चारओटा छोराहरू जन्मनेछन् तर ती छोराहरूको मायाप्रीति भने  पाउने छैनस्, तैँले शस्त्रको आघातबाट मर्नुपर्नेछ अनिमात्र तैँले ममाथि गरेको पाप समाप्त हुनेछ र फेरि स्वर्गमा आउन पाउनेछेस्।  यसका कुनै प्रश्न गर्न पाउने छैनन् र मेरातर्फबाट कुनै माफी पनि हुनेछैन, श्रापमा कुनै घटाउने काम पनि म गर्नेछैन।

आफ्नो तपस्या भंग गरेर मोहित पार्न आएकी चञ्चल, कंकणधारिणी मनोरमा, सर्वाङ्गसुन्दरी अप्सरा वपुलाई यत्ति श्राप दिएपछि ब्राह्मण श्रेष्ठ ऋषि दुर्वासा त्यहाँबाटै पृथ्वी छोडेर प्रसिद्ध गुणयुक्त आकाशगंगातर्फ लागे ।

मार्कण्डेय ऋषि, व्यासशिष्य जैमिनिलाई भन्छन् —अब सुन जैमिनि, ती चारओटा चराहरूको जन्मको कथा। सबै पक्षीहरूका राजा गरुणजी अरिष्टनेमीका छोरा भए, गरुडका छोरा सम्पाति थिए, सम्पातिका छोरा सुपाश्र्व वायुको गतिमा आकाशमा विचरण गर्ने गर्थे, सुपाश्र्वका छोरा कुन्ति, कुन्तिका छोरा प्रलोलुप भए र उनका दुईवटा छोराहरू थिए कंक र कन्धर । एकदिन कंक घुम्नजाँदा हिमाली क्षेत्रमा यक्षराज कुवेरका अनुचर विद्युद्रूपसँग विवाद हुँदा त्यो राक्षसले महाबली कंकको हत्या गर्‍यो। त्यो थाहा पाएपछि महावीर कन्धर पक्षीराजले तत्कालै गएर विद्युद्रूपलाई युद्धका लागि चुनौती दिँदै भीषण युद्ध गरे र त्यो अराजक राक्षसको हत्या गरे ।

हत्या गरेपछि विद्युदू्रपकी पत्नी जो मेनका अप्सराकी छोरी थिइन् मदनिका, उनले आफूलाई नमार्न अनुरोध गरिन् र बरु कन्धरलाई आफू पति मान्न तयार रहेको बताइन् र भनिन्, म मेनका अप्सराकी छोरी हुँ, आफूलाई आवश्यक पर्ने जुनसुकै रुपमा, इच्छानुसारको रुप धारण गर्न सक्छु, त्यसैले म पक्षीको रुप धारण गरेर रानीको रुपमा कन्धरसँग भोगविलास गर्न सक्छु र सँग रहन पनि सक्छु। अनि कन्धरले पनि उनलाई माफी दिँदै पत्नीको रुपमा स्वीकार गर्‍यो । त्यसपछि मदनिका र क्रन्धरको जीवन सुखपूर्वक बितिरहेको थियो ।

त्यही समयमा एउटा छोरीको जन्म भयो कन्धर र मदनिकाबाट जसको नाम कन्धरले ताक्र्षी राख्यो। त्यही श्रापित वपु अप्सराले ताक्र्षीको रुपमा मदनिकाको गर्भबाट जन्म लिएकी हो। मदनिका पनि अप्सरा नै हुन् मेनकाकी छोरी। अनि कन्धरले आफ्नी प्यारी र सुन्दरी छोरीका लागि ऋषि मन्दपालका कान्छा छोरा द्रोणसँग ताक्र्षीको विवाह गरायो। त्यही ताक्र्षीले ऋषि द्रोणबाट गर्भ लिएकी थिई ।

गर्भिणी ताक्र्षी एकदिन महाभारतको युद्ध हेर्न भनेर आकाशमार्गबाट जाँदै थिई, त्यो समयमा महाभारतको युद्धमा बाणहरूको वर्षा भएको देखिन्थ्यो। आकाशबाट त्यो दृश्य हेरिरहेकी ताक्र्षीको पेटमा अचानक अर्जुनले कसैलाई हानेका तिरले उधिन्यो र उसका चारओटा अण्डा भुइँमा खसे आकाशबाट असिना बर्सेजस्तै गरी ।

त्यसरी आकाशबाट फुरौला झरेजस्तै गरी झरेका चारओटा अण्डा युद्धस्थलमा झर्दा, ताक्र्षीको उडाइको उँचाइबाट रुवाजस्तै गरी सररर झरेका अण्डाहरू पृथ्वीमा बज्रँदा त्यहाँ धेरै मानिसहरू, घोडाहरू, हात्तीहरू मरेर लासैलासको डुँगुर थियो । त्यहीबेलामा अण्डा पृथ्वीमा आइपुग्नु, अनि राजा भगदत्तको सुप्रतीक नामको गजराज, हात्ती वाणहरूले छिन्नभिन्न भएर लडेको बेलामा उसको घण्टीले अण्डा छोपिनु एकैपटक भयो ।

विधिको विधान थियो, अण्डा ताक्र्षीको पेटमा वाणले उधिनिएर झर्नु अनि अण्डा झर्ने बित्तिकै घण्टीको घेराभित्र सुरक्षित रहने गरी गजराज सुप्रतीक त्यही ठाउँमा लड्नु र मर्नु अनि उसको घण्टी चुँडिएर अण्डालाई छोप्नु, वातावरण अचानक बन्नु पनि।

अप्सरा न हुन्, जब अर्जुनको वाणले उनको पेट उधिनियो, उनको चोला ताक्र्षीको रुपबाट, चरीको रुपबाट श्रापमुक्त भएर  स्वर्गतिर वपुको रुपमा गई। यता ती अण्डाहरू घण्टीभित्र उकुसमुकुसिएर बसे। आमाले बचेरा कोरल्ने काम भएन, विधाताले नै उनीहरूको जीवन बचाएका थिए ।

युद्धको विभीषिकाको ज्वरो समाप्त भएको थियो र शरशय्यामा सुतेर आफ्नो इच्छानुसारको मृत्यु पर्खेर बसेका भीष्म पितामहसँग राजनीति सिक्न, ज्ञान, धर्मशास्त्र, नीतिशास्त्र, राजाका कर्तव्य सिक्न, उपदेश लिन आएका महाराज युधिष्ठिर र भीष्मका वार्तालाप ती बचेराहरूले घण्टीभित्रैबाट सुने किनभने उनीहरूलाई त्यो घण्टीबाट बाहिर निकाल्न कोही पनि आएको थिएन, कसैलाई पनि त्यो घटना थाहा पनि थिएन नि । तर अण्डज ताक्र्षी पुत्रहरूलाई आफ्नो पूर्वजन्मको भने ज्ञान थियो किनभने उनीहरू पनि विपुलस्वान मुनिका दुई छोराहरू थिए, ऋषि सुकृष र ऋषि तुम्बुरु ।

ऋषि सुकृषका चारओटा छोराहरूले पिताको आदेश मानेर गिद्धको आहार हुन नमान्दा पिताजीले चराको योनिका जन्मने श्राप दिए। पछि सुकृष ऋषिलाई परीक्षा लिन देवराज इन्द्रले बृद्ध गिद्धको रुपले मानवमासुको आहारा मागेको बेलामा छोराहरूले गिद्धको आहारा हुन नमानेकाले श्राप दिएका थिए, पछि इन्द्रले आफ्नो परीक्षा लिएको थाहा पाएपछि सुकृषले छोराहरूको श्रापमा पश्चाताप गरे र पूर्वजन्मको ज्ञान स्मृतिका रहने गरी श्राप घटाए।

महाभारतको युद्धपछि महाराज युधिष्ठिरसँग महर्षि शमीक पनि भीष्मको दर्शन गर्न आएका थिए र उनले शरशय्या नजिक कतै बचेराहरूको चाइँचाइँचुइँचुइँ सुने र आवाजको पछिलाग्दा घण्टीभित्र चारओटा जीवित चराहरू देखे तर ती आवाज निकालेर बोल्न सक्थे ।

तिनलाई शमीक ऋषिले आफ्नो आश्रममा लगेर बोल्न सिकाए, शास्त्रवेदवेदाङ्ग पढाए, यज्ञयज्ञादि गर्न सिकाए। चारैओटाका नाम राखे पिंगाक्ष, विवोध, सुपुत्र र सुमुख। ती चारैओटा पक्षीहरूमा अघिल्लो जन्मको ज्ञानमाथि अहिलेको सर्वज्ञान, भविष्यद्रष्टा, भूतकाल, वर्तमानकाल र भविष्यका बारेका जानकारी राख्नसक्ने क्षमता वृद्धि हुँदै गयो। वेदको शुद्ध उच्चारणबाट यज्ञ कर्मादि गर्नका लागि ऋषि शमीकको आश्रमका अन्य शिष्यसरह थिए

भने अझ उनीहरूमा ऋषि द्रोण, पक्षीराज गरुडका सन्तान कन्धर पक्षीको क्षमता, मदनिकाको गुणसँग अप्सरा वपुका  सबै गुणहरू विद्यमान थिए र विपुलस्वान मुनिका पुत्र सुकृषका छोराको रुपमा अघिल्लो योनिका सबै गुणहरूले ती पक्षीमुनिहरू सर्वगुणसम्पन्न विलक्षण क्षमताका धनी भए।

महर्षि मार्कण्डेयले भने —हे ऋषिहरूमा श्रेष्ठ जैमिनि, ती पक्षीहरूलाई शमीक ऋषिले आफ्ना पुत्र ऋषि शृङ्ग सरह बनाएपछि ती पक्षीकुमारहरूले आफ्नो पूर्वजन्मको कथा पनि भने, हजुरको पथ प्रदर्शनमा हामीले जे जान्यौँ, जे सिक्यौँ, अब यसबाट संसारका अन्य जिज्ञासुहरूलाई बाटो  देखाउने छौँ र हामीले गर्ने कर्तव्यहरूको बाटो देखाउनु होस् महामुनि भनेर ऋषि शमीकसँग प्रार्थना गरेपछि महर्षि शमीकले पनि आफूलाई त लागेको थियो, पक्कै यी श्रापित ऋषिकुमारहरू या देवकुमारहरू हुनुपर्छ ।

त्यसैले ती श्रापित ऋषिकुमाारहरू जो अहिले चारैओटा अण्डज खगकुमारहरूका रुपमा थिए, तिनलाई विन्ध्यपर्वतको  हिमालयको कन्दरामा गएर मुनिजस्तै तपस्वीको जीवन यापन गर्न विन्ध्य पर्वतको शिखरमा स्थित हिमाली गुफामा जहाँ हिमालयको निर्मल जलमा स्नान गर्न र पिउन पाइन्छ।  त्यहाँ गएर बस भनेपछि तिनै पक्षीहरूमा रहेको ज्ञानभण्डारले तिम्रो पनि सन्देह पूरा हुने मैले विश्वास लिएको छु र म तिमीलाई तिनै समक्ष पठाउने लागेको हुँ ।

INS

प्रतिक्रिया