शुक्रबार, वैशाख २८, २०८१

सम्झना हरिभक्त कटुवालको

सुनील उलक २०८० असार २३ गते ९:००

केही दिन अगाडि स्व. हरिभक्त कटुवालको ७९‍औं जन्म जयन्ती थियो । उनको निरस जीन्दगीको ब्यथा उनका हर कविताहरुमा भेट्न सकिन्छ । स्व. हरिभक्त कटुवाललाई एकै पटक छ्वास्स मात्र देख्न पाएको थिएँ ‘सडक कविता क्रान्ति’को समय । भानु पत्रिकाको सडक कविता क्रान्ति विशेषांक अनुसार त्यो दिन २०३६ सालको साउन ३२ गते थियो ।

आसामको डिब्रुगढ जिल्लाको बर्डविल भन्ने ठाँउको ख्वाङ गेर्गेरी गाँउमा बि।सं। १९९२ असार १८ गते जन्मनु भएका हरिभक्तलाई ९ महिनाको हुँदा बाबाले काखी च्यापेर बोगिविल ल्याए । यस पछि उनको दुखको दिन पनि त्यहि शुरु भयो ।त्यसपछि दुख पिडा र अभावमा जिइरहे हरिभक्त ।

२०२४ मा पहिलो पटक नेपाल आए । त्यसको लगत्तै २६ सालमा नेपाल बसाइ सरे । नेपाल आएर पनि उनले चाहेको खुशी पाएनन् । त्यसैले रक्सीमा जीवन डुवाइरहे । नारायण गोपालको स्वरमा गीतहरु पनि बजे । नाम कमाए तर दाम कमाएनन् । हतास र निरश जीन्दगी जिइरहेका उनि फर्केर आएनन् ।

एकदिन बिरक्त लाएर चुरोटको डब्बामा केही शब्द कोरेर फेकिएको एउटा कागज कमलादीको एउटा कुनामा दिपक जंगमले भेटे पछि त्यसैमा संगीत भरिदिए । त्यसपछि प्रख्यात गायक स्वर सम्राट नारायण गोपालले स्वर दिए । गीत निकै चल्यो । गीत थियो

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ ।
मेरो जिन्दगीमा सधैं यो उदासी
सकेकै छु जिउन कहीले नहाँसी
मेरो चाहना हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ।
कतै बिरानीमा हराएँ भने म
कतै बेहोसीमा कराएँ भने म
मेरो प्राप्ती त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
अँध्यारोमै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ॥

आसाम फर्किएको केही समय पछि २०३७ सालको भदौ २५ मा केवल ४५ वर्षको उमेरमा नै मृत्यु भयो । चौकिढिङको मसानघाटमा अन्तिम संस्कार गरियो । नेपाल तथा आसाममा यति धेरै नाम कमाएका हरिभक्त कटुवालको अन्तिम क्षण श्रद्धाञ्जली दिन मलामी केवल १३ जना मात्र पुगेका थिए । दाम त जीवनमा कहिल्यै कमाएनन् । सधै अभावमा नै जिइरहे । सबैले नाम त कमाए हरिभक्तले भन्थे तर पनि अन्तिम समय कोहीले सम्झेनन् । केवल नजिकका आफन्तको बिचमा दाहसंस्कार भयो ।

प्रतिक्रिया