सात वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) वीच सात वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।
स्थानीय÷प्रदेश सरकार र सरोकारवाला संघ÷संस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने गरी भएको उक्त सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकोतर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।
सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवद्र्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवद्र्धनलगायत विषयहरुमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने बताए ।
उनले प्रदेश/स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजिवी, उद्यमी/व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचुर संभावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा राखिएको बताए ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल के.सी., डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपालीज एक्सपोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढााथोकी, फेडेरेशन अफ कम्प्यूटर एसोसिएसन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलो पटक आयोजना हुन लागेकोले स्थानीय र प्रदेश सरकारहरुसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यवसायीक परियोजनाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।
अर्थतन्त्रले भोगिरहेका वर्तमान चुनौती र समाधानका लागि नेपाल सरकार तथा मातहतका निकायहरुमा सुझाव पेश गर्ने, वित्तीय क्षेत्रको सुधार तथा स्तरोन्नति, ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन पुग्ने गरी प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलनले भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
दुई दर्जन भन्दा बढि सरोकारवाला संस्थाहरुको साझेदारिता रहने उक्त व्यवसाय शिखर सम्मेलनहरु आगामी आश्विन दोस्रो हप्ताबाट प्रारम्भ गरी माघ मसान्तसम्म ७ वटै प्रदेशमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढि वक्ता र करिव ३०० जना उद्यमी/व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहने छ ।
प्रतिक्रिया