शनिबार, जेठ ५, २०८१

विपद्का बेला बाल सुरक्षा र सिकाइ

नेपालखोज २०८० असार २५ गते १०:२६

कुनै पनि कारणले विपद् उत्पन्न गर्न सक्ने वा विपद् हुन सक्ने सम्भावना भएको अवस्थालाई प्रकोप (hazard) भनिन्छ । जस्तै, एउटा भिरालो डाँडोको टुप्पामा एउटा ठुलो चट्टान छ ।

त्यो जुनसुकै बेलामा खस्न सक्छ । यदि त्यो चट्टान खसिहाल्यो भने त्यसको बाटोमा पर्ने सबै कुराहरू तहसनहस हुन्छ । यस्तो अवस्थालाई नै प्रकोप भनिन्छ ।

प्रकोपको घटनाबाट हानिनोक्सानी वा क्षति हुन सक्ने अवस्थालाई जोखिम भनिन्छ । प्रकोप र जोखिमको सम्मिश्रणका कारण अपर्झट आइपर्ने प्रतिकूल असर वा क्षति भएको घटना विपद् (hazard) हो ।

समाज वा समुदायले आफ्नै बलबुता र स्रोतसाधनको प्रयोग गरी सामना गर्न नसक्ने गम्भीर प्रकृतिका प्रकोपजन्य घटना र त्यो घटनाका कारणबाट सामान्य सामाजिक प्रक्रिया अवरुद्ध भई पुग्न जाने मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति नै विपद् हो ।

यस्तो घटनाको प्रतिकूल प्रभावबाट पार पाउन समुदायको आन्तरिक क्षमताले धान्न नसक्ने अवस्थालाई मात्र विपद् भनिन्छ । अर्को शब्दमा अचानक कुनै अप्रत्याशित घटनाबाट धेरै जनधनको क्षति भएर सामाजिक जनजीवन अस्तव्यस्त हुने र प्रभावित समुदाय आफ्नै स्रोतसाधनबाट पार पाउन नसक्ने स्थितिलाई विपद् भनिन्छ । 

विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । प्राकृतिक विपद् जस्तै: बाढी, पहिरो, हुरी बतास, भुईँचालो, भोकमरी, महामारी आदि हुन् । यस्तो स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला, बालबालिकाको विशेष स्याहार संरक्षण गर्नुपर्दछ ।

बाढी पहिरो आएका बेला बगाउने, डुब्ने, मर्ने, आगलागीमा जल विनियोजन र हृदयाघात हुने, भुईँचालोमा, दौडादौडमा थिचिएर, च्यापिएर ज्यान जाने भएकाले सतर्क भई बचाउ हुने उपाय अपनाउनुपर्दछ । 

मानव सिर्जित विपद् जस्तै: आगलागी, लडाइँ-युद्ध, हडताल, नाकाबन्दी आदि हुन् । त्यसै गरी मानव सिर्जित र प्राकृतिकसहितको अवस्था पनि हुन सक्छ । आपत्काल अचानक र मन्द खालको हुन्छ । अचानक हुने आपत्काल बाढी, पहिरो, भूकम्प आदि हुन् । मन्द खालको विपद् महामारी, भोकमरी, जलवायु प्रदूषण आदि हुन् । 

यस्तो स्थितिमा अपराधीहरूले झुटो आशा, लालच देखाइ प्रलोभनमा पारी आमा, बालबालिकालाई दुर्व्यवहार, शोषण, ओसारपसार गर्न सक्छन् । तसर्थ यस्ता खतराबारे सजग हुनुपर्दछ ।

युनिसेफ नेपाल

प्रतिक्रिया