बुधबार, जेठ २, २०८१

बिपदमा अभिभावकको दायित्व  

नेपालखोज २०८० असार २८ गते ८:५१
  • विपद् अगाडिदेखि नै अभिभावकले आफू र परिवारलाई सुरक्षित राख्न विपद्को पूर्वतयारी गर्नुपर्दछ । व्यक्तिगत रूपमा कोसिस गर्नुका साथै स्थानीय तह तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट हुने विभिन्न क्षमता अभिवृद्धि तालिमबारे सचेत हुनुपर्छ ।
  • विपद्को बेला गर्भवती महिला र प्रारम्भिक उमेरका बालबालिकालाई कहिले पनि एक्लै छाड्नु हुँदैन । उनीहरूलाई भरपर्दो वयस्क स्याहारकर्ता, बालस्याहार वा बालविकास केन्द्र, विद्यालयमा छाड्नुपर्दछ । छाड्नुभन्दा अगाडि शिशुलाई आफ्नो र शिशुको नाम, ठेगाना र फोन नम्बर लेखिएको परिचय कार्ड बालबालिकाका नाडी वा गोलीगाँठामा बाँधी दिनुपर्दछ ।
  • बालबालिका कुरा गर्न थालेपछि आमाबुबाको र आफ्नो नाम, घरको ठेगाना र फोन नम्बर भन्ने र भन्न लगार्ई याद गर्न लगाउनुपर्दछ । भुइँचालो, बाढी पहिरो, युद्धको अवस्थामा आमाबुबाबाट बालबालिका छुट्टिन सक्ने सम्भावना भएको हुँदा घरभित्र र बाहिर सम्भाव्य सुरक्षित ठाउँ पहिलेदेखि नै पहिचान गर्ने र बालबालिकालाई जानकारी गराउनुपर्दछ ।
  • विपद्को बेलामा अपराधीहरूले झुटो आशा, लोभलालच देखाई प्रलोभनमा पारी आमा, बालबालिकालाई दुर्व्यवहार, शोषण, ओसारपसार गर्न सक्छन् । तसर्थ यस्ता खतराबारे सजग हुनुपर्दछ ।
  • बालबालिका छिट्टै डराउने, अत्तिने हुनाले उनीहरूलाई अङ्कमाल गर्ने, सान्त्वना दिने, माया देखाउने शान्त भएपछि र स्नेहपूर्वक यी स्थितिबारे बताउनुपर्दछ । साथै सँगै राख्ने, कुराकानी गर्ने र कथा भन्ने सुन्ने गर्नुपर्दछ । यसो गर्दा उनीहरूको डर कम हुन्छ ।
  • बालबालिकालाई कथा, गीतमार्फत निडर भई परिस्थिति सामना गर्न हौसला दिनुपर्दछ । बढी माया, सुरक्षा, साथदिने गर्नुपर्दछ र खानपिन, स्याहारको विशेष ध्यान दिनुपर्छ ।
  • विपद्को समयमा पनि केही हदसम्म दैनिकी निरन्तर भएको सुनिश्चित गर्नुपर्दछ, जस्तै, निश्चित उठ्ने समय, खेल्ने समय, सुत्ने समय । यसले बालबालिका (तथा वयस्कको पनि) मनोसामाजिक समस्या आउन दिदैन । 
  • विशेषगरि कोभिड–१९ जस्तो लामो विपद्मा बालबालिकाको दैनिकी तथा सिकाइ निरन्तरता गर्नु अति आवश्यक छ । यसको लागि विद्यालय तथा स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरी वैकल्पिक तरिकाले सिकाइ निरन्तरता गरिनुपर्छ । आपत्कालीन अवस्थामा पनि शिक्षालाई निरन्तरता दिन पाउनु बालबालिकाको अधिकार हो ।
  • विपद्को अवस्थामा बालबालिकाले असामान्य व्यवहार देखाउन सक्छन् (जस्तैः वान्ता गर्ने, पेट दुख्ने, झाडापखाला लाग्ने, खान रुचि नहुने, डराउने, बोल्न छाड्ने)। यस्तो अवस्थामा धैर्य गरेर उनीहरूलाई साथ दिनुपर्दछ । यस्ता समस्या क्रमशः कम हुन्छ तर उनीहरूको उमेर अवस्था व्यक्तित्वअनुसार समय लाग्छ  । 
  • यस्तो स्थिति सुधार नभएमा मनोभावनात्मक चोट परेको हुन सक्ने भएकाले बालबालिकालाई मनोविमर्शको व्यवस्था गर्नुपर्दछ ।
  • विपद्पछि सकेसम्म चाँडो बालबालिकाको नियमित दैनिक क्रियाकलापमा फर्किन अभिभावक, समुदाय तथा विद्यालय एकजुट भएर लाग्नुपर्दछ । 

युनिसेफ नेपाल

प्रतिक्रिया