शनिबार, जेठ ५, २०८१

काँग्रेसको रूपान्तरण र पुस्तान्तरण–२

ओम आचार्य २०८० असार ३१ गते १५:५६

नेपाली काँग्रेसमा अहिले पुस्तान्तरण र रूपान्तरणको बहस चलिरहेछ । यो बहसमा संस्थापन र संस्थापन इतर बिचकै द्वन्द्व रूपमा लिन थालिएको छ । संस्थापन इतरले पार्टी  सभापति शेर बहादुर देउवा प्रति यो लक्षित भएको आरोप लगाएको छ । यो आरोप मात्रै हैन, इतर पक्षबाटै ‘काँग्रेसमा संसदीय दलको नेता फेर्नु पर्छ’ ‘पूर्व प्रधानमन्त्री भइसकेकालाई पुनः प्रधानमन्त्री हुन नदिने’ जस्ता अभिव्यक्तिले पनि संस्थापनको भनाइलाई पुष्टि गर्छ । 

इतर पक्षबाटै पनि ‘हाम्रो दुस्मनी शेर बहादुर सँग छैन र अरू कसैसँग पनि छैन । व्यक्ति विशेष सँग यो अभियान लक्षित छैन’ भन्दै विधि विपरीत चलेको पार्टी सँग हो र यसको सुरक्षा सँग उभिने सँग हामी पार्टी पद्धति पार्टी नियमानुसार अगाडि बढ्दै जाँदा त्यो भोलि व्यक्ती सँग भिड्नु पर्ने पनि हुन्छ भनेका छन् । 

अहिले यो पुस्तान्तरण र रूपान्तरणको कुरा त्यसै उठेको भने हैन । विगतको निर्वाचन देखि अहिलेसम्म पार्टीको स्थितिले र पार्टी सञ्चालन गर्नेको सोच विचार र अभियानले ल्याएको हो । पार्टीले न त नियमानुसार केन्द्रीय समितिको बैठक डाक्न सकेको छ, न त मातहतमा भातृसंगठनहरुको गठन गर्न सकेको छ । जनतामा पार्टी प्रति निराशा र वितृष्णा बढ्दै गएको छ । यसैको परिणाम नयाँ पार्टीहरू जन्मँदै आएका छन् र आफूलाई स्थापित गर्ने प्रयत्नशील छन् । काँग्रेसको अवस्था यही रहने हो भने नयाँ पार्टीहरू काङ्ग्रेसकै समकक्षी हुन बेर छैन । 

काँग्रेस भित्र एकल नेतृत्वको परिणाम र सभापतिले आफ्नो अनुकूल निर्णय गर्दै जानु पनि यस्तो परिस्थिति सृजना हुँदै गएको हो । यिनै विकृतिहरूको जगमा हुर्केको काँग्रेस भित्र संस्थापन इतरले पुस्तान्तरण र रूपान्तरणको कुरा उठाएका हुन् ।

पुस्तान्तरण

पुस्तान्तरण आफैँमा राम्रो शब्द हो र यो शब्द आफैँमा जडताको विरुद्ध लक्षित छ । जब आफू भन्दा अघिल्लो पुस्तामा जडता आउँछ । जब क्रिया शक्तिहीन हुन्छ । मस्तिष्क जब तेज हुँदैन । आँखा भएर पनि दृष्टि मधुरो हुन थाल्छ । जब दाँत फुस्किएर बोली प्रस्ट हुँदैन र हिँड्दा खुट्टा लरबररिन थाल्छन् । त्यस्तो अवस्थामा अरू सदस्यले पुस्तान्तरणको कुरा उठाउँछन् । यो अत्यन्त जायजÞ छ । अत्यन्त अनिवार्य छ । यसमा विलम्ब हुँदा काँग्रेसको छवि अन्य दलको अगाडि हास्यप्रद र खिल्ली र उपहासको पार्टी बन्न सक्छ । त्यति मात्र हैन, यत्रो इतिहास बोकेको पार्टी, लोकतन्त्रको लडाइमा सधैँ अगाडि रहेको काँग्रेस, जसले अन्य दललाई पनि लोकतन्त्रमा अग्रसर गरायो । आज तिनै पार्टीहरू जसले काँग्रेसलाई लोकतन्त्रको गुरु मान्दै थिए, जसले लोकतन्त्रको प्रेरणा स्रोत र लोकतन्त्रको मुहान मन्द थिए,  तिनै दलको अगाडि काँग्रेस निरीह देखिँदै छ र पछि पर्दै छ ।

काँग्रेसको मूल सिद्धान्त लोकतन्त्र, समाजवाद, राष्ट्रियता जस्ता कुराहरूमा गणतन्त्रको स्थापना पछि विमुख बन्दै गइरहेको छ । यसमा विमुख भएकै कारण मुलुकमा सुशासन दिन र हुन सकेको छैन । सुशासन लोकतन्त्रको पहिलो सर्त हो । भ्रष्टाचार चरम अवस्थामा छ यी सबै कुरामा काँग्रेस सरकारमा रहँदा पनि र नरहँदा पनि मौन साँधेको छ । यिनै कुरामा जनता काँग्रेससँग निराश भएका छन् । काँग्रेसको मुख ताक्न छाडेर विकल्पमा अन्य दल रोज्न थालेका छन् । यसैको नतिजा हो, संसद्मा अन्य दलको दह्रो उपस्थिति । 

गणतन्त्र आएपछि के काँग्रेसको आफ्नो दायित्व सकिएको हो ? काँग्रेसको कर्तव्य सकिएको हो ? यिनै प्रश्नहरूको उत्तर पुस्तान्तरण भनिएको छ । संस्थापन इतरबाट उठाइएको यो पुस्तान्तरणले वास्तवमै काँग्रेसमा पुस्तान्तरण गरेर नै विश्राम लिन्छ कि बिचमै तुहिन्छ ? काँग्रेसमा यस्ता विचार बिचबिचमा आउने गरेको छ र गन्तव्यमा नपुगी फर्केको पनि छ ।

यो पुस्तान्तरणको अहिले जसरी कुरा आएको छ । जसरी यसको व्याख्या र विश्लेषण गरिएको छ । त्यसले धेरै संशय पैदा गर्छ । जहाँ संशय हुन्छ, त्यहाँ विश्वास र निष्ठा हुँदैन । जहाँ संशय हुन्छ, त्यहाँ भ्रम हुन्छ र त्यस्तो अवस्थामा पुस्तान्तरणले कार्य सिद्धिमा सफलता पाउदैन् । कारण, पुस्तान्तरण भित्र पनि यसको व्याख्या र विश्लेषण गर्नेहरूले नीतिका कुरा उठाउन विधिका कुरा उठाउन दादागिरी, डन जस्तै भाषामा पुस्तान्तरणको कुरा गर्दा भोलि यसमा पनि कार्यकर्तामा जनतामा अन्योल र द्विविधा हुन जान्छ र कार्यसिद्धीमा असफलता देखिन्छ । 

काँग्रेस भित्र अर्को कुरा अनुशासनहीनता बढ्दै गएको छ । अराजकता बढ्दै गएको छ । यो अराजक पार्टीभित्र शीर्ष नेता देखी कार्यकर्तासम्म देखिएको र भोगिएको अनुभव पार्टी पङ्क्तिमा छ । यिनै कुरामा परिवर्तन ल्याउँदै पार्टीलाई परिमार्जित गर्नु पनि पुस्तान्तरण जरुरी छ । तर पुस्तान्तरण भित्र पनि कसरी अगाडी बढ्ने, सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने, सार्वजनिक सभा–समारोहमा के कुरा राख्ने । यसमा पुस्तान्तरण भित्रका अगुवाइ गर्नेले पुस्तान्तरण भित्र साझा सहमति, साझा एजेन्डा लिएर प्रस्तुत हुनुपर्ने देखिएको छ ।

पुस्तान्तरण भित्र अहिले ‘दादागिरी मै हुँ’ भन्ने घमन्ड र अहङ्कार देखाउनु हुँदैन । पार्टी भित्र पदीय जिम्मेवारीमा कोही ठुला, कोही साना अवश्य छन् तर पुस्तान्तरण अभियानलाई यो आन्दोलनलाई सफल बनाउने हो भने पुस्तान्तरण भित्र यो भेद हटाउनु पहिलो र अनिवार्य सर्त हो ।

पुस्तान्तरण भित्र भेदविरुद्धको लडाइँ पनि हो र भेदकै विरुद्ध पुस्तान्तरणको लडाइँ हो यो सफल भए काँग्रेस सफल हुन्छ ।

रूपान्तरण

हिजोको काँग्रेसले आजको राजनीतिमा आफूलाई रूपान्तरित गर्नै पर्छ । २००७ सालको राजनीति र त्यो अवस्थाको नेपाल छैन । आज नेपालको राजनीति गणतन्त्रमा प्रवेश गरिसकेको छ । तिन तहको राज्य व्यवस्था छ । 

सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक अवस्था २००७ को जस्तो छैन । राणाकालमा स्थापना भएको काँग्रेस अझै पनि पार्टी भित्र राणा कालिन चरित्र, सोच विचार जीवन्त छ । त्यही भएर पार्टी भित्र राणा कालिन हैकम छ, जबर–साहेबको जस्तो हुकुम र तामेली देखिरहेको छ ।

रूपान्तरण यहीबाट सुरु हुनुपर्छ । यसको लागि प्रथम त पुस्तान्तरण आवश्यक छ । पुस्तान्तरण नभएसम्म रूपान्तरणको कल्पना गर्न सकिँदैन । अहिले भइरहेको नेतृत्व र यो भन्दा पूर्वका नेतृत्वले पनि रूपान्तरणको आवश्यकता देखेनन् र देख्दैनन् पनि ।  जब रूपान्तरणको आवश्यकता देख्छन्, तब यिनीहरू बहिर्गमन हुनै पर्छ । त्यही भएर सत्तामा केन्द्रित पुस्ता रुपान्तरणलाई शत्रु ठान्छन्, वर्ग शत्रु ठान्छन् ।

पुस्तान्तरण भित्र पनि ऊर्जावान्, गतिमान मतिवान, विचारवान हुनपर्छ र उसले काँग्रेस राम्ररी बुझेको र काँग्रेसमा रुझेको हुनुपर्छ । त्यस्तो व्यक्तिको पुस्तान्तरणबाट आगमन भएमा समय सापेक्ष काङ्ग्रेसलाई अगाडि बढाउन सक्छ । समयमानुकुल राजनीतिमा काँग्रेसलाई उभ्याउन सक्छ र राणकालिन विचार नीति र विधिमा आमूल परिवर्तन गरी चलाउन सक्छ । 

तब मात्र काँग्रेसको साख जीवित रहन्छ । जुन विश्वास बढ्छ । पार्टी पङ्क्तिमा पनि गर्वले ‘म काँग्रेस मेरो काँग्रेस’को भावना जागृत हुन्छ ।

प्रतिक्रिया