आइतबार, असार २२, २०८२

डिला खरेलले भने ‘हामी रोजगारीको अवसर सिर्जना गर्न चाहन्छौं’

नेपालखोज २०८० साउन १ गते १७:३५

एडिलेड । गैर आवासीय नेपाली संघ (एनआरएनए एनसीसी) अस्ट्रेलियाको अध्यक्षमा पदमा उम्मेदवारी दिएका डिला खरेलले आफू निर्वाचित भए नेपालमा रोजगारीको अवसर सिर्जना गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । जुलाई २९ तारिखमा हुन लागेको चुनावका लागि विभिन्न स्टेटमा अभियान सुरु गरेका खरेलले एडिलेडमा आयोजित छलफल कार्यक्रममा ‘एक एनसीसी, एक लगानी, एक रोजगार’ आयोजना नेपालमा सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

एनआरएनहरुसँग मात्री भूमिले पनि आशा गरेको बताउँदै उनले अस्ट्रेलियामा सिकेका ज्ञान, सिप र अनुभव उपयोग गरी नेपालमा सहयोग गर्ने वातावरण बनाउन लागि पर्ने पनि योजना सुनाए । अध्यक्षका उम्मेदवार खरेलले आफूहरु नेपाल सरकारको सहयोगी भएर नेपालमा काम गर्ने पनि बताए । उनले भने ‘नेपालमा शिक्षा, स्वास्थ्य र परोपकारको क्षेत्रमा काम गर्ने कुरा सवैले गर्ने गरेका छन् । तर म यी जम्मै विषयमा नेपालीले अनुभूत गर्ने गरी काम गर्छु ।’

आफू निर्वाचित भएपछि डोल्पामा २ वर्षभित्रमा एउटा विद्यालय निर्माण गर्ने योजना रहेको पनि खरेलले बताए । यसैगरी जुम्ला जिल्लाको सरकारी अस्पताललाई १० लाख रुपैयाँ बराबरको आवश्यक उपकरण दिने पनि उनले बताए । अहिले पनि एनआरएनएहरुले विभिन्न माध्यमबाट नेपालमा सहयोग गरिरहेको बताउँदै यसलाई संस्थागतरुपमा परोपकारी कार्यक्रममा जोड्ने र आफूहरुले ती व्यक्तिलाई रोल मोडलको रुपमा ब्रान्डिङ गर्ने पनि उनले बताए । आफूले ‘दिने दिने र दिने’ स्लोगनका साथ नेपालको सेवामा लागि परेको पनि बताए ।

अस्ट्रेलियाका ८ स्टेटमा रहेका नेपालीहरुका फरक फरक समस्याहरुका बारेमा आफू जानकार रहेको बताउँदै उम्मेदवार खरेलले झण्डै २ लाख नेपालीहरु यहाँ रहेको र उनीहरुका समस्याहरुबारे आफ्नो टिमले विगतदेखि नै अध्ययन गरेको बताउँदै ती समस्या समाधानका लागि आफ्नो निरन्तर पहल रहने प्रतिवद्धता जनाए ।

विगतदेखि नै समस्या छ समस्या छ मात्रै भन्ने कुरा हामीले सुने पनि यहाँको सफलताका कुराहरुका बारेमा पनि जानकारी गराउन जरुरी रहेको खरेलले बताए । उनले सफलताको कथाहरुले अरुलाई मार्गदर्शन गर्ने बताउँदै नेपालीहरुको समस्या समाधान गर्न आफूहरुले जिम्मेवारी लिने गरी अघि बढ्ने बताए ।

प्रतिक्रिया