शनिबार, वैशाख १३, २०८२

धर्मराज–सावित्री थापा लोकसंस्कृति–साहित्य पुरस्कार प्रदान

नेपालखोज २०८० साउन १ गते २१:१०

काठमाडौं । जनकविकेशरी धर्मराज थापा र उनकी जीवन सङ्गीनी सावित्री थापाको नाममा स्थापित धर्मराज–सावित्री लोकसंस्कृति–साहित्य पुरस्कार साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको छ ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले धर्मराज थापाको पुण्यस्मृति एवं जन्म शताब्दी महोत्सवको समारोहमा आज यहाँ आयोजना गरेको कार्यक्रममा लोकसंस्कृति र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार ग्वङ्गलाई रु ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, धर्मराज–सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार वरिष्ठ लोकगायक बमबहादुर कार्की र लोकगायिका शिवा आलेलाई संयुक्तरूपमा प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । उनीहरूलाई वरिष्ठ संस्कृतिविद् चित्तरञ्जन नेपालीले पुरस्कार वितरण गरे ।

कार्यक्रममा संस्कृतविद् नेपालीले धर्मराज थापा राम्रो कवि, लेखक र गायक भएको बताए । “मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्राप्त गर्ने कवि धर्मराज थापा हुनुहुन्थ्यो”, उनले भने। पूर्वराजदूत प्राडा जयराज आचार्यले आफूले सानै छँदा धर्मराज थापाको गीत रेडियो नेपालमा सुन्ने गरेको भन्दै थापाका गीत, सङ्गीत र कवितालाई प्रतिष्ठानले संरक्षण गर्नुपर्ने बताए ।

प्रा.डा. अभि सुवेदीले धर्मराज थापाको जन्मशताब्दीमा धर्मराजले गाएका लोकगायन, स्वर, कवितालगायतका विविध पक्षको बारेमा छलफल गर्नुपर्ने बताए । राष्ट्रको महत्वपूर्ण गहना धर्मराज थापा भएको उनको भनाइ थियो । प्रा.डा. चूडामणि बन्धुले धर्मराज थापाका गीत, सङ्गीत र कवितालाई विश्वभर रहेका नेपालीमाझ लैजानुपर्ने बताए । कार्यक्रममा पुरस्कृत व्यक्ति ग्वङ्गका बारेमा साहित्यकार जीतेन्द्र रसिक र लोकगायकद्वय कार्की र आलेका बारेमा लोकगायक प्रेमराजा महतले परिचय प्रस्तुत गरेका थिए ।

नेपाली लोकजीवन, लोकसंस्कृति र लोकगाथाका सुप्रसिद्ध गायक जनकविकेशरी धर्मराज थापा र उनकी पत्नी सावित्रीको नाममा विस २०५२ सालमा स्थापना भएको उक्त प्रतिष्ठानले लोकसाहित्य, लोकगीत, गायन, लोकनृत्य, बाद्यवादन आदिको संरक्षण गर्ने उद्देश्य लिएको छ ।

प्रतिष्ठानले धर्मराज थापाको जन्मशताब्दीको अवसरमा थापा जन्मेको कास्कीको बाटुलेचौरमा थापाको प्रतिमा स्थापना गर्ने, गीती काव्य प्रकाशन गर्ने, परिचय पुस्तिका, स्मृति ग्रन्थ प्रकाशन गर्ने, केन्द्रसहित सातै प्रदेशमा काव्य गोष्ठी सञ्चालन गर्ने, सिक्का प्रकाशन गर्नेलगायतका लक्ष्य राखेको प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी दिए । सोही कार्यक्रममा जनकविकेशरी थापाले गाउनुभएका गीतलाई संस्कृतमा अनुवाद गरेर वाचन गरिएको थियो ।

प्रतिक्रिया