शनिबार, जेठ ५, २०८१

विपीले प्रदान गरेको राजनीतिक धरातल र अनुयायीहरूको झुन्डमा

ओम आचार्य २०८० साउन ७ गते १६:२५

मैले नेपाली काँग्रेसलाई गम्भीरतापूर्वक लिएको छु र मेरो हमेसा यो प्रयत्न रहन्छ कि मैले नेपाली काँग्रेसलाई अझ रिस्ट–पुष्ट बनाऊ । महामानव विपी कोइरालाले एक राजनीतिक धरातल दिएर जानु भएको छ । यही धरातलमा रहेर आज नेपाली काँग्रेस यहाँसम्म आइपुगेको छ । एउटा कुरा तपाइलाई थाहा छ ? भगवान् बराहले पनि धरातल प्रदान गर्नु भएको थियो । पृथ्वी प्रदान गर्नु भएको थियो र सङ्कटको समयमा पृथ्वीको रक्षा गर्नु भएको थियो । अहिले हामीहरूलाई विपी कोइरालाले जुन राजनीतिक धरातल प्रदान गर्नु भएको छ । त्यसको रक्षा गर्दै नेपाली काँग्रेसलाई बचाउनु हाम्रो परम दायित्व हो ।

विपीले प्रदान गर्नु भएको राजनीतिक धरातलमा रहेर नेपाली काँग्रेस हुर्किरहेको छ । यसमा धेरै नवआगन्तुकहरुलाई फुल माला र अविरले हामीले पार्टी प्रवेश गराउँदै नेपाली काँग्रेसमा शिक्षित र दीक्षित गराउँदै छौँ । कति नेपाली काँग्रेसको विचार सिद्धान्तको प्रकाश पार्दै सभा गोष्ठी सेमिनार गर्दै आएका छौँ । र मानिसहरूको राजनीतिक जिज्ञासा लोकतन्त्र, समाजवाद, मानव अधिकार विचार र अभिव्यक्तिको स्वतन्त्रता इत्यादिमा हामीले निदान गर्दै आएका छौँ । र मानिसहरूलाई राजनीतिक जीवन यात्रामा हिँड्न अग्रसर गराउँदै लोकतन्त्र र समाजवाद नै राजनीतिक जीवनको अकाट्य हिस्सा हो । त्यो जनमानससम्म पुर्याउदै आएका छौँ । 

हामीलाई राजनीतिक धरातल प्रदान गर्ने विपी कोइराला र उहाँलाई साथ दिने शीर्ष नेताहरूले देशभरी भ्रमण गर्दै कति राजनीतिक सभा सम्मेलन सम्पन्न गर्नु भयो । सयौँ हजारौँ किलोमिटरको राजनीतिक यात्रा सम्पन्न गर्नु भयो । देशको कुनै कुनामा जानु भयो र जहाँ जहाँ जानु भयो । त्यहाँका मानिसहरू स्वफुर्त पार्टी प्रवेश गरे र नेपाली काँग्रेसमा शिक्षित र दीक्षित हुँदै गए । त्यतिखेर विपीकालिन समयमा पार्टी प्रवेश गरी काँग्रेसमा दीक्षित भएकाहरू भौतिकवादी मानिसहरू थिए र भौतिकवाद मानिसहरू जे गर्थे ती सबै तिनीहरू गर्थे तर कालान्तरमा ती मानिसहरूमा अद्भुत परिवर्तन आयो र सदाका लागी ती सबै छोडे ।

अत्याधिक भौतिकवादी हुनु राजनीतिमा एक भयङ्कर दोष हो तर सन्तुलित भौतिकवादी हुनु राम्रो कुरा हो । तर सबै नैतिकता, संवेदनशीलता, सबै नियम धर्म, नाता सम्बन्ध दाउमा राखेर सिर्फ अति भोग अपनाउनु समस्त समस्या, सङ्कट, शोषण, समस्त भ्रष्टाचार एवं सम्पूर्ण विनाशको कारण हो । यस्तो प्रवृत्ति यस्तो सोचले सबै राजनीतिक धरातल जीवनको सबै आयामहरूको सिर्फ पतनको कारण मात्रै हुन्छ । यही भएर विपी कोइरालाले प्रदान गर्नु भएको राजनीतिक धरातलमा रहेर हामीले नेपाली काँग्रेसलाई अगाडि बढाउन नै विपी कोइरालाले प्रेरित गर्नु भएको हो ।

नेपाली काँग्रेसमा विपीले प्रदान गर्नु भएको राजनीतिक धरातलमा मूलतः दुई किसिमको काँग्रेस छन् । यौटा काँग्रेसमा दीक्षित मन मस्तिष्कले नै प्रेरित भएर राजनीतिलाई समाज सेवा मानेर यसैलाई कर्म मानेर हिँड्ने र अर्को काँग्रेसका अनुयायी । 

अनुयायी त्यस्ता हुन्छन्, नेताले जे भन्यो त्यो ठिक भन्ने, हजुरको एकदम ठिक भन्नु हुन्छ, म हजुरको मान्छे, हजुरको सबै कुरा मान्छु तर राजनीतिक बाटोमा हिँड्ने मेरो समय आएको छैन । मैले धेरै काम गर्नु छ, अनुयायी भन्छ । राजनीतिक धरातलमा रहेर काम गर्दा के फाइदा हुन्छ । अनुयायी फाइदा र नोक्सान हेरेर काम गर्छ । एउटा व्यापारी जस्तो तर सिर्फ फाइदा र नोक्सान हेर्दैन ऊ निष्ठा र विश्वासले राजनीतिक कर्म गर्दै जान्छ । विपीले प्रदान गरेको राजनीतिक धरातलमा रहेर त्यो धरातललाई अरू मजबुद, अरू शक्तिशाली र बलियो बनाउँदै जान्छ । 

अहिले नेपाली काँग्रेसमा अनुयायीहरूको झुन्ड झुन्ड छ । यिनीहरू नाफा  र नोक्सानको हिसाब गरेर व्यक्तिगत लाभमा छन् । यी अनुयायीहरु नेताले जे गर्‍यो ठिक, हजुरबाट कहिले गल्ती हुँदैन । जी हजुरी गर्ने हुन्छन् । यस्ता अनुयायीहरुको झुण्डले विपीले प्रदान गरेको धरातल डुब्ने र धमिराले मक्किएको अवस्थामा पुगेको छ । 

कहिलेकाहीँ त्यो धरातलमा रहेर शिक्षित र दीक्षित भएकाहरू पनि अनुयायीहरूको झुन्डमा परेर तिनीहरू पनि अनुयायीमा रूपान्तरित हुन थालेका छन् । नेपाली काँग्रेसमा वामपन्थीहरू सँग चुनावी गठबन्धन गर्नु पनि विपीले प्रदान गरेको धरातल विरुद्ध थियो । आफ्ना आसेपासे जो राजनीतिक कर्म नै गर्दैनन्, व्यापारी जस्तो नाफा नोक्सान हेर्ने अनुयायीहरूलाई प्रत्यक्ष र समानुपातिकमा राख्नु पनि राजनीतिक धरातल विरुद्ध नै थियो । 

कानुनी राज्य र सुशासन, लोकतन्त्र र समाजवाद, मानवअधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता, मौलिक हकÞ र अधिकारको पृष्ठभूमि भएको त्यो राजनीतिक धरातललाई बिर्सेर अहिले नेपाली काँग्रेस विपीले प्रदान गरेको राजनीतिक धरातलको शिक्षित र दीक्षित शिष्य हैन, एउटा अनुयायीको रूपमा काम गर्दै गरेको छ । अनुयायी नाफा र नोक्सानमा आफ्नो ध्यान केन्द्रित गर्छ । त्यसैको उदाहरण हो, अहिलेको मन्त्रिपरिषद्ले अपराधीलाई उन्मुक्ति दिने कानुन ल्याउन खोज्दै छ । कथंकदाचित पारित भए सरकारलाई राजनीतिक मुद्दाको नाममा व्यक्ति हत्या, आगजनी, विस्फोट, राष्ट्र विखण्डन, लुटपाट, अपहरण इत्यादि उन्मुक्ति मिल्छ । 

के अहिले नेपालमा रहेका अझ सत्ता गठबन्धन दलका पार्टीहरूको राजनीतिक धरातल यही हो ? नेपाली काँग्रेसको त राजनीतिक धरातल त पक्कै नहुन सक्छ ।  झापाको  वर्ग हत्या, माओवादीको सशस्त्र आन्दोलन, नेपाली काँग्रेसको विमान अपहरण पनि । यस्तै राष्ट्र विरुद्ध समाज विरुद्धको विप्लव थियो । यी राजनीतिक दलमा रहेका व्यक्तिहरूले पनि उन्मुक्ति पाए । यो पनि राजनीतिक मुद्दा नै थियो र अहिले वर्तमान सरकारले ल्याउन आँटेको कानुन पनि यस्तै प्रकृतिका राजनीतिक दलका व्यक्तिहरूलाई उन्मुक्ति दिने सरकारको सोँच हो । तर यस्तो कहिले सम्म ? 

संसारमा देशको मौजुदा राजनीतिक प्रणाली संविधानमा असहमति जनाउने राजनीतिक दल हुन्छ नै र यी राजनीतिक दलबाट यस्तो विप्लव आन्दोलन, यस्तो विखण्डन, यस्तो लुटपाट, हत्या, आगजनी, अपहरण राजनीतिमा निरन्तर हुने गर्छ । के ती भविष्यमा पनि निर्माण हुने सरकारले सबैलाई उन्मुक्ति दिँदै जाने ? के यसले कानुनी राज्य र सुशासनको रक्षा गर्छ ? विपीले प्रदान गरेको राजनीतिक धरातलमा रहेर नेतृत्व गर्न पाएको नेपाली काँग्रेस अब अनुयायीहरूको झुन्ड बन्न थालेको प्रतीत हुन्छ ।

प्रतिक्रिया