मंगलबार, जेठ १, २०८१

जलवायु परिवर्तन : विश्वका तीन अर्ब मानिसका लागि खतराको घण्टी

नेपालखोज २०८० साउन १० गते ९:३०

नयाँ अध्ययनअनुसार सन् २०७० सम्ममा तीन अर्बभन्दा बढी मानिस तापक्रम ‘असहनीय’ हुने ठाउँमा बस्नेछन् । हरितगृह ग्यासहरूको उत्सर्जन कम नभएसम्म ठूलो संख्यामा मानिसहरूले औसत तापक्रम २९ डिग्री सेल्सियस नाघेको महसुस गर्नेछन् ।

यो वातावरणीय अवस्था ‘कम्फर्ट जोन’भन्दा बाहिरको हुनेछ, जहाँ मानिस विगत ६ हजार वर्षदेखि फस्टाउँदै आएका छन्। यो अध्ययनका सह-लेखक टिम लेन्टनले भनेका छन् – यो अनुसन्धानले जलवायु परिवर्तनलाई मानवीय सन्दर्भमा हेरेको छ । आफ्नो अध्ययनका लागि शोधकर्ताहरूले संयुक्त राष्ट्र संघको जनसंख्या र विश्वव्यापी तापमान वृद्धिसँग सम्बन्धित तथ्यांक प्रयोग गरेका छन्।

ग्लोबल वार्मिंगको कारण

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार पेरिस जलवायु सम्झौता कार्यान्वयनका लागि पहल भैरहे पनि विश्वको तापक्रम तीन डिग्री सेल्सियसको वृद्धितर्फ बढिरहेको छ । अध्ययन अनुसार मानव जनसंख्या साना जलवायु क्षेत्रमा सघन रूपमा बसोबास गरिरहेको छ। अधिकांश मानिसहरू औसत तापक्रम ११ देखि १५ डिग्रीको बीचमा भएको ठाउँमा छन्।

जनसंख्याको एउटा सानो भाग औसत तापमान २० देखि २५ डिग्री सेल्सियस बीचमा भएको क्षेत्रमा बसोबास गरिरहेकोछ । मानिसहरू हजारौं वर्षदेखि यहि मौसममा बस्दै आएका छन् । यद्यपि ग्लोबल वार्मिङका कारण विश्वको औसत तापक्रम तीन डिग्रीले बढ्यो भने ठूलो जनसङ्ख्या ‘जलवायु सुविधा’भन्दा बाहिर हुने गरी गर्मीमा बाँच्न बाध्य हुनेछ ।

एक्सेटर विश्वविद्यालयको ग्लोबल सिस्टम्स इन्स्टिच्युटका निर्देशक टिम लेन्टनले गरेको यो अध्ययनमा चीन, अमेरिका र युरोपका वैज्ञानिकहरूले भाग लिएका थिए।

सघन जनसंख्या भएका ताता ठाउँहरू

टिम लेन्टन भन्छन् ( समुद्रको तुलनामा जमिन धेरै चाँडो तातो हुन्छ । त्यसैले जमिनको तापक्रम तीन डिग्री बढी हुनेछ। पहिले नै तातो ठाउँहरूमा जनसङ्ख्या बढ्ने सम्भावना पनि छ । यसमा सहारा मरुभूमिको दक्षिणमा पर्ने अफ्रिका महादेशका अधिकांश क्षेत्रहरू हुनेछन्।

अहिले ताता ठाउँहरूमा बढि सघन जनसंख्या छ र ती हट स्पटहरू थप तातो हुँदै गएका छन् । त्यसैले हामी सात डिग्री तात‍ो भन्दा तीन डिग्री तातो भएको संसारमा बस्ने मानिस बढिभएको देख्छौं।

यो परिवर्तनबाट प्रभावित हुने क्षेत्रहरूमा अष्ट्रेलिया, भारत, अफ्रिका, दक्षिण अमेरिका तथा मध्य पूर्वका भागहरू पर्छन्। गरिब क्षेत्रमा बसोबास गर्ने मानिसहरूले अत्यधिक गर्मीबाट आफूलाई जोगाउन नसक्ने कुरामा पनि अध्ययनले चिन्ता व्यक्त गरेको छ।

टिम लेन्टन भन्छन् – यो अध्ययन वातानुकूलित भवनहरूमा आफूलाई कुनै पनि कुराबाट जोगाउने धनीहरूमा केन्द्रीत छैन । हामीले उनीहरूको चिन्ता गर्नुपर्छ जोसँग जलवायु परिवर्तन र मौसमबाट आफूलाई जोगाउने स्रोतहरू छैनन्।

यो अनुसन्धानको मुख्य सन्देशका सन्दर्भमा टिम भन्छन् – यदि जलवायु परिवर्तनलाई नियन्त्रण गर्न सकिन्छ भने त्यसबाट ठूलो फाइदा हुनेछ । यसले वातावरणको कम्फर्ट जोन बाहिर बस्ने मानिसहरूको संख्या घटाउनेछ।

आज तापक्रममा एक डिग्रीको बृद्धिले पनि करिब एक अर्ब मानिसलाई असर गर्छ । त्यसैले तापक्रममा हुने हरेक डिग्रीको बृद्धि रोकेर हामीले मानिसको जीविकोपार्जनमा हुने परिवर्तन र त्यसको अन्य नकारात्मक प्रभाव कम गर्न सक्छौं ।

प्रतिक्रिया