बुधबार, जेठ २, २०८१

सरकारी वृद्धाश्रम ‘समाज कल्याण’, जो बन्दैछ वृद्धवृद्धाको सच्चा सहारा

रूपेश आचार्य २०८० साउन १५ गते १६:५४

काठमाडाैं । वृद्धाश्रम शब्दमा नराम्रो होइन। वृद्धवृद्धाको आश्रयस्थल नै वृद्धाश्रम हो। तर हाम्रो नेपाली समाजमा ‘वृद्धाश्रम’ भन्नासाथ मनमुटु चिसो हुन्छ। हुन पनि वृद्धाश्रममा आश्रय लिने अधिकांश वृद्धवृद्धा (ज्येष्ठ नागरिक) उहाँहरूकै सन्तानबाट परित्यक्त हुनुभएको पाइन्छ। त्यसबाहेक असहाय, सन्तान तथा आफन्तविहीन पनि हुनुहुन्छ, जो वृद्धाश्रममा शरण लिनुहुन्छ।

दया, माया, प्रेम र करुणा हराउँदै जाँदा आफ्नै सन्तानबाट त्यागिने वृद्धवृद्धाको अन्तिम शरण वृद्धाश्रम बन्छ। कतिपय आमाबुवा सम्पन्न भएर पनि पारिवारिक मोहभंगले वृद्धाश्रम पुग्नुहुन्छ। यद्यपि विभिन्न कारणले सबैको पहुँचमा वृद्धाश्रम भने हुँदैन।

नेपालमा वृद्धाश्रम धेरै खुलेका छन्। विशेषगरी उनीहरुको उद्देश्य ज्येष्ठ नागरिक, असहाय आदिलाई सहारा दिने हो। तर सबै वृद्धाश्रमले एकै खालको सेवा–सुविधा भने दिएको पाइँदैन। कतै निःशुल्क त कतै सशुल्क वृद्धाश्रम पनि सञ्चालनमा रहेका पाइन्छ। यस्ता आश्रम समूहगत, समितिगत पनि खुलेका पाइन्छन्। जसलाई निजी वृद्धाश्रम पनि भन्न सकिन्छ। यिनै आश्रममध्येको फरक र ज्येष्ठ नागरिकलक्षित एक मात्र सरकारी वृद्धाश्रम ‘समाज कल्याण केन्द्र वृद्धाश्रम’ हो ।

पशुपतिनाथ मन्दिरनजिक पञ्चदेवलमा अवस्थित यो वृद्धाश्रम असहाय तथा ज्येष्ठ नागरिकको जीवनलाई सहज बनाउने र सुखपूर्वक बाँच्न सघाउने उद्देश्यसहित सञ्चालित छ। नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित एक मात्र सरकारी वृद्धाश्रमसमेत हो यो। यसमा बस्न कुनै शुल्क लाग्दैन।

विसं १९३८ सालमा श्री ५ सुरेन्द्र वीरविक्रम शाहकोे पालामा पञ्चदेवल पाकशालाका रुपमा स्थापना भई विसं. २०३४ सालदेखि समाज कल्याण केन्द्र वृद्धाश्रमका नामले सञ्चालन हुँदै आएको छ। यस वृद्धाश्रमको कुल आश्रय क्षमता २३० जना रहेको छ।

समाज कल्याण केन्द्रका सूचना अधिकारी हृदयराज उपाध्यायका अनुसार आश्रममा सुरुवाती चरणमा २३० जनाको संख्यामा वृद्धवृद्धा हुनुहुन्थ्यो। हाल आश्रममा ५३ जना महिला र ३० जना पुरुष गरी कुल ८३ हुनुहुन्छ। ‘उहाँहरूको हेरचाह गर्नका लागि हाल १४ जना सुसारे राखिएको छ,’ सूचना अधिकारी उपाध्यायले भन्नुभयो, ‘हेरचाह गर्ने मान्छे अपुग भएमा थप्ने प्रावधान पनि गरेका छौँ।’

उक्त आश्रममा स्वास्थ्य अवस्थाअनुसार पनि वृद्धवृद्धाको संख्या छुट्ट्याएको उपाध्याय बताउनुहुन्छ। आश्रममा बोल्न नसक्ने १४ जना, हिँड्न नसक्ने १२ जना, कान नसुन्ने २ जना, मानसिक समस्या भएका ६ जना, आँखा नदेख्ने ९ जना, कुप्रो ३ जना, अशक्त १ जना, मधुमेह रोग भएको १ जना, दुवै आँखा नदेख्ने १ जना, पुरै दाँत नभएको १ जना, कान कम सुन्ने १ जना र सामान्य ३४ जना गरी जम्मा ८३ जना वृद्धवृद्धा हुनुहुन्छ।

यसैगरी जातिअनुसार पनि आश्रममा संख्या छुट्ट्याएको उपाध्यायको भनाइ छ। जसमा क्षत्री २० जना, जनजाति ४१ जना, ब्राह्मण २१ जना र नखुलेको १ जना हुनुहुन्छ।

यो आश्रमले जुरेको पहिरोमा परेका ६ जनालाई सरकारी निर्णय गरी शरण दिएको छ। यस्तै पशुपति क्षेत्रमा अलपत्र परी माग्दै बस्नुभएका आमाबुवालाई पनि यहाँ राखिएको छ। तर आमश्रमा बस्न जोकोही पाउँदैन। त्यसका लागि मन्त्रालयबाट स्वीकृति चाहिने उपाध्याय बताउनुहुन्छ।

कार्यलयका प्रमुख इन्दिरा पन्तले वृद्धाश्रम हाल अशक्तमैत्री नरहे पनि निकट भविष्यमै अशक्तमैत्री बनाउने बताउनुभयो। ‘गोठाटारमा जग्गाको क्लियरेन्स नभएका कारण आश्रम बन्न रोकिएको छ,’ उहाँले भन्नुभयो, ‘सहरी विकास मन्त्रालयमा कुरा पनि राखेका छौँ। छिटोभन्दा छिटो संरचना बनाएर सुविधासम्पन्न आश्रममा आमाबुवालाई राख्न पए बेग्लै आनन्द हुनेछ।’

सरकारी कर्मचारीको रेखदेखमा रहेको आश्रमलाई आश्रमभन्दा पनि परिवारको अपनत्व होस् भनी गणस्तरीय सेवासुविधामा ख्याल गर्ने गरेको पन्तले बताउनुभयो। उहाँका अनुसार दूरदराजका असहाय, जेष्ठ नागरिक भएको ठहर भएमा सम्बन्धित मन्त्रालयमा जानकारी गराई प्रक्रिया पुर्याई संरक्षणमा ध्यान दिने पन्तको भनाइ छ।

आश्रमको उद्देश्य

समाजमा आफ्नो कोही पनि र केही पनि नभएका ज्येष्ठ नागरिकको समाजका अन्य व्यक्तिसरह बाँच्न पाउने अधिकारको संरक्षण होस् र उहाँहरूको बाँकी जीवन सुखमय ढंगले बितोस् भन्ने नै आश्रमको मुख्य उद्देश्य हो। यस्तै आश्रममा बस्नेलाई एक्लो महसुस नगराई पारिवारिक माहोल प्रदान गर्नकै लागि समाज कल्याण केन्द्रको स्थापना गरिएको पन्तले जानकारी दिनुभयो।

आश्रमबाट प्रदान गरिने सेवा

आश्रममा अशक्तका विशेष हेरचाह गर्ने व्यवस्था छ। परम्पराअनुसार मनाइँदै आएका चाडपर्व मनाउने व्यवस्था, मृत्युपश्चात् सामाजिक परम्पराअनुसार दाहसंस्कार, वार्षिक रुपमा श्रद्धाञ्जलि कार्यक्रमका साथै एकाह, रुद्रि, चण्डी तथा होम पुजाको व्यवस्था छ। औषधि उपचार तथा दैनिक सरसफाइको व्यवस्थालगायतका सेवा दिँदै आइरहेको आश्रमले आवश्यकताअनुसार अन्य सेवा पनि थप्ने पन्तले बताउनुभयो।

सिन्धुलीको थापाटोलमा जन्मिनुभएकी लक्ष्मीदेवी थापा ९० सालको भूकम्प जाँदा ११ वर्षकी हुनुहुन्थ्यो। भुकम्पमा आमाबुवा, दिदी गुमाएपछि उहाँ अनाथ हुनुभयो। ‘गाँउघरमा सरसामान बेच्दै आएका भरियाले सानो र टुहुरो देखी मलाई पाल्छु भनेर बानेश्वर ल्याए,’ थापा भन्नुहुन्छ, ‘भरियाको घरमा लुगा धुने, खाना बनाउने, सरसफाइ गर्ने, कपासको बत्ती बनाउने गर्थें। परिवारले पनि माया गथ्र्यो।’

एक दिन तरकारी किन्न जाँदा बाइकले हानेर लडाइदियो। लड्दा खुट्टाको गेडी फुस्किएछ। ‘त्यसपछि भरियाले झन्झट मान्न थाले र मैले उनको घर छोडेँ,’ उहाँले भन्नुभयो।

घर छोडेपछि थापा भौँतारिनुभयो। पछि एक जनाले एक हप्ताका लागि काममा राख्नुभएछ। ‘अनि आमालाई काम गर्दा दुःख भयो भनेर २० वर्षअगाडि आश्रममा भर्ना गराइदिए,’ थापा भन्नुहुन्छ।

थापालाई अहिले आश्रम आफ्नो घरजस्तै लाग्छ।

‘आफूले सकेको काम आफैँ गर्ने गरेको छु,’ थापा आफ्नो दैनिकी सुनाउनुहुन्छ, ‘बिहान साढे तीन बजे उठ्छु। नुवाइधुवाइ गर्छु। अहिले एक वर्षयता दमको औषधि खाइरहेकी छु।’

यसैगरी पनौती रोसीखोलाका गोपाल खत्री अहिले ७४ वर्षको हुनुभयो। तीन वर्षको उमेरसम्म यताउता हिँडडुल गर्नुहुन्थ्यो। तर परिवारले लुले हावा लाग्यो भनेर धामीझाँक्री लगाए। त्यसपछि हिँड्नै नसक्ने गरी अशक्त बन्नुभयो। अहिले उहाँको दुवै खुट्टा चल्दैन्।

‘आमा २०३० सालमा र बुवा २०३५ सालमा बित्नुभयो। दाजुदिदी सबै गरी सात जना थियौँ। अहिले सबैको मृत्यु भइसक्यो। म मात्रै जिउँदै छु,’ खत्रीले भन्नुभयो, ‘धेरै दुःख गरियो बाँच्न, खाँन। अहिले समाज कल्याण आश्रम वरदान बनेको छ।’– INS

प्रतिक्रिया