बुधबार, फागुन ९, २०८०

भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा. भगवान कोइराला

नेपालखोज २०८० साउन २४ गते १३:१२

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् । उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ ।

उनीमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ । हालसम्म उनी आफैँले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसक्नुभएको छ अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गरेका छन् ।

केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ । पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरेका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा रहेका तमाम समस्या र सम्भावनाको जीवन्त चित्रण कोरिएको यो पुस्तक पढेपछि लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथामात्र नभई उनको व्यवस्थापकीय गुणबारे अवगत हुन्छ । कुनै पनि काम सुरु गरिसकेपछि त्यसलाई जुनै हालतमा सम्पन्न गरिछाड्ने भगवानको शैली जहाँ जुनसुकै क्षेत्रका लागि पनि उदाहरण बन्न सक्दछ ।

प्रस्तुत छ, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक तथा सामाजिक अभियन्ता डा. कोइरालासँग राससको कुराकानीको सम्पादित अंश:

नेपालमा मुटुरोगीको सङ्ख्या बढ्दो देखिन्छ । यसको मुख्य कारण के होला ?

नेपालमा मुटुरोगीको सङ्ख्या वास्तवमै वृद्धि भइरहेको छ । यसो हुनुको मुख्य कारण जीवनशैली, आहारविहार नै हो । पछिल्लो समय क्षयरोग, मलेरिया, झाडाबान्ताजस्ता सर्ने रोगको सङ्क्रमण घट्यो तर मुटु रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्न थाल्यो । नेपालीको औसत आयु बढेसँगै नसर्ने रोगको चाप पनि बढेको देखिन्छ । खासगरी पछिल्लो समय युवा वर्गमा मुटुरोगको समस्या देखिनुको मुख्य कारण खानपिन र खराब जीवनशैली नै हो ।

मुटुरोग लाग्न नदिन के कुरामा ध्यान दिनुपर्ने हुन्छ ?

मुटुरोगका कतिपय कारण जस्तैः उमेर, लिङ्ग, जेनिटिक जस्ता कुराहरु हाम्रो अधीनमा हुँदैनन् । तर धेरैजसो जोखिम न्यूनीकरण हाम्रै हातमा हुन्छन् । धुम्रपान तथा मद्यपान नगर्ने, जीवनशैलीमा परिवर्तन तथा नियमित व्यायाम एवं मोटोपन घटाएमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ । वायु प्रदूषणले पनि मुटुरोगलगायत विभिन्न स्वास्थ्य समस्या ल्याउने गरेको छ । समयमै गर्न सकिने उपचारप्रति बेवास्ता गर्ने वा हेलचेक्र्याइँ गर्ने बानीले पनि पछि गएर गम्भीर समस्या ल्याउने गरेको छ । बालबालिकालाई घाँटीमा सामान्य समस्या हुँदा समयमै उपचार नहुँदा पछि गएर उनीहरु मुटुका रोगी बन्नुपरेको छ । मानिसहरुमा आध्यात्मिक चिन्तन, योग, ध्यान गर्ने आदत बढाउन सकेमा शरीरमा स्वतः सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले मुटुलगायत कुनै पनि जटिल समस्या आउन नदिन सहयोग पुग्छ ।

नेपालमा मुटु रोगको उपचार सेवाको पहुँच आम जनतासम्म कसरी पुर्याउन सकिएला ?

स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हुँदा सबैको पहुँचमा पुर्याउन आवश्यक छ । कतिपय स्वास्थ्य सेवालाई विकेन्द्रित गरी स्थानीय तहसम्म पुर्याउन जरुरत हुन्छ भने कतिपयलाई केन्द्र वा प्रमुख सहरी क्षेत्रसम्म पुर्याउँदा पनि हुन्छ । मुटु रोगको प्रारम्भिक पहिचान गर्न सकिने स्वास्थ्य सेवालाई विकेन्द्रित गरी जिल्ला अस्पतालदेखि स्थानीय तहका स्वास्थ्य केन्द्रहरुमा पुर्याउनुपर्छ । विशेषज्ञसहितको सेवालाई राजधानीलगायत प्रमुख सहरहरुमा पुर्याउनुपर्छ ।

अहिले काठमाडौंमा गङ्गालाल, मनमोहन कार्डियो थोरासिक सेन्टरमा मुटुरोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ । वीर अस्पतालमा असीको दशकमा सुरु भएकामा बीचमा केही वर्ष बन्द भएको र अहिले पुनः सञ्चालनमा ल्याइएको छ भने उपत्यकाबाहिर चितवन, पोखरा, बुटबल, नेपालगञ्ज, वीरगञ्ज, धरान, विराटनगर र झापामा मुटुरोगको स्तरीय उपचार सेवा उपलब्ध छ ।

नेपालको मुटुरोगको उपचार सेवा विश्वका अन्य देशको तुलनामा कत्तिको स्तरीय छ ?

नेपालमा मुटुरोगको उपचार सेवालाई हेर्दा विश्वका अन्य देशको तुलनामा कमजोर मान्न सकिँदैन । धनी देशको तुलनामा प्रविधिमा केही कमी छ तर नेपाली चिकित्सकहरु त्यहाँका भन्दा कम हुनुहुन्न । नेपालको आम जनतालाई चाहिने शल्यक्रियासहितको उपचार सेवा नेपालमा उपलब्ध छ । गङ्गालाल हृदयरोग केन्द्र देशकै महत्वपूर्ण अस्पतालमा रुपान्तरण भएको छ । त्यस्तै मनमोहन कार्डियो थोरासिक सेन्टर पनि उत्तिकै प्रभावकारी रहेको छ ।

तपाइँकै पहलमा ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) स्थापना गर्दै हुनुहुन्छ । यस्तो अस्पताल स्थापना गर्नुपर्ने के आवश्यकता देख्नुभयो ?

बाल स्वास्थ्यलाई समग्र रुपमा हेरिनुपर्छ, मुटुको उपचारका रुपमा मात्रै होइन । स्वास्थ्य सेवामा लागेको लामो अनुभवबाट यो निष्कर्षमा पुगिएको छ । समयमा सम्पूर्ण उपचार नपाएको कारण धेरै बच्चाहरुले जुन पीडा भोगे, त्यसकै कारण अस्पतालको आवश्यकता महसुस भयो । त्यही अभाव पूरा गर्न पैसाको कमी वा प्रविधिको कमी वा पहुँचको कमीबाट कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाएँ ।

कान्तिजस्तो बालबालिकाको डेडिकेटेड अस्पतालले यो सेवा विकेन्द्रीकृत गर्नुपर्ने थियो तर विविध कारणले कार्यान्वयन गर्न सकेको छैन । त्यसैले सरकारको सहयोगमा सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा एक विशिष्टीकृत बाल अस्पताल (काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच)) नामक बाल अस्पताल निर्माण गरिँदैछ । पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन् । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल सञ्चालनमा आइसकेको छ ।

बाल अस्पताल नै खोल्नुपर्ने इच्छा कसरी जागृत भयो ?

नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चारजनाले आफ्नो पाँचौं जन्मदिन देख्न पाउँदैनन् । आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरुले ज्यान गुमाएका छन् । मलाई नेपालमा बालबालिकाको उपचारका निम्ति विशिष्टीकृत अस्पतालको अभाव खड्किँदै आएको थियो ।

त्यही अभाव पूरा गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नै बाल अस्पताल स्थापना गर्ने इच्छा जागृत भएको हो ।

सरकारले हालै उच्च ओहोदाका व्यक्तित्वहरुको उपचार स्वदेशमै गर्नका लागि तपाइँसमेत रहेको एक समिति गठन गरेको छ । यसलाई तपाइँले कसरी लिनुभएको छ ?

सरकारले नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनाका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत अति विशिष्ट व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरे जस्तोसमेत देखिएकाले स्वास्थ्य उपचार समिति गठन गरेको छ । यसले एउटा सकारात्मक सन्देश जनतामा गएको छ । तर यस किसिमको स्वास्थ्य सेवा भिआइपीलाईलाई मात्र दिने भन्ने नभई सबै जनताले स्वदेशमै पाउँछन् भन्ने सन्देश आवश्यक छ ।

एउटै (वीर) अस्पतालबाट सेवा दिन कत्तिको सम्भव होला ? भिआइपीहरुको चाहना र व्यावहारिकतालाई पनि हेर्नुपर्ने हुनसक्छ । जे होस् विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरुबाट उपचार व्यवस्थापन गर्न सकिन्छ । विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भएकाले हामी चिकित्सकहरु खुसी नै भएका छौँ ।

केही समयअघि यहाँको हृदय नामक पुस्तक पनि प्रकाशित भएको छ । पुस्तक लेख्ने उत्प्रेरणा कसरी मिल्यो ?

मैले अध्ययनपछि विभिन्न स्वास्थ्य संस्थाहरुमा रहेर काम गर्ने अवसर पाएँ । जोखिम र जटिल किसिमको स्वास्थ्य सेवा स्थापित गर्न कस्तो किसिमको हण्डर खानुपर्छ भन्ने बारेमा पुस्तकमा उल्लेख गरेको छु । आफूले जीवनमा भोगेका सङ्घर्षका अनुभवदेखि स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा राखेको छु ।

तीसवर्षे जागिरे जीवनका अनगिन्ती यादहरु समेटिएको पुस्तकमा अनेक तनाव, छटपटी र खुसीका क्षणहरु पनि पाउनु हुनेछ । जो सुकैले पनि प्रतिबद्ध भएर लाग्यो भने जस्तोसुकै समस्याको पनि समाधान गरी सफलता पाउन सक्छ भन्ने सन्देश दिन खोजिएको छ ।

प्रतिक्रिया