मध्यबर्खामा पनि खानेपानीको पिरलो

मलेखु । धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको छ ।
यहाँ खानेपानी थाप्ने छुट्टै नियम छ । गाउँभरिमा एउटै मात्र धारो छ । बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन् । टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन् । एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाउने नियम छ । जस्तोसुकै अवस्थामा होस् कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ ।
स्थानीय शेरबहादुर तामाङले भने, “सबैले चार/चार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहीँ थन्क्याएर भोलिपल्ट मात्रै थाप्न पाइन्छ ।” उनका अनुसार यहाँ अहिले पनि खानेपानी पुगेको छैन ।
जताततै पानीको छ्यालछ्याल हुनुपर्ने बर्खामा एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो । भौगोलिक हिसाबले सङ्घीय राजधानी काठमाडौँबाट नजिक र नगरपालिकाभित्र पर्ने भए पनि यो गाउँ विकट मानिन्छ । पानी, बत्ती र बाटो यी तिनै पूर्वाधारबाट यहाँका स्थानीय वञ्चित छन् । शेरबहादुरले भने, “मध्य बर्खामा पनि पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो । पैँचो नपाएका बेला आकाशेपानीले नै प्यास मेटाइरहेका हुन्छौँ ।”
गुर्दुम गाउँका ६८ घरधुरीका लागि एउटा मात्रै धारा छ । “भएको एउटा धारामा पनि पानी कहिले आउँछ टुङ्गो हुँदैन । धारामै पानी आए पनि धितमर्ने गरी पानी खान पाइदैन”, उनले भने, “खोलाको पानीलाई दुई वटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ । बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन ।” मेसिनको सहायताले धारामा ल्याइएको पानी छ महिना मुस्किलले खान पाइने भन्दै शेरबहादुरले बाँकी छ महिना खोला धाउनुपर्ने बाध्यता रहेको बताए ।
राष्ट्रिय प्रसारण लाइनको बिजुली गाउँमा नपुग्नु अर्काे समस्या रहेको स्थानीय उर्मिला तामाङले बताइन । “बिजुली बत्तीका लागि गाउँमा खम्बा पनि गाड्न थालेको एक वर्ष भयो । अहिलेसम्म सबै ठाउँमा खम्बार र तार पुगेको छैन”, उनले भनिन, “सरकारी बिजुली आइदिएदेखि ठूलो मोटरले पानी तान्ने आश यो वर्ष पनि अधुरै बनेको छ ।”
गाउँमा खम्बा गाडिए पनि पानी तान्ने खोलासम्म खम्बा र तार पुर्याउन बाँकी नै रहेको उर्मिलाले बताइन । “बिजुली बत्तीको सुविधा आएदेखि पानीको पनि सुविस्था हुन्थ्यो कि भन्ने आशमा छौँ”, उनले भनिन ।
प्रतिक्रिया