बिहीबार, वैशाख २०, २०८१

मुगलिङको झोलुङ्गे पुल

सुनिल उलक २०८० भदौ २५ गते ९:१३

पोखरा । पोखरा, पर्यटकिय दृष्टिकोणले हेर्दा सबैभन्दा सुन्दर शहर हो । प्रकृतीले नै यहाँ सुन्दरता भरि दिएको छ । बिदेशी पर्यटकको काठमाडौ उपत्यका आगमन त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु हेर्नका लागि रहेको छ ।

तर पोखरा भने प्रकृतीले नै सबै कुरा भरिदिएको छ । सुन्दर ताल, मनोरम हिमाली दृश्य साथै यहाँ गहिरिएर बग्ने सेती नदीको पनि आफ्नै बिशेषता छ । बिदेशी पर्यटक यहिँ पोखराको प्राकृतिक सौन्दर्य हेर्न आउने गर्दछन् ।

यति सुन्दर पोखरा शहरमा पुग्न वि.सं. २००९ साल अगाडि सम्म केवल हिडेर नै मात्र जनु पर्दथ्यो । यसरी पैदल नै हिड्नु परे तापनि हिडेरै पोखरा आउनु हुने पहिलो विदेशी पर्यटकमा जापानी भिक्षु इकाइ कावागुचीको नाम सबैभन्दा पहिले आँउछ । उनले वि.सं. १९५५ को चैत्र ४ गते पोखरामा पाइला टेकेका थिए ।

पोखरामा पुगेपछि पोखराको सुन्दरताको वर्णन गर्दै उनले Three Years in Tibet मा लेखेका छन् ‘In all my travels in the Himalayas I saw no scenery so enchanting as that which enraptured me at Pokhara’ । हिमालयको यति लामो यात्रामा मैले पोखरामा जस्तो मनोरम दृश्य कहि भेटिन, जसले मलाई यति मन्त्रमुग्ध बनाइदियो ।

हुन त यस अगाडि जङ्गबहादुरको समयमा पनि फेवातालको पानीबाट सिचाइ गर्न सकिने विषयको सर्वेक्षण गर्ने बेलायती इञ्जिनियर आएको भनिन्छ । तर यसको कुनै ठोस प्रमाण भेटिदैन । तर कावागुची पछि चन्द्रशम्शेरको समयमा वि.सं. १९७८/७९ तिर बेलायती इतिहासकार पर्सिभल ल्याण्डन मुक्तिनाथबाट फर्कदा पोखरा भएर आएका थिए ।

नेपालमा प्रजातन्त्र आगमन लगत्तै पोखरा पुगेका स्वीस भूगर्वशास्त्री टोनी हेगनको सबैभन्दा मनपर्ने ठाँउ नै पोखरा थियो । त्यसैले पनि होला उनका छोरी क्याट्रिनाले पनि नेपाल आउँदा जसरी पनि एकपटक पोखरा पुग्ने गर्दछन् ।

पहिलो पटक विश्वको ८ हजार मीटर भन्दा अग्लो शिखर अन्नपूर्णको सफल आरोहण फ्रान्सेली पर्वतारोहण टोलीका साथ मोरिस हर्जोगले गरेपछि यस क्षेत्रको चर्चा विश्वभर फैलिएको थियो । हुन त हर्जोगको अभियानको यात्रामा पोखरा परेको थिएन । तर बुटवल देखि नै उनका सहयोगी घन बिक्रम राणा भने पोखराका थिए । 

देशमा प्रजातन्त्रको आगमन पछि २००८ सालको शुरु तिर त्यसबेलाका गृहमन्त्री विपी कोइराला तथा उद्योग तथा वाणिज्य मन्त्री गणेशमान सिंहले महावीर शम्शेर राणाको निजी विमान कम्पनी हिमालयन एभिएशनको डकोटा विमानबाट पोखरा विमानस्थलको परिक्षण उडान गरेका थिए ।

यसपछि नै पोखरा हवाइ यातायातले राजधानीसंग जोडिन पुगेको थियो । २००९ सालमा ब्यबसायिक उडानको शुरूवात हुँदा पहिलो यात्रीको रुपमा राणा इतिहासकार पुरुषोत्तम शम्शेर राणा ९ रुपैया भाडा तिरेर पोखरा पुगेका थिए ।

यसरी हवाई यातायातबाट जोडिएको पोखरा सडक सञ्जालबाट जोडिन भने झण्डै अर्को दुई दशक लाग्यो । त्रिभुवन राजपथको निर्माण भए पछि सडक सञ्जालबाट काठमाडौं उपत्यका भारतीय भूमिसंग जोडिन पुगेपछि राजा महेन्द्रले पोखरालाई पनि काठमाडौ उपत्यकासंग जोड्ने परिकल्पना गरिसकेका थिए ।

२०१८ सालमा पूर्वपश्चिम राजमार्गको शुभारम्भ गर्दा पोखरालाई पनि सो राजमार्गसंग जोड्नको लागि त्यो बेलाको खस्यौलीलाई रोजिसकेका थिए । २०२० मा एसपीआर योजना अघि बढ्यो । भारतीय सहयोगमा एसपीआर (सुनौली पोखरा राजमार्ग) बन्ने भए पछि चीनियाँ सहयोगमा नौबिसे पोखरा सडक बनाउने निर्णय भयो ।

२०२४ मा सडक निर्माणको शुरुवात भएको यस राजमार्गको झण्डै मध्य बिन्दुमा रहेको दारेचौकको त्रिशुली र मर्स्याङ्दीको संगम नजिकै बनाउनु पर्ने पुल नै सबैभन्दा कठिन थियो । अन्तत दुइ नदीको संगमको नजिकै मुग्लिङ फाँटको पश्चिममा पुल बनाउने निधो भएको थियो ।

२०३१ सालमा तैयार भएको ४१० फुट लामो पुलको निर्माण झोलुङ्गे पुलको रुपमा भएको थियो । ४० मिलीमीटर मोटा १९ वटा बलिया फलामे तारका जठ्ठाको सहायताले दुबै तर्फ लट्काएर यो पुललाई बनाइएको थियो । यसको लागि खोलाको दुबै तर्फ ४६.५८ फीट अग्लो दुइ टावर बनाइएको थियो ।

पुलको भुइ भने २७.५ फुट चौडाइको बनाइएको थियो । जसमा काठका मोटा मोटा सत्तलहरु ओछ्याएर बनाइएको थियो । यसको माथी पिच गरिएको थियो । पछि मर्मतको क्रममा काठ निकालेर त्यहाँ स्टिल हालियो । पुलमा मानिसहरु हिड्नको लागि दुबै तर्फ करिव ३.५ फुट छोडिएको थियो ।

यस किसिमको पुल बलिया भए पनि मर्मत भने केहि बढी खर्चालु हुने गर्दछ । करिव ४५ वर्ष हजारौ गाडीहरुको बोझ झेलेको यो पुलले भने केही समय अगाडि देखि बिश्राम पाएको छ । यहि पुल नजिकै बनाइएको नयाँ घुम्रे पुल (Arch Bridge) ले यस पुललाई विश्रान्ति दिएको छ ।

२०३१ सालमा नौबिसे पोखरा सडक निर्माण पुरा भए पछि २०३६ सालमा चीनिया सहयोगमा नै गोरखा नारायणगढ सडक पनि बन्यो । यो सडक बनेपछि भने मुगलिङ बजारिकरण तर्फ लाग्यो । गोरखाबाट बसाइसरेर मुगलिङमा ब्यबसाय गर्नेहरु बढ्न थाले । मुख्यतया होटल ब्यबसाय तर्फ सबैको रुचि बढ्न थाल्यो । हेर्दा हेर्दै मुग्लिङ फाँट मुगलिङ बजारमा परिणत भयो ।

प्रतिक्रिया