शनिबार, वैशाख २२, २०८१

तुर्लुङकोटमा रहेको तुर्लुङकालिका मन्दिर

सुनील उलक २०८० कार्तिक ३ गते ७:३९

लमजुङ दुराडाँडा गाँउको नजिकै तुर्लुङकोट डाँडामा रहेको तुर्लुङकोट कालिकाको मन्दिर ऐतिहासिक मन्दिर मानिन्छ । यो मन्दिरको ऐतिहासिक अभिलेख नभेटिए पनि स्थानियले निकै पुरानो मन्दिरको रुपमा पूज्ने गर्दछन् ।

इतिहासमा स्पष्ट उल्लेख गरिएको नभेटिए पनि घले राजालाई सत्ताच्युत गराइ कास्कीबाट लगिएका कुलमण्डन शाहका माहिला छोरा कालु शाहको हत्या भए पछि दुरा गाँउका लक्ष्मण दुरा तथा खाँजे दुराको समुहले कुलमण्डन शाहसंग फकाएर लगिएका यशोब्रम्ह शाहलाई राजा बनाइए पछि यहि तुर्लुङकोटमा दरवार बनाइ राखिएको थियो । यिनै राजाको समयमा कालिकाको मन्दिर पनि स्थापना गरिएको सम्भावना छ । इतिहास नदेखिए पनि यहाँ एउटा किंवदन्ती फैलिएको छ ।

दुरागाँउ नजिकै घाँस काट्दै गरेकी महिला अचानक एउटा ढ्ङ्गामा ठोक्किएपछि हेर्दा मानव आकारको ढुङ्गा देखेर झस्किए । रिसले हातमा रहेको हसिँयाले ढ्ङ्गामा हान्दा दुध जस्तो सेतो पानी बगे पछि तर्सिएर गाँउमा पुगे । सबै गाँउलेलाई बोलाइ आफूले जंगलमा भेटेको ढुङ्गाका बारेमा सुनाए । सबै गाँउले मिलेर सो ढुङ्गामा पुग्दा सत्य सावित भए पछि दैवी शक्ति मानेर देवीको रुपमा पूज्न थाले । पछि सो मुर्तिलाई हालको स्थानमा स्थानान्तर गराइएको भनिन्छ ।

हालको दुराडाँडामा दुराहरुको बस्ति बस्नुको पनि किंवदन्ती रहेको छ । लमजुङमा खासगरी घले राजाहरुको राज थियो । घलेहरुले कास्कीको अर्घौबाट बसाइ सरेर लमजुङमा बस्न थालेका दुराहरुलाई अत्याचार गर्न थालेपछि लमजुङका खगे दुरा, नारान दुरा तथा कुसुमाखर घिमिरेहरु मिलेर कास्कीमा आइ कास्कीका राजा कुलमण्डन शाहसंग शाह राजा बनाउने गरि माहिला छोरा कालु शाहलाई मागि लगेका थिए । तर शाही राजा थापना गरेको केही समयमा नै घले राजाका सिपाहीहरुले शिकार खेल्न बहानामा लगि नारान दुरा र कालु शाहलाई मारिदिए ।

यस पछि क्रुद्ध भएका दुराहरुले घले राजालाई पनि षडयन्त्र गरि मारे । यसपछि पून कास्कीमा आइ कुलमण्डन शाहसंग अर्को छोरा यशोब्रम्ह शाहलाई राजा बनाउन लिएर गए । यसरी शाही राजा थापना भए पछि दुराहरुको पनि दरवारमा रजगज शुरु भयो । यिनै दुराहरुले दुर्लुङकोट ९तुर्लुङकोट०मा कालिकाको स्थापना गरि कूलदेवीका रुपमा पूजा गर्न थालेको मान्यता रहेको छ ।

तसर्थ बिशेष गरेर दुराहरुले पूज्ने भए पनि पत्र्चबली चल्ने हुँदा बिभिन्न स्थानबाट दर्शन गर्न मानिसहरु आउने गर्दछन् । यस कालिका मन्दिरलाई पूजा गरेमा आँटे ताकेको पुरा हुने विश्वास रहेको छ । धेरै जसो यस मन्दिरमा भाकल गरेर पूजा गर्नेहरुको संख्या धेरै हुने गर्दछ । चैते दशैमा बिशेष पूजा हुने हुँदा यस समयमा यहाँ मेलाको आयोजना गरिन्छ । गत २०७२ को भूकम्पले क्षति पुगेको यस मन्दिरलाई हाल पूनर्निमार्ण गरिएकोछ ।

प्रतिक्रिया