शनिबार, वैशाख २२, २०८१

कोजाग्रत पूर्णिमा (कतिंपुन्ही)

सुनील उलक २०८० कार्तिक ११ गते ९:००

दशैँको अन्तिम रात कोजाग्रत पूर्णिमाको दिनलाई बुद्धमार्गीहरु कतिंपुन्हीको रुपमा महादीप दान गर्ने गर्दछन् । अन्य नेवाःले भने महालक्ष्मीको पूजा गर्ने गर्दछन् । आश्विन शुक्ल पूर्णिमाको दिन दशैको दुर्गा पक्षको अन्तिम दिन हो । यसै दिन १५ दिन लामो दशैको समाप्त हुन्छ । यस पूर्णिमाको रात महालक्ष्मी पृथ्वीमा विचरण गर्ने आउने भन्ने मान्यतामा महालक्ष्मीको पूजा गरेर रातभर जाग्राम बस्ने गरिन्छ । कोजाग्रत अर्थात को जागेको छ भनेर लक्ष्मी देवीले पृथ्वीमा भ्रमण गर्ने विश्वासमा यस रात जाग्राम बस्ने गरिन्छ ।

साथै यसै रातबाट नै चन्द्रमाको षोडसकलाको शुभारम्म हुने हुँदा सोह्र (षोडस) लक्ष्मीको पूजा गर्ने गरिन्छ । वर्षको बाह्र पूर्णिमामा शरद पूर्णिमाको रातलाई चन्द्रमाको सबैभन्दा सुन्दर रुप हुने विश्वास गरिन्छ भने लक्ष्मीपूजाको दिनको औसीको रातलाई सबैभन्दा निष्पट अन्धकारको रात भन्ने गरिन्छ । यस पूर्णिमाको रातलाई भारतीय हिन्दूहरु शरद पूनम की रात भनेर बिशेष रुपले ब्रत बस्ने गर्दछन् । यस दिनको ब्रत वा पूजा गरि बिशेष रुपले धनकी देवी महालक्ष्मीलाई सम्झने गर्दछन् । यस रातलाई हिन्दूहरु कोजाग्रतका रुपमा रातभर जागरण बसेर भजनकिर्तन गरेर बिताउने गर्दछन् । आलंमत (आकाशदीप) आजकै रातबाट घर बाहिर दीप बाल्ने गरिन्छ ।

जसलाई आकाशदीप भन्ने गरिन्छ । आकाशदीपलाई नेवारहरु आलंमत भन्ने गर्दछन् । आलंको अर्थ आकाश र मतको अर्थ दीप (बत्ती) हुने हुँदा आकाशदीप भन्ने गरिन्छ । तर बोलीचालीमा आलुमत पनि भन्ने गरिन्छ । आखिर आकाशदीप किन बालिन्छ भन्नेमा बिभिन्न मत छ । भारतीयहरु पनि आकाशदीप बाल्ने गर्दछन् । जसले गर्दा यो प्रचलन केवल नेवाःहरुको मात्र भन्न सकिदैन । साथै यो प्रचलन भारतबाट नै नेपालमा पनि भित्रिएको सहजै अनुमान गर्ने सकिन्छ । नेपालमा पनि अन्य जातिको तुलनामा अत्यधिक नेवाःहरुले बालेको भने पाँउछौ । यसको अर्थ यसको प्रचलन केवल काठमाडौ उपत्यकामा ब्यापक हुन पुगेको भन्न सक्दछौ ।

आकाशदीपलाई बिष्णु भगवानलाई दीप दान गर्ने पनि भनिन्छ । महालक्ष्मीको पूजन पछि घरको बाहिर तुल्सीको मठको नजिकै वा बाहिर खुला ठाँउमा लामो बाँसमा दीप बालेर झुन्ड्याउने गरिन्छ । बाहिरी हावाले दीप ननिभुन भनेर पातलो कागजले हावा छेक्ने बनाइन्छ । अघिल्ला रातहरुमा चन्द्रमाको उज्यालोमा आकाशदीपको त्यति महत्व नदेखिए पनि बिस्तारै आउने औसीको रातमा भने यि आकाश दीपहरु निकै आकर्षक देखिन्छ । अँध्यारो रातमा हिड्ने बटुवाहरुलाई अन्धकारले कठिनाइ नहुन भनेर दीप प्रज्वलन गरिएको आभास हुन्छ । भारतमा भने आकाशदीप माटोको घडाको पनि बनाइन्छ जसको चारैतिर प्वाल पारेर बनाइन्छ । जसको भित्र दीप हालिन्छ । तर अधिकांश स्थानमा भने आकाश दीप बाँसको बनाइन्छ जसमा बाहिरबाट चारैतिर कागज टासेको हुन्छ । वनारसका घाटमा असंख्य आकाश दीप जलाइन्छ । जसको अर्थ मृतात्माहरुको पूण्ययात्रामा पनि उज्यालो रहिरहोस भनेर असोज शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमासम्म रातमा आकाश दीप बाल्ने गरिन्छ ।

उपत्यकामा बालिने आलंमतः वा आकाश दीप झै चीन, जापान लगायत दक्षिण पूर्वी एशियाली राष्ट्रहरुमा पनि यस्तै किसिमको बत्ति बाल्ने गरिन्छ । जापानमा तोरो नागाशी फेस्टिवलमा जुन नेपाली साउन महिनाको अन्ततिर पर्दछ । यस समय साँझ घाम डुबे पछि हजारौ बलिरहेको बत्तिलाई नदीमा बगाइन्छ । जसले नदी पुरै उज्यालो प्रकाशले मोहक देखिन्छ । चीनमा करिव २ हजार वर्ष अगाडि हान राजवंशको समय देखि मृतात्माहरुलाई सम्झने पर्वका रुपमा तेंग चीह फेस्टिवल मनाउने गरिन्छ । भदौको अन्तिम तिर पर्ने यस पर्वमा मृतात्माहरुका लागि बलिरहेको बत्तिलाई नदीमा बगाइन्छ । यस पर्वमा मृतात्माहरुका लागि बिभिन्न परिकारहरु बनाएर नदी किनारमा छोडिन्छ । त्यस्तै थाइलैण्डमा वर्षको दुइ पटक यस किसिमको बत्तिको उत्सव मनाउने गरिन्छ । यी पेंग नाम गरेको उत्सवमा नेपालमा बनाइने कागज र बाँसको आकाशदीप जस्तै बत्तिलाई आकाशमा उडाइन्छ ।

भने लोई क्रथाँन्ग नाम गरेको उत्सवमा बत्तिलाई पानीमा बगाइन्छ । थाइलैण्डको पात्रो अनुसार दोश्रो चन्द्र महिनाको पूर्णिमाको रात तथा बाह्रौ महिनाको पूर्णिमाको रातमा मनाउने गरिन्छ । षोडस लक्ष्मीको पूजा धनलाई लक्ष्मीको रुपमा हिन्दुहरु पूजा गर्ने गर्दछन् । धनलक्ष्मी भन्ने गर्दछन् । नेपाल पनि हिन्दु राष्ट्र रहेको हुँदा यहाँ पनि लक्ष्मीको पूजा धुमधामले गर्ने गरिन्छ । तर लक्ष्मी पनि षोडस लक्ष्मी रहेको कमैलाई जानकारी रहेको छ । एउटै लक्ष्मीले सबै कुरा पुरा गर्न सक्दैन । यसर्थ सोह्र लक्ष्मीलाई पूज्नुका पछाडि अलग अलग उद्धेश्य रहेको पाउँछौ । अधिकांशले सम्पूर्णको एक स्वरुप महालक्ष्मीलाई कार्तिक कृष्ण औसीको रातमा पूजा गर्ने गर्दछन् । सम्भव भए सम्म हामीले षोडस लक्ष्मीको पूजा आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक कृष्ण औसीको रातसम्म सोह्र दिन नै गर्नुपर्छ ।

षोडस लक्ष्मीको सोह्र कलाको स्वरुपमा पहिलो दिनको पूजा कोजाग्रत पूर्णिमाको रात देखिने पूर्ण चन्द्रबाट शुरु हुन्छ भने यसपछि प्रत्येक दिन चन्द्रमाको परिवर्तित आकृतिमा सोह्र दिन सम्म अर्थात कार्तिक कृष्ण औसीको निष्पट अन्धकार रातसम्म पूजा गर्ने गरिन्छ । यसरी सोह्र कलाको स्वरुप भएको चन्द्रसंगै सोह्र लक्ष्मीको पूजा गरिन्छ । सोह्र लछमी अजिमाको रुपमा नेवाःहरुले महालक्ष्मी, सिद्धिलक्ष्मी, बुद्धलक्ष्मी, विश्वलक्ष्मी, भूवनलक्ष्मी, मन्द:लक्ष्मी, गृहलक्ष्मी, धान्यलक्ष्मी, खड्गलक्ष्मी, सन्तानलक्ष्मी, सत्यलक्ष्मी, मोक्षलक्ष्मी, प्रतिलक्ष्मी, ज्ञानलक्ष्मी, राज्यलक्ष्मी तथा धनलक्ष्मीको पूजा सोह्र दिनसम्म गर्दछौ । अन्तिम दिन लक्ष्मी पूजाको रात धनलक्ष्मीको पूजा गर्दछौ । सोह्र लक्ष्मीबाट हामी ज्ञान, विवेक, साहस र बल, सफलता, बुद्धिमान सन्तति, लामो आयु, यथेष्ठ अन्न, खुशी र आनन्द, बुद्धिमत्ता, सौन्दर्य र आकर्षण, उच्च लक्ष, उच्च सोच, ध्यान, नैतिकता, राम्रो स्वास्थ्य तथा सुन तथा अन्य प्रकारको धन माग्दछौ ।

यस्तै लक्ष्मी स्तुतिमा आदि लक्ष्मी (भाग्य र समृद्धिको देवी), सन्तान लक्ष्मी (सन्तान प्राप्ति गराउने देवी), विद्या लक्ष्मी (ज्ञान शिक्षा तथा सिपको देवी), धन लक्ष्मी (धन पैसाको देवी), धान्य लक्ष्मी (अन्न र सु-स्वास्थ्य की देवी), मेधा लक्ष्मी (विधि र विवेकको देवी), गज लक्ष्मी (शक्ति, श्रोत र साधनकी देवी), धीर लक्ष्मी (वीरता र धैर्यताको देवी), जय लक्ष्मी (सफलता तथा विजयको देवी), भाग्य लक्ष्मी (भाग्य र अवसरको देवी), कीर्ति लक्ष्मी (यश तथा किर्तिकी देवी), आरोग्य लक्ष्मी (स्वस्थताको देवी), सिद्धि लक्ष्मी (प्रगति तथा उन्नतिको देवी), सौन्दर्यलक्ष्मी (सौन्दर्य तथा रूप की देवी), साम्राज्यलक्ष्मी (मोक्ष प्राप्ति, अधर्म मुक्तिको देवी) तथा मङ्गललक्ष्मी (शुभ लगनको देवी) गरि सोह्र लक्ष्मीको स्तुति गरेको पाउँछौ ।

सोह्र लक्ष्मीको पूजनको अन्तिम दिन अर्थात लक्ष्मी पूजाका दिन नेवाःहरुले पूजा गर्ने लक्ष्मी अन्यले पूजा गर्ने लक्ष्मीसंग मिल्दैन । नेवाःहरुले पूजा गर्ने लक्ष्मी स्थानिय चित्रकारहरुले कागजमा बनाएको चित्रमा पूजा गर्ने गर्दछन् । मुर्तिमा पूजा गर्दैनन् । चार हात भएको पद्मासनमा बसेको लक्ष्मीको एक पाउ कछुवाको जिउमा टेकेको हुन्छ । अर्थात नेवारहरुले पूजा गर्ने लक्ष्मीको बाहन कछुवा हो । कछुवा सुस्त जीवमा पर्दछ साथै सहनशिल प्राणी पनि भनिन्छ । यसर्थ धन खर्चिदा कछुवाको चालमा बिस्तारै खर्चिनु पर्छ भन्ने सन्देश दिन्छ । दाँया हातमा ज्वालान्याहक र बाँया हातमा सिन्हमू बोकेको हुन्छ । यो दुवै सामग्री नेवारहरुको कुनै पनि कार्यक्रममा आबश्यक मानिन्छ । अन्य दुइ हात भने अभय र वर मुद्रामा हुने गर्दछ । साथै लक्ष्मीको दाँयावाँया कुवेर र ख्याक बसेको हुन्छ । कुवेरलाई धनसम्पतिको मालिक र ख्याकलाई धनसम्पतिको रक्षकको रुपमा लिइन्छ । रातो वर्णको लक्ष्मी महर्षिमर्दिनी हुन् । महिषासुरको बध गर्दा उग्र रुप धारण गर्ने महर्षिमर्दिनीलाई नै नेवारहरु महालक्ष्मीको रुपमा पूज्ने गर्दछन् ।

यसर्थ नेवारहरु लक्ष्मीको पूजा गर्दा राँगाको मासुको छ्वेयला, अण्डा, समयवजी तथा रक्सी र जाँड पनि चढाउने गर्दछन् । लक्ष्मी पूजासंगै नेवारहरुको स्वन्ति नख:को पनि शुरुवात हुन्छ । स्वन्ति भन्नाले तीन दिनसम्म मनाइने पर्व भएको हुँदा स्वन्ति भनिएको हो । नेवारहरु यमपञ्चक मनाउने गर्दैनन् । केवल तीन दिन स्वन्ति नख: मनाउने गर्दछन् । लक्ष्मी पूजाको दिन वर्षको अन्तिम दिन भएको हुँदा ब्यापारिक खाताको पनि अन्तिम दिन हुने गर्दछ । भोलिपल्ट कछलाथ्व प्रतिपदाको दिनबाट नयाँ वर्ष मनाउने गर्दछन् । यसै दिन नेवारहरु म्ह पूजा गर्ने गर्दछन् । नयाँ वर्षमा नयाँ उमंग र सफलताले भरिएको होस भनेर शरिर तथा आत्मा पूजा गर्ने गरिन्छ । म्ह पूजाको भोलिपल्ट भने दिदीबहिनीहरु दाजुभाइको पूजा गरेर किजा पूजा मनाउँछन् । यसरी तिहारको तीन दिन हर्षोल्लाससंग मनाउने गर्दछन् ।

प्रतिक्रिया