शनिबार, जेठ ५, २०८१

एआई नियमनका लागि जारी भयो पहिलो अमेरिकी कानुन 

नेपालखोज २०८० कार्तिक १४ गते १६:२६

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आर्टिफिसियल इन्टेलीजेन्स (कृत्रिम बौद्धिकता) बारे पहिलो पटक कार्यकारी आदेश जारी गरेका छन् । एआई कम्पनीहरूले अपनाउनु पर्ने सुरक्षा सूची र एआईले रोजगारीमा पार्ने प्रभाव बारेको खुलासा गर्नुपर्ने प्रमुख सर्तहरू यस कार्यकारी आदेशमा समेटिएका छन् ।

एआई नियमनबारे अमेरिकी काँग्रेसमा गहन र घनिभूत छलफल चली रहेको भए पनि यस सम्बन्धी कानुन तर्जुमा नभै सकेको अवस्थामा राष्ट्रपतिको कार्यकारी आदेशले प्रभावकारी कानुनका रूपमा काम गर्ने विश्वास गरिएको छ ।

कानुन बनाउन निकै समय लाग्ने संसदीय प्रक्रियाका कारण पनि सो कार्यकारी आदेशले एआईको कानुनी व्यवस्थाका रूपमा लामो समय काम गर्ने अनुमान गरिएको छ । एआई प्रविधिलाई नियमन गर्न बनाइएको यो पहिलो अमेरिकी कानुनी संयन्त्र हो ।

यस कार्यकारी निर्देशिकामा मुख्य रूपमा ४ वटा पक्षलाई समेटिएको छ । व्यक्तिको निजी सूचनामा एआई प्रविधिमा आधारित उत्पादनहरूले पार्ने प्रभावबारे स्पष्ट रूपमा देखिने आधारहरू हुनुपर्ने र निजी सूचनाको अर्थात् उपभोक्ताको गोपनीयताको अधिक्रमण हुन नहुने व्यवस्था गर्नुपर्ने विषय आदेशले समेटेको छ ।

यसै गरी एआई मार्फत विभेद बढाउने खतरा कम होस्, नागरिक स्वतन्त्रताको हनन् नहोस्, न्यायिक प्रक्रियामा र अपराध अनुसन्धानको स्वच्छतामा असर नपुगोस् भन्ने पक्षमा पनि विशेष ख्याल राखिएको छ ।

यस्तै एआईमा आधारित नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलता प्रवर्द्धन हुनसक्ने अवसरलाई पनि कार्यकारी आदेशले ल्याएको छ । खास गरी जलवायु परिवर्तन जस्ता संवेदनशील समस्या समाधानमा एआई प्रविधिले योगदान दिन सक्ने खालको काम हुन सकोस भनी दक्ष श्रम शक्तिलाई आकर्षित गर्ने लचिलो आप्रवासन नीति लिइएको छ ।

स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा एआई प्रविधिको प्रयोगलाई बढाउँदा अपनाउने मापदण्डहरूमा जिम्मेवार अभ्यासलाई प्रवर्द्धन गरिनुपर्ने सर्तहरू पनि कार्यकारी आदेशमा पारिएको छ ।

अमेरिकी सरकारले जारी गरेको यो एआई सम्बन्धी कानुनी दस्ताबेजले यो प्रविधिको विकासमा अपनाउनुपर्ने नैतिक र जबाफदेही पक्षहरूबारे एउटा आधार तय गरेको छ ।

एआईको नियमनका लागि चीनले अत्यन्त सङ्कुचित र नियन्त्रणात्मक कानुनी बाटो र युरोपले पनि नियन्त्रणात्मक नियमनको बाटो लिएको सन्दर्भमा यो अमेरिकी कानुनको स्वरूपले वैकल्पिक तर सही मार्ग दर्शन गर्ने अपेक्षा कृत्रिम बौद्धिकताका क्षेत्रमा योगदान दिइरहेको वैज्ञानिकहरूले पनि गरेको उल्लेख एआई बारेको प्रभावकारी सूचना श्रोत मानिने ‘‘ओपन टुल्स’’ न्युजले गरेको छ ।-INS

प्रतिक्रिया