रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो ।
लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आज पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ । नोभेम्बर १ तारिखदेखि सुरु गरिएको उत्खनन्मा प्राचीन कालका विहारका विभिन्न इँटाका पर्खालहरू र पोखरी फेला परेको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सल्लाहकार तथा दुरहाम युनिभर्सिटिको प्रोफेसर रविन कनिङ्गमले बताए ।
उनका अनुसार यस क्षेत्रमा प्राचीनका विभिन्न भौतिक संरचना छन् । भगवान् गौतमबुद्धको अस्तिधातु रहेको उक्त क्षेत्रमा सुरुमा ‘जियोफिजिक्स’ द्वारा केही आधार खोज्ने प्रयास गरिएको थियो । उक्त ‘जियोफिजिक्स’ कै आधारमा उत्खनन् गरेपछि ती भौतिक संरचना फेला परेको प्रोफेसर कनिङ्गमले जाकारी दिए ।
रामग्राम स्तूप भगवन् गौतमबुद्धको आठ अस्तिधातु मध्येको एक हो । बाँकी सात वटा अस्तिलाई विभिन्न राजाहरूले ८४ हजार टुक्रा गरेर विभिन्न ठाउँमा बाडे पनि रामग्राम स्तूपको भने कोलि राज्यले सिङ्गो नै राखेका छन् । जसको महत्त्व अन्य स्तूपभन्दा बढी रहेको बताइँदै आइएको छ ।
प्रतिक्रिया