सोमबार, वैशाख २९, २०८२

भरतपुर अस्पतालमा थपियो आईसीयूको श्यया

नेपालखोज २०८० मंसिर १६ गते ७:५०

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए ।

उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा श्यया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ । उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको श्यया शुल्क रु दुई हजार मात्र पर्छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ श्ययाको पिआइसियु सञ्चालनमा छन् ।

अस्पतालमा छ सय श्यया छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए । सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ । रासस

प्रतिक्रिया