सोमबार, जेठ ७, २०८१

विज्ञापन नदिने कम्पनीलाई एलन मस्कको गाली !

नेपालखोज २०८० मंसिर १६ गते १२:२२

काठमाडौं । आफ्ना भनाइ तथा गतिविधिहरुका कारण एलन मस्क बारम्बार चर्चामा आइरहन्छन् । सोसल मिडिया प्लाटफर्म एक्स (साविकको ट्वीटर) मा उनले पहिलैदेखि नै विभिन्न मुद्दाहरुमा आफ्ना विचार राख्दै आएका छन् ।

यिनै मस्क अहिले पुनः एकपटक चर्चामा छन् एउटा अन्तरवार्ताका कारण । जहाँ उनले एक्स प्लाटफर्ममा विज्ञापन नदिने कम्पनीहरुलाई अश्लील गाली गरेका छन् । मस्कले डिज्नी कम्पनीका सीईओलाई पनि गाली गरेका छन् ।

मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गरेका थिए । कम्पनीको स्वामित्व आफ्नो हातमा आएसँगै उनले यसको नामसँग प्लाटफर्ममा विभिन्न परिवर्तन गरे । तर ती सबैका कारण विज्ञापनदाताहरु एक्सबाट असन्तुष्ट देखिए ।

यद्यपि मस्क र विज्ञापनदाताहरु बीचको खिचातानी जगजाहेर नै छ । हालैमात्र मस्क पुनः एकपटक आफ्नो भनाइलाई लिएर विवादमा आएका थिए । उनले सोसल मिडिया प्लाटफर्ममा यहुदी समुदाय विरोधी पोस्ट गरेका थिए र त्यसप्रति माफी मागेका थिए । तर उनको त्यो विवादास्पद भनाइका कारण कैयन् ब्राण्डहरु उनीसँग रिसाए ।

फलतः डिज्नी तथा एप्पल जस्ता कम्पनीहरुले एक्स प्लाटफर्मबाट आफ्ना विज्ञापनहरु फिर्ता लिए । कुनै पनि सोसल मिडिया कम्पनीका लागि विज्ञापन निकै आवश्यक हुन्छ, किनकि विज्ञापन नै उनीहरुको आम्दानीको महत्वपूर्ण स्रोत हो ।

प्रतिक्रिया