शुक्रबार, वैशाख २१, २०८१

कालो हिमाल र हाम्रो पर्यटनको भविष्य

सुनिल उलक २०८० पुष ७ गते १३:००

नेपालको उत्तरी भूभाग सेताम्य हिमालहरुले भरिएका छन् । तर पृथ्वीको तापक्रम बढ्ने क्रमसंगै सेता हिमाल काला पहाडमा परिवर्तन हुँदै गइरहेका छन् । तापक्रम बढ्ने क्रमले वर्षात त बढाएको छ । साथसाथमा हिउँ पग्लिने क्रम पनि निकै बढेको छ । यो शताब्दीको अन्त सम्ममा नेपालका धेरै हिमाल काला पहाडमा परिवर्तन हुनेछन् । अति जाडो मौसममा केही समय सेताम्य देखिए पनि अन्य समय हिउँ रहने सम्भावना कम हुँदै जानेछ ।

यसको प्रत्यक्ष असर जनजीवनमा त पर्ने नै छ । हिमालबाट हिउँ पग्लिएर बगेका नदीका पानीमा निर्भर हामी विकराल पानीको समस्यामा बल्झनेछौ । साथै हिमालका हिउँ हेरेर बन्दै गरेका हाइड्रोपावरले भोलीका दिनमा झेल्ने समस्या पनि अलग्गै छ । साथै हिउँ पग्लिने क्रममा ठूला ठूला ग्लेसियरहरु झरेर हिमताल बन्ने र हिमताल फुटेर आउने बाढीले नदी किनारमा बसेका बस्ती सोत्तर पार्दै ठूलो जनधनको क्षति पनि हुनेछ । बिगतका केही घटना हाम्रा अगाडि उदाहरण हुन् ।

वि.सं. ११५६, १३१२ र १४०१ मा तीन पटक पोखरा क्षेत्र पुरै डुबेको थियो । दस हजार वर्ष अगाडि पनि बाढीले पोखरा डुबेको भन्ने भूगर्वविदहरुले पत्ता लगाएका थिए । पोखरा अझै जोखिममा छ । वि.सं. १५६२ जेठको अन्तिम साता लोमाथाङ केन्द्रविन्दु भइ ८.९ रेक्टरको भूकम्प गएपछि यस क्षेत्रमा ठूलो भूकम्प गएकै छैन । वि.सं. १३०६ को भूकम्प पछि अन्नपूर्ण चौथो हिमालको ५०० मीटर टुप्पोको भाग नै चोइटिएको भूगर्वविदहरुको अध्ययनले देखाइ सकेको छ ।

११ डिसेम्वरका दिन अन्तराष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा एक कार्यक्रम राखिएको थियो, हिमाल किन कालो हुदैछ रु के यो परिवर्तन हाम्रो जीवनसंग सम्बन्धित छ (Why snow mountains turning black? is this change related with our daily life ?) यस कार्यक्रममा वक्ताहरु, नेपाली टाइम्सका प्रधान सम्पादक कुन्द दीक्षित, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका डा. अमिना महर्जन, विश्व वन्यजन्तु कोषका प्रतिनिधि डा. घनश्याम गुरुङ तथा पोखराको गहन अध्ययन गरिरहनु भएका डा. जगन्नाथ अधिकारी हुनुहुन्थ्यो । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नोरु शेर्पा सभापतिका रुपमा रहेको सो कार्यक्रम नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुरकरले सञ्चालन गरेका थिए ।

यश कार्यक्रमका योजनाकार भने डा। गणेश गुरुङ थिए । साथमा राखिएको तस्विर डिसेम्वर महिनाको मध्यमा एकाबिहानै सूर्योदयको समयमा लिइएको हो । यस तस्विरमा ७००० मीटर भन्दा उचाइको अन्नपूर्ण दक्षिण र अन्नपूर्ण हिमालमा त हिउँ देखिन्छ तर ७००० मीटर भन्दा कम उचाइका हिउँचुली र माछापुच्छ्रेमा भने निकै कम हिउँ देख्न सकिन्छ । विज्ञहरुको अनुसन्धानले देखाए अनुसार यो शताब्दीको अन्त सम्ममा ७००० मीटर भन्दा होँचा हिमालमा जाडो महिनामा मात्रै हिउँ देख्न पाइनेछ ।

माछापुच्छ्रेको सुन्दरता देखाएर बाँचेको यहाँको पर्यटन बिस्तारै हिउँ पग्लिदै परिवर्तन हुँदै गएको कालो डाँडो देखाएर पर्यटक आउलान र रुरु अर्को पोखराको आकर्षणका रुपमा रहेको फेवाताल पनि संकुचित हुँदै गएको छ । हिउँदमा तालमा पानी घटेको मौका छोपेर सिमसार क्षेत्रमा पुरुवा खन्याउँदै प्लटिङ गर्ने समुह सक्रिय रहेको छ ।

कुनै बेला केवल बैदामेको ब्यापार थलो रहेको ताल वरपर वा नजिकको क्षेत्र अहिले अधिकांश डलरका लागि बैदाम पसेकाहरुले ओगटेको छ । यी समुहलाई ताल वा पोखराको पर्यटनको खासै गहिरो माया हुँदैन । डलर फल्न छोड्यो भने यो समुह फेरी बिस्तारै अर्को डलर फल्ने ठाउँमा पुग्दछन् । जसरी पोखराको बैदामलाई लेकसाइड बनाउन आइपुगे ।

बैदाम क्षेत्रमा पर्यटकको बृद्धि र यहाँको आर्थिक सक्रियताले पोखराको सिङ्गो अर्थतन्त्रलाई नै प्रभाव पारिरहेकोमा दुइ मत छैन । तर यसले लामो समय सम्म यहाँको पर्यटनलाई टिकाउन पनि सहयोग गरिरहेको छ वा पर्यटक आउन्जेल मात्रै टिक्ने मनसाय लुकेको छ, बुझ्नु जरुरी छ ।

प्रतिक्रिया