शनिबार, असार २१, २०८२

मैले सकेसम्म राम्रो गरेँ : बाइडेन

नेपालखोज २०८१ भदौ ४ गते १४:१५

सिकागो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अँगालो राख्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गरेका थिए ।

‘मेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ’, ८१ वर्षीय बाइडेनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उद्धृत गर्दै भने । उनले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध उपराष्ट्रपतिलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गरे ।

सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले बाइडेनलाई तालीको गडगडाहतसहित भब्य स्वागत गरेको थियो ।

बाइडेनले डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताएका थिए । सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालिन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन् ।

बाइडेनको कमजोर प्रस्तुतीका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल भएका छन् ।

पाँच दशकलामो राजनीतिक जीवनको आसन्न अन्त्यबारे सोचिरहेका बेला उनले ट्रम्प प्रशासन ओभल अफिसमा नफर्कियोस् भनेर आफूले जे सोचेका थिए, त्यही गरेको बताए ।

‘मलाई राजनीति मन पर्छ तर म मेरो देशलाई बढी माया गर्छु,’ बाइडेनले राष्ट्रपतीय उम्मेदवारबाट गरेको त्याग अमेरिकाको हितका लागि भएको जोड दिँदै भने । उनले राजिनामा माग्ने डेमोक्र्याट्सको भावनालाई सम्बोधन गर्दै भने, म मेरो पार्टी र देशको चिन्ता गर्ने र नेतृत्व गलत व्यक्तिमा नजाओस भन्ने सबैप्रति रिसाउने होइन आभारी हुनुपर्छ भनेका थिए ।

प्रथम महिला जिल बाइडेन र छोरी एश्लेको परिचयपछि बाइडेन र ह्यारिस मञ्चमा प्रवेश गर्दा आउँदा चार मिनेटको लामो तालीको गडगडाहटले स्वागत गरिएको थियो भने प्रतिक्रियामा बाइडेन र ह्यारिस दुवैले आँसु पुछेका थिए ।

‘हायर लभ’ बोलको गीतमा स्टेजबाट बाहिरिनुअघि बाइडेनले बिदाइ भाषण गर्दा दर्शक दिर्घामा रहेका धेरै जनाको गहभरी आँशु भरिएको देखिन्थ्यो । ह्यारिसले यसअघि डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरू अधिवेशनको अन्तिम दिनसम्म नबोल्ने भन्दै आफ्ना अग्रज नेताप्रति सम्मानभाव व्यक्त गरेका थिए ।

‘म हाम्रा स्वविवेकी राष्ट्रपति जो बाइडेनलाई पार्टी नेताको रूपमा भब्य कार्यक्रमसाथ विदाई गरेर अभियानको थालनी गरेको घोषणा गर्दछु ।’ ‘हामी तपाईंप्रति सधैं आभारी छौं,’ उनले भने ।

यो निःसन्देह बाइडेनको लागि एक कठिन विदाइ थियो तर उनले ह्यारिसको अभियानको लागि ‘सर्वश्रेष्ठ स्वयंसेवक’ हुने प्रण गर्दै आफ्नो विरासतले अमेरिकामा सुशासन कायम राख्नेमा विश्वास व्यक्त गरे ।

बाइडेनले ट्रम्पको कार्यकाल र जनवरी ६, २०२१ को क्यापिटोल दङ्गापछि ‘अमेरिकाको आत्मा’ लाई निको पार्ने कार्य, अर्थतन्त्र र स्वास्थ्य सेवालगायत आफ्नो गौरवपूर्ण उपलब्धीको सूची प्रस्तुत गरेका थिए ।

आफ्नो कम लोकप्रियता रेटिङ र ट्रम्पविरुद्धको बहसको पराजयका बावजुद बाइडेनले आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

राष्ट्रपति बाइडेनले भने, ‘मैले आफ्नो करियरमा धेरै गल्ती गरेको हुनसक्छु तर मैले तपाईंहरूलाई आफ्नो सर्वश्रेष्ठ सेवा दिएको छु ।’

प्रतिक्रिया