सोमबार, वैशाख १५, २०८२

गण्डकीमा लामखुट्टेको बासस्थान नष्ट अभियान

नेपालखोज २०८१ भदौ ५ गते १३:२१

गण्डकी । समुदायमा डेङ्गी फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुआत गरिएको छ । सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो ।

कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गी रोकथाममा जुटेका हुन् । पछिल्लो केही सातायता पोखरामा डेङ्गी सङ्क्रमण तीव्र बनेपछि हरेक शुक्रबार महानगरभित्रका सरकारी कार्यालय र सार्वजनिकस्थलमा उक्त अभियान सञ्चालन गरिएको महानगरको स्वास्थ्य महशाखाका सिअहेब अधिकृत अर्जुन क्षेत्रीले जानकारी दिए ।

महानगरबासीलाई पनि घर वरपर पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिन र त्यस्ता स्थल नष्ट गर्न सूचित गरिएको उनको भनाइ छ । ‘लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरिएको छ’, उनले भने, ‘वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ ।’ डेङ्गी लागेर गत शनिबार पोखराको एक अस्पतालमा ५२ वर्षीया महिलाको निधन भएको घटनाले सरोकार भएका पक्षलाई डेङ्गी नियन्त्रणमा थप संवेदनशील बनाएको उनले बताए ।

गत साउन तेस्रो साता एकैदिन पोखरा महानगरभिका ४० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि महानगरले डेङ्गी रोकथाम र नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि १० : ३० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको सिअहेब अधिकृत क्षेत्रीको भनाइ छ । गत पुसयता पोखरा महानगरभित्र ६ सय ८५ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउनुपर्ने उनको सुझाव छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया