देशभर ११ हजार पाँच सय नाघ्यो बैंकहरुको शाखा

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा सङ्ख्या ११ हजार नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रिय स्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५५ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सहितका एक सय १० वटा संस्थाहरूको कुल शाखा सङ्ख्या ११ हजार पाँच सय ५६ वटा पुगेको हो ।
पछिल्लो अवधिमा सात वटा प्रदेशमा अन्तर्गतमा ७७ वटा जिल्लामा सञ्चालनमा रहेका बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा सङ्ख्या मध्ये वाणिज्य बैंकहरुको पाँच हजार ५६, विकास बैंकहरुको एक हजार एक सय ३५, फाइनान्स कम्पनीहरूको दुई सय ८८ र लघुवित्त संस्थाहरूको पाँच हजार ७७ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार २०७९/०८० मा भने वाणिज्य बैंकहरुको पाँच हजार ४९, विकास बैंकहरुको ११ सय २८, फाइनान्स कम्पनीहरूको दुई सय ८४ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय २८ समेत गरी कुल ११ हजार पाँच सय ८९ वटा शाखाहरू सञ्चालनमा रहेका थिए ।
यसअघि अर्थात् आर्थिक वर्ष २०७८/०७९ मा भने वाणिज्य बैंकहरुको पाँच हजार नौ, विकास बैंकहरुको ११ सय १८, फाइनान्स कम्पनीहरूको दुई सय ६७ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय ३४ समेत गरी कुल ११ हजार पाँच सय २८ वटा शाखाहरू सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार २०७९/०८० मा बैंकिङ क्षेत्रमा प्रतिशाखा जनसंख्या दुई हजार पाँच सय १७ रहेको थियो । पछिल्लो समय अर्थात् २०८०/०८१ मा भने बैंकिङ क्षेत्रमा प्रतिशाखा सेवाग्राहीको सङ्ख्या दुई हजार पाँच सय २४ रहेको छ ।

प्रतिक्रिया