हात्ती नभएको हजारको नोट !

काठमाडाैं । पैसाका कुरा गरिँदा बोलीचालीमा हात्ती भन्ने बित्तिकै हजारको नोट भन्ने बुझ्ने गरिन्छ । तर नेपालको पहिलो हजारको नोटमा हात्ती थिएन । दोस्रो नोट देखी बल्ल हात्ती राख्न थालिएको थियो । धेरै कमलाई मात्र थाहा होला । नेपालको हजारको नोटमा राखिएको हात्ती भारतीय हात्ती थियो । यो गल्ती वर्षौँसम्म रहिरह्यो । २०७७ साउन १३ गते देखि निष्रकाशित रु १००० को नोटमा पछिल्लो गल्तीलाई सुधार्दै एक हजारको नोटमा नेपालकै हात्ती राख्न जमर्को गरेको छ । नेपाल मै जन्मिएका अति नै दुर्लभ जुम्ल्याहा हात्ती राम लक्ष्मण जोडिको हात्ती भएको हजारको नोट चलनचल्तीमा आइसकेको छ ।
राजा महेन्द्र कै शासनकालमा गवर्नर यादव प्रसाद पन्त रहँदा २०२६ पौष १३ गते पहिलो पटक रु हजारको नोट प्रचलनमा आएको थियो । यस नोटको अगाडिको भागमा राजा महेन्द्रको तस्बिर, स्वयम्भू स्तूप र हारती माताको मन्दिर राखिएको थियो भने पछाडिको भागमा पृष्ठभूमिमा अन्नपूर्ण हिमशृङ्खलाको साथ ग्रामीण पर्यटकीय गाउँ घान्द्रुकको तस्बिर राखिएको थियो । यो नोट अ१ को २० लाख थान निष्कासन गरिएको थियो । बेलायतको डे ला रु कम्पनीमा छापिएको थियो ।
गैँडा नभएको सय रुपैयाँको नोट
हाम्रो बोलीचालीमा नै गैँडा भन्ने बित्तिकै एक सय रुपैयाँ भन्ने बुझ्दछौ । तर कुनै बेला गैँडा नराखेर सयको नोट पनि निकालिएको थियो । २०२७ फागुन ५ गते नेपाल राजपत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै राजा महेन्द्रको समयमा यादव प्रसाद पन्त गभर्नरको हस्ताक्षर रहेको रु १०० को नोटमा गैँडाको स्थानमा भक्तपुरको दरबार चोकको स्वर्ण द्वार र पचपन्न झ्याले दरबार तथा सिद्धिलक्ष्मीको मन्दिर राखिएको थियो ।
यस अगाडिको आकृति भन्दा केही सानो यो नोटको अग्र भागमा भने राजा महेन्द्र राष्ट्रिय पोसाकको साथ ढाका टोपीमा सजिएको तस्बिर राखिएको थियो । अग्र भागकै बिचमा सगरमाथा तथा ल्होत्से र नुप्त्से हिमाल, बायाँ तर्फ ताराको मूर्ति र बायाँ तर्फ भक्तपुरको न्यातपोलको मन्दिरको तस्बिर राखिएको थियो । यो नोट पनि बेलायतको डे ला रु कम्पनीमा नै छापिएको थियो। अ१ देखि अ३ का करिब ३० लाख थान नोट निष्कासन गरिएको थियो ।
यस अगाडी सयको पहिलो नोट देखी नै दायाँ तर्फ फर्केको गैँडा राख्न थालिएको थियो । यादव प्रसाद पन्तकै हस्ताक्षरमा गैँडा भएको नोट चलनचल्तीमा आएको केही समय पछि नै गैँडा विनाको सयको नोट छापिएको थियो । तर यो नोट चलनचल्तीमा आएको केही समय पछि नै राजा महेन्द्रको स्वर्गारोहण भए पछि राजा वीरेन्द्रको शासनकालमा निष्कासित सयको नोटमा भने गैँडा दायाँबाट बायाँतर्फ फर्किएको राखियो । साथै गैँडा पनि केही जवान राखिएको थियो ।
प्रतिक्रिया