मिठाई जीवनको मिठास होस् विष हाेइन’

हिजोआज बजारमा बेचिने धेरै मिठाईहरूमा स्वास्थ्यका लागि हानि कारक विषाक्त तत्वहरू मिसावट हुने खबरले जनतामा चिन्ता बढाएको छ। विषाक्त मिठाईले स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ । जुन हामीले थोरै मात्र ध्यान दिने गरेका छौं । मिठाईमा हुने प्रमुख विषाक्त पदार्थहरूमा कृत्रिम रंग, घटिया गुणस्तरको तेल वा घिउ, चिनीको गलत प्रयोग, र केमिकल युक्त तत्वहरू पर्दछन् । यस्ता रासायनिक पदार्थहरू स्वास्थ्यको दृष्टिले अत्यन्तै हानिकारक हुन्छन् । विशेष गरी चाडपर्वका समयमा माग अत्यधिक हुने हुँदा मिठाई उत्पादकहरू लाभ लिने लोभमा कम गुणस्तरका सामग्रीहरू प्रयोग गर्ने गर्छन् ।
१ कृत्रिम रंग :
मिठाईलाई आकर्षक बनाउनका लागि विभिन्न कृत्रिम रंगहरू प्रयोग गरिन्छ । केही रंगहरू खाद्य सामग्रीमा प्रयोग गर्न अनुमति प्राप्त भए पनि धेरैले अघोषित रूपमा गैर/खाद्य रंगहरू प्रयोग गर्छन्, जसले पेटको समस्या, एलर्जी र क्यान्सरको सम्भावना बढाउँछ ।
२ खराब गुणस्तरको तेल र घिउ :
मिठाई बनाउने क्रममा राम्रो गुण स्तरको घिउ वा तेल महँगो पर्न सक्ने हुँदा केही उत्पादकहरूले सस्तो र गुणस्तरहीन तेलको प्रयोग गर्छन् । यस्तो तेलको बारम्बार प्रयोगले ट्रान्स(फ्याटको मात्रा बढ्छ, जसले मुटु सम्बन्धी रोगहरू निम्त्याउँछ ।
३ कृत्रिम मिठास : चिनीको सट्टा प्रयोग गरिने कृत्रिम मिठासहरू सेक्रिन आदिले तुरुन्त गुलियो स्वाद ल्याए पनि दीर्घकालीन रूपमा मृगौला, कलेजो, र स्नायु प्रणालीमा नकारात्मक असर पुर्याउन सक्छ ।
त्यस्तै विषाक्त मिठाईले त झन शारीरिक प्रणालीमा विभिन्न समस्याहरू निम्त्याउँछ । यसले पाचन प्रणालीलाई कमजोर बनाउनुका साथै, पेट दुख्ने, डायरिया हुने, र वान्ता आउने समस्या निम्त्याउन सक्छ। यसका साथै, रासायनिक तत्वहरूको दीर्घकालीन सेवनले क्यान्सर, मुटु रोग, कलेजोमा क्षति, र प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्छ । बालबालिकाहरू र वृद्धहरूको लागि यस्ता विषाक्त मिठाईहरू अझै खतरनाक हुन्छन्, किनकि उनीहरूको शारीरिक प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।
मिठाईका उपभोक्ताहरूले मिठाईको सुन्दरता वा स्वादलाई मात्र हेरि राख्नु हुँदैन । मिठाईको गुणस्तर र स्वास्थ्यमा पर्ने असरबारे पनि सजग रहनुपर्छ । बजारबाट मिठाई किन्ने बेलामा त्यसको मिति, प्रयोग भएका सामग्रीहरू र उत्पादनस्थलबारे जानकारी लिनु आवश्यक छ । स्थानीय वा विश्वासिलाे उत्पादकहरूबाट मात्र मिठाई खरिद गर्नु राम्रो हुन्छ ।
मिठाई हाम्रो संस्कृतिको अभिन्न हिस्सा हो, तर यसमा हुने विषाक्त तत्वहरूको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्न सक्छ । चाडपर्वको खुशीलाई लामो समयसम्म कायम राख्नका लागि स्वस्थ र सुरक्षित मिठाईहरूको छनोट गर्न जरुरी छ। मिठास जीवनको मिठास होस् । न कि विष ।
प्रतिक्रिया