शनिबार, वैशाख १३, २०८२

स्क्रिनमा बस्दा आँखामा समस्या 

नेपालखोज २०८१ असोज १३ गते ८:४९

हामी सबैलाई थाहा छ मोबाइल फोन आदिमा बालबालिकाको बढ्दो लगावका कारण उनीहरुको दृष्टि कमजोर बन्दै गएको छ । यस सम्बन्धमा गरिएको एउटा नयाँ अध्ययनले आज विश्वका करिब एक तिहाइ बालबालिका तथा किशोरकिशोरीहरू नजिकको दृष्टि वा मायोपियाबाट पीडित रहेको खुलासा गरेको छ ।

जसका कारण बालबालिकालाई टाढाका कुराहरू हेर्न समस्या भइरहेको छ । यति मात्र होइन आगामी २६ वर्षमा यो समस्याबाट पीडित बालबालिकाको संख्या ७४ करोड पुग्ने अनुमान गरिएको छ । यो अध्ययनको नतिजा ब्रिटिस जर्नल अफ ओपथाल्मोलोजीमा प्रकाशित भएको छ । उल्लेखनीय के छ भने नजिकको दृष्टि वा मायोपिया आँखाको एउटा सामान्य  समस्या हो । यसबाट पीडित व्यक्तिले टाढाका वस्तुहरू धमिलो देख्छन् ।

यो विकारमा आँखाको कोर्नियाको आकार परिवर्तन हुन्छ। फलस्वरूप जब प्रकाश आँखामा प्रवेश गर्छ तब त्यो रेटिनामा केन्द्रित हुनुको सट्टा रेटिना भन्दा अलि अगाडि केन्द्रित हुन्छ । परिणामस्वरुप छवि स्पष्ट हुनुको साटो धमिलो हुँदै जान्छ । शोधकर्ताहरूका अनुसार यो विकार सामान्यतया बाल्यकालमा सुरु हुन्छ  र उमेर बढ्दै जाँदा समस्या पनि जटिल हुँदै जान्छ । यसो हुनुको कारण पहिले बालबालिकाहरु खुल्ला हावामा खेल्थे । अहिले उनीहरु पर्दा बन्दगरिएको कोठामा स्क्रीनका साथ बढी समय बिताउन थाल्नु पनि ह‍ो ।

यसक्रममा खेलकुद होस् वा पढाइ, मोबाइल, ट्याब्लेट, टिभी, कम्प्युटर आदिमा बालबालिकाको लगाव बढ्दै गएको छ । अन्वेषकहरूका अनुसार कोभिड–१९ को महामारी ताका गरिएको लकडाउनले अवस्थालाई अझ खराब बनाएको छ, किनभने यसले बालबालिकालाइ स्क्रिनमा बढी समय बिताउन दिएको छ भने बाहिर खेल्न कम समय दिएको छ । यो विश्लेषणका लागि शोधकर्ताहरूले २७६ वटा अध्ययनसँग सम्बन्धित डाटा प्रयोग गरेका थिए । ती अध्ययनमा ५० देशका ५४ लाखभन्दा बढी सहभागी थिए ।

अध्ययनमा समावेश गरिएका बालबालिका तथा किशोरकिशोरीहरूको उमेर ५ देखि १९ वर्षको बीचमा थियो । तीमध्ये १९.७ लाख नजिकको दृष्टिदोषबाट पीडित थिए । अनुसन्धानकर्ताहरुका अनुसार यो विकार जनस्वास्थ्यका लागि प्रमुख चिन्ताका रुपमा देखा परेको छ । यो समस्या खासगरी एसियामा बढी गम्भीर छ । यो अध्ययनको नतिजा अनुसार जापान र दक्षिण कोरिया जस्ता एसियाली देशमा अवस्था सबैभन्दा खराब छ । जापानमा ८५ प्रतिशत बालबालिका मायोपियाबाट पीडित छन् भने दक्षिण कोरियामा यो संख्या ७३ प्रतिशत छ ।

त्यस्तै चीन र रुसमा ४० प्रतिशतभन्दा बढी बालबालिका यो समस्याबाट पीडित छन् । तीन दशकमा तीन गुणा बढि समस्या विश्लेषण अनुसार सन् १९९० देखि २०२३ सम्म बालबालिकामा मायोपियाका केस तीन गुणा बढेका छन् । उल्लेखनीय छ – यसको बृद्धि १९९० र २००० बीच २४ प्रतिशतबाट २०११ देखि १९ सम्म ३० प्रतिशत र २०२० देखि २३ सम्म ३६ प्रतिशत छ। यसरि हेर्दा आज विश्वका तीन मध्ये एक बालबालिका यो समस्यासँग जुधिरहेका छन् । अध्ययनले सन् २०५० सम्ममा विश्वका ७४ करोड बालबालिका यो समस्याको सिकार बन्न सक्ने प्रक्षेपण गरेको छ ।

तथ्याङ्कले के पनि खुलासा गरेको छ भने किशोरकिशोरीहरूमा मायोपियाको दर साना बालबालिकाको तुलनामा बढी छ , जुन २०२०-२३ मा ५४ प्रतिशत पुगेको छ। सन् १९९० र २०२३ को बीचको स्थिति हेर्दा बालबालिकाको यो वृद्धि किशोरकिशोरीको तुलनामा झण्डै दोब्बर छ । अध्ययन अनुसार यो समस्या धनी देशको तुलनामा कम वा मध्यम आय भएका देशमा बढी देखिन्छ। यो दर जापानमा उच्च भए पनि पाराग्वेमा सबैभन्दा कम छ । अध्ययन अनुसार  केहि कारकहरू मायोपियाको उच्च दरसँग सम्बन्धित छन् ।

यसमा पूर्वी एसियामा बस्ने (३५ प्रतिशत), सहरी क्षेत्र (२९ प्रतिशत), महिला (३४ प्रतिशत), किशोरी (४७ प्रतिशत) र माध्यमिक शिक्षापछिको शिक्षा जस्ता कारकहरू पर्छन् । सन् २०२३ मा देखा परेको प्रवृत्ति अनुसार २०५० सम्ममा ४० प्रतिशत बालबालिका तथा किशोरकिशोरीहरू यो समस्याबाट ग्रसित हुनेछन् । आश्चर्यको कुरा के छ भने केटा र युवा पुरुषको तुलनामा केटी र युवतीहरूमा नजिकको दृष्टि बढी हुन्छ । तथ्याङ्क अनुसार सन् २०३० सम्ममा ३१ प्रतिशत केटाहरू कमजोर दृष्टिको सिकार हुनेछन् । योसँगै केटीहरूमा यसको प्रकोप ३३ प्रतिशत पुग्नेछ भने २०५० सम्ममा ४२ प्रतिशत केटीहरूले यो समस्या संग संघर्ष गर्नेछन् ।

विश्लेषणले के पनि देखाएको छ भने यो समस्या छ देखि १२ वर्षका बालबालिकाको तुलनामा १३ देखि १९ वर्षका किशोरकिशोरीहरूमा बढी देखिन्छ। सन् २०५० सम्ममा २७.५ प्रतिशत बालबालिका यसको सिकार हुनेछन् । जबकि किशोरकिशोरीहरूमा यो संख्या बढेर ५२.५ प्रतिशत पुग्नेछ । हेर्ने हो भने टिभी, मोबाइल, ल्यापटप जस्ता उपकरणको अगाडि बढी समय बिताउनु, खराब जीवनशैली, आनुवंशिक कारण र कृत्रिम प्रकाशमा बढी समय बिताउनु जस्ता कारकहरू मुख्यतया यो विकारका लागि जिम्मेवार छन् ।

यसका लक्षणहरूमा टाढाका कुराहरू स्पष्ट रूपमा हेर्न नसक्नु , बारम्बार आँखा झिम्काउनु, आँखा मिच्नु, धेरै नजिकबाट टिभी पढ्ने वा हेर्नु, आँखामा दबाबका कारण टाउको दुख्नु प्रमुख छन् । यस्तो अवस्थामा बालबालिकालाई यो रोगबाट जोगाउन उनीहरुले मोबाइल, ल्यापटप जस्ता स्क्रिन हेरेर समय बिताउने समय घटाउनुपर्छ र खुला हावा तथा उज्यालोमा समय बिताउनु पनि उनीहरुका लागि फाइदाजनक हुन सक्छ भने आँखाको ज्योति बढाउन सन्तुलित आहार र व्यायाम पनि आवश्यक हुन्छ ।

प्रतिक्रिया