शनिबार, वैशाख १३, २०८२

पोखरामा खानेपानी तथा बाल धाराको इतिहास 

सुनिल उलक  २०८१ असोज १३ गते १६:२७

काठमाडाैं । मानिसहरूको दैनिक जीवनमा सबैभन्दा महत्त्वपूर्ण नै पानी हुने गर्दछ । मानव बस्ती विकाससँगै सबैभन्दा पहिले पानीको आवश्यकता पर्दछ । तसर्थ विश्वका प्रमुख सहरहरू सबै खोला नदी किनारमा बसेका छन् । यसरी प्राकृतिक श्रोतका खोलानाला पछि मानिसले कुवा इनार तथा ढुङ्गे धाराको विकास गरेका थिए । उपत्यकामा पहिलो ढुङ्गे धारा विसं ६०७ मा बनेको थियो । भने त्यही समय कालमा विसं ६२७ मा बनेको मगँ हिटीबाट अझै पनि पानी आउने गर्दछ । यसरी बनेका ढुङ्गेधाराहरुमा त्यति बेला राजकुलोबाट पानी ल्याइन्थ्यो । 

पोखराको सबैभन्दा पुरानो ढुङ्गे धाराको इतिहास भने झन्डै २०० वर्ष पुरानो छ । राजा रणबहादुर शाहको पालामा काठमाडौं उपत्यकामा फैलिएको बिफरको प्रकोप पोखरामा पनि फैलिएको थियो । जसले गर्दा पोखराका पनि जान्ने सुन्नेले शीतलादेवीको मन्दिर स्थापना गर्ने जमर्को गरे । विसं १८८९ वैशाख पूर्णिमाको दिन पोखरामा शीतलादेवीको मन्दिर स्थापना भयो । यो मन्दिर स्थापना पछि मन्दिरमा पानीको आवश्यकताको महसुस गरी काहुँ डाँडाको फेदीबाट कुलो बनाएर ढुङ्गे धारा राखियो । यो नै पोखराको पहिलो ढुङ्गे धारा थियो । यो धाराले केवल मन्दिरको पूजाआजा मात्र होइन त्यस क्षेत्रमा बसोबास गर्नेको लागि पनि सहज बनायो । यो ढुङ्गे धारा स्थापनाको झन्डै साठी वर्ष पछि विसं १९५० तिर पोखराको नालामुखमा भुपेन्द्रजंग राणाले ढुङ्गे धाराको स्थापना गरेका थिए । यसरी सेती पारी र वारी दुई ठाउँमा ढुङ्गे धाराको स्थापना भएको देखिन्छ । 

यस्तै बि.सं. १९५२ मा वीर शम्शेरको शासनकालमा काठमाडौंमा पाइप लाइन जोडेर नेपालमा पहिलो पटक आधुनिक किसिमको वीर धारा नामबाट सार्वजनिक कलधाराको सुरुवात भएको थियो । काठमाडौ उपत्यकामा वीरधाराको सुरुवातको केही वर्ष पछि वीर शम्शेरले नै आफ्नो बाबुको नाममा वीरगन्जमा धीरधाराको नाममा सार्वजनिक कलधारा जडान गरेका थिए । केही अग्लो ठाउँमा पानीको टङ्की निर्माण गरी पाइपबाट पानीको वितरण गरिएको थियो । पछि वीर धारा पाल्पा र भक्तपुरमा पनि जडान भयो । चन्द्रशमशेरको पालामा अमलेखगन्ज र जाजरकोटको खलङ्गामा चन्द्र धारा जडान भयो । साथै उपत्यकामा पनि वीर धारा बन्द भएको ठाउँमा चन्द्र धारा जडान गरेका थिए । 

यसरी विभिन्न स्थानमा सार्वजनिक कलधाराको सुरुवात भएको केही वर्ष पछि बि.सं. १९७७ सालमा चन्द्रशमशेरको माहिला छोरा बबर शम्शेरले आफ्नो स्वर्गीय छोरा बालशम्शेरको सम्झनामा पोखरा बजारमा सार्वजनिक धाराको रूपमा बाल धारा जडान गरेका थिए । पानीको श्रोतको लागि पोखरादेखि पश्चिममा तीन वटा ट्याङ्की बनाएर पोखराको १४ स्थानमा सार्वजनिक धारा स्थापना गरिएको थियो ।

बेलायतबाट नै इन्जिनियर झिकाइ सो धाराको लागि उचाइमा ट्याङ्की स्थापना गरिएको थियो । धाराको पानीको व्यवस्थाको लागि ट्याङ्की बनाइएको ठाउँको नाम नै धारा पानी रहन गयो । पोखरा बजारको प्रमुख स्थान दक्षिणमा १. सिमल चौर, २. सिद्धार्थ चौक (केशववीर जङ्ग राणाको घर नजिकै), ३. गैह्रापाटन (भूपेन्द्र जङ्ग राणाको घर नजिकै), ४. नालाको मुख, ५. भीमसेन मन्दिर अगाडी (जेल नजिकै कैदीहरुको आवश्यकताको लागि), ६. भैरव टोल, ७. मोहरिया टोल संगमचौक, ८. बिन्द्यवासिनी मन्दिर, ९. टुँडिखेल नजिकै, १०. तेर्सापट्टी, ११. साँघुकोमुख, १२. मिलिशिया अड्डा, १३. रानीपौवा, १४. माटेपानी (पुछारको धारा वा पुरानो धारा) । 

१९६२ सालमा जन्मेका बबरशम्शेरका जेठा छोरा बालशम्शेरको केवल १४ वर्षको उमेरमा देहान्त भयो । जेठो छोराको देहान्तले दुखित भएका बबर शम्शेरलाई छोराको नाममा पुण्य काम गर्न सुझाए पछि पोखरामा बाल धारा बनाउन तैयार भए । १४ वर्षको उमेरमा देहान्त भएको हुँदा पोखरा बजार क्षेत्रको विभिन्न स्थानमा १४ वटा बाल धारा स्थापना गरेका थिए । धाराको पाइप तथा अन्य सामग्री किन्नका लागि बबर शमशेरले तत्कालीन समयमा नै रु एक लाख खर्चिएको विवरण भेटिन्छ । बेलायतबाट मगाइएका कलधाराका सामग्री बुटवल देखि पोखरा सम्म बोकेर नै ल्याइएको थियो । बुटवल देखि कलधाराका सामग्री तथा फलामे पाइपहरू ७-८ दिन लगाएर बोकेर ल्याइएको थियो । यी सामग्री बोक्ने पोखरेलीहरू नै गएका थिए । पोखरेलीहरूले निःशुल्क ढुवानी गरेका थिए । लस्करै पाइप बोकेर आउने पोखरेलीहरूले बाटोमा यसरी गीत गाउँदै आएका थिए । 

सतहत्तर सालमा राजाको काममा

ढ्वाङ बोक्ने गयो चैत वैशाखको घाममा

हुकुम भयो राजा खुसी भइन रानी

खान्छन् दुनियाँले कलधाराको पानी

१९७७ तिर नेपालमा दमकल आएकै थिएन । तर पनि यी धाराहरूमा दमकलको लागि पानी तान्ने व्यवस्था समेत बनाइएको थियो । तर दुखको कुरा पोखरेली धाराको दायाँ तर्फ सिक्रीले बाँधिएको के हो भन्ने नै थाहा पाएनन् । साथै यसको उपयोग गर्न नै परेन । fire hydrant भनिने यस किसिमको व्यवस्था युरोप अमेरिकामा सहरको ठाउँ ठाउँमा जडान गरिएको हुन्छ । 

करिब ५० वर्ष पोखरेलीलाई यी १४ वटा कलधाराले धाने । हुन त २०१६ सालतिर राजा महेन्द्रले फेवाताल किनारमा रत्न मन्दिर नामको दरबार बनाए पछि बाल धाराको लागि ल्याइएको पाइपबाट शाखा जोडेर पानी लगिए पछि कतिपय धारामा पानी आउन कम हुन थालेको थियो । २०२१-२२ साल तिर भोटे खोलाबाट पोखरामा खानेपानीको लागि पाइपलाइन थपिए पछि घर घरमा खानेपानीको धारा जडान हुन थाल्यो । साथै सार्वजनिक धाराको सङ्ख्या पनि ह्वाट्टै थपियो । त्यसपछि फेरी २०३१ सालमा पाइपलाइन बिस्तार गरियो । २०३५ सालमा काली मुढा योजना सुरु भए पछि लामा चौरको अमला बिसौनी तथा बिन्द्यवासिनीमा पानी ट्याङ्की बनाइयो । 

२०४४ सालमा फेरी पोखरामा खानेपानीको पाइपलाइनमा बिस्तार भयो । यस योजना पुरा भएपछि पोखरामा दैनिक एक करोड साठी लाख लिटर पानी आपूर्ति हुन थाल्यो । हालै जापानी दातृसंस्था जाइकाले करिब ५ अरब खर्चेर पोखराको खानेपानी योजनालाई साँच्चैको खानेपानी बनाउन थालेको छ । मेलम्ची पछिको सबैभन्दा ठुलो यो पोखराको शुद्ध खानेपानीको योजनामा केही व्यवधान आउँदा पोखरेलीले सोचे जस्तो र जाइकाले बोले जस्तो शुद्ध पानी पाइपमा जोडिएका छैनन् । यदि यो योजना जाइकाको योजना अनुरूप पुरा भएमा पोखरामा करिब ३ करोड लिटर शुद्ध पानी आपूर्ति हुनेछ ।

प्रतिक्रिया