शनिबार, वैशाख १३, २०८२

के बोतलको पानी सुरक्षित छैन् ?

नेपालखोज २०८१ असोज १४ गते १७:००

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । 

यस्तै, कोलिफर्म भेटिएको पानीको नमुना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएपछि विक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ । भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरूबाट २० वटा पानीको नमुना लिइएको थियो । 

यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमुना सङ्कलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमुनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सीएफयू) मापदण्ड विपरीत देखिएको हो । सीएफयू सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो । 

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ । 

के तपाईँलाई थाहा छ – संसारमा प्रत्येक मिनेट १० लाख बोतल पानी बिक्री हुन्छ र विश्वभर यसको माग निरन्तर बढिरहेको छ । यद्यपि यस्तो बोतलबन्द पानी वातावरण र स्वास्थ्यको दृष्टिकोणले कति सुरक्षित छ आफैँमा ठुलो प्रश्न हो । 

विज्ञहरुका अनुसार यो बोतलको पानीले आम मानिस र पृथ्वीमा गहिरो प्रभाव पारिरहेको छ । ब्रिटिस मेडिकल जर्नल ग्लोबल हेल्थमा प्रकाशित प्रतिवेदन अनुसार विश्वमा करिब २०० करोड मानिस अझै पनि सुरक्षित पिउने पानीबाट टाढा छन्, स्वच्छ पिउने पानी पुगे पनि त्यो निकै सीमित छ । यस्तो अवस्थामा यो बोतलको पानी कतिपयका लागि बाध्यता पनि हो । 

हामी मध्ये धेरैका लागि यो सुविधा र विश्वासको कुरा हो। बोतलको पानीको कारोबार गर्ने कम्पनीहरूले अक्सर ट्यापको पानी भन्दा बोतलको पानी सुरक्षित र स्वास्थ्यका लागि बढी लाभदायक छ भन्ने दाबी गर्छन्। 

यद्यपि, कतार स्थित वेल कर्नेल मेडिसिन र अध्ययनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूका अनुसार त्यस्तो दाबी सधैँ सत्य हुँदैन। यस सम्बन्धमा, अन्वेषकहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै  भनेका छन् – बोतलको पानी सधैँ गुणस्तरीय हुँदैन । 

विज्ञहरूका अनुसार प्लास्टिकका बोतलबाट हानिकारक रसायन मिसावटको जोखिम हुन्छ, खास गरी यी बोतलको पानी लामो समयसम्म राख्दा वा घाम वा अत्यधिक तापक्रममा छोड्दा यस्तो जोखिम उच्च हुन्छ । 

धेरै ब्रान्डले आफ्नो पानी सुरक्षित र गुणस्तरीय भएको दाबी गर्दै बिक्री गरिरहेका छन् । तर हामीले अमृत सम्झेर पिउने पानीमा हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पार्ने धेरै तत्त्वहरू हुन सक्छन्। 

अध्ययनले देखाएको छ कि १० देखि ७८ प्रतिशत बोतलको पानीको नमुनामा दूषित पदार्थहरू हुन्छन् । यसमा पनि माइक्रो प्लास्टिक जस्ता प्रदूषकहरू भेटिएका छन्, जसले हार्मोनलाई असर गर्न सक्छ । यसका साथै बोतलको पानीमा फथलेट्स ( phthalates ) र बिस्फेनल ए (bisphenol A )जस्ता अन्य हानिकारक पदार्थ पनि पाइन्छ। 

फथलेट्स प्लास्टिकलाइ बलियो बनाउन प्रयोग गरिन्छ। अन्वेषकहरूका अनुसार माइक्रो प्लास्टिकको उपस्थितिले अक्सिडेटिभ तनाव, प्रतिरक्षा प्रणालीमा कमजोरी र रगतमा बोसोको मात्रामा परिवर्तन जस्ता समस्याहरू निम्त्याउन सक्छ भनेका  बीपीएको सम्पर्कले जीवनमा पछि स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यसमा उच्च रक्तचाप, मुटु रोग, मधुमेह र मोटोपन प्रमुख छन् । 

अध्ययनको नतिजा अनुसार बोतलको पानी माथिको निर्भरताले स्वास्थ्य, धन र वातावरणमा ठुलो नोक्सान पुर्‍याउँछ। यस्तो अवस्थामा यसको बढ्दो प्रयोगमा पुनर्विचार गर्न जरुरी छ भने सरकारले पनि सुरक्षित पिउने पानीको पूर्वाधारमा लगानी गर्न तत्काल कदम चाल्नुपर्छ, विशेष गरी कमजोर देशहरूमा।

प्रतिक्रिया