शनिबार, वैशाख १३, २०८२

खानेकुरामा मानिसको बदलिँदो छनौट

नेपालखोज २०८१ असोज १६ गते १७:००

काठमाडाैं । बजारमा खाद्यवस्तु किन्न जाँदा के किन्ने र के नकिन्ने भनेर कसरी निर्णय गर्ने ? हालसालै गरिएको एक सर्वेक्षणले मानिसहरू कसरी खानेकुराको किनमेल गर्छन भन्ने कुरामा धेरै रोचक तथ्यहरू पत्ता लगाएको छ ।

जिब्रोले स्वाद लिए पनि पहिले आँखा र नाक

खानु – पिउनु जिब्रोको कुरा मात्र होइन। हाम्रा दुई इन्द्रियले खाना जिब्रोमा पुग्नु अघि नै त्यसको स्वाद लिइसकेका हुन्छन । पहिलो खाना कस्तो देखिन्छ ? त्यसपछि त्यसबाट कस्तो गन्ध आउँछ ? हामीलाइ मनपर्ने खाना यदि आकर्षक देखिँदैन भने हामी त्यो त्यति स्वादिलो छैन भन्ने मान्छौ । हामीलाई त्यस्तो परिकारबाट त्यति स्वाद पनि आउँदैन । यो नयाँ प्रचलनले के देखाउँछ भने मानिसहरू खाना किन्दा आँखा र नाकको पनि उत्तिकै प्रयोग गरिरहेका छन् ।

पोषणप्रति सचेत

हालै गरिएको एक सर्वेक्षणले जर्मनीका मानिसहरु अब खाद्यवस्तु खरिद गर्दा बढी होसियार हुनथाले देखायो । उदाहरणका लागि खानामा कस्ता चीजहरू समावेश छन्? त्यसमा पोषणको स्तर कस्तो छ ? त्यसलाइ कसरी बनाइन्छ ? जस्ता जानकारी पनि उपभोक्ताहरुलाई आवश्यक हुँदै गएको छ । ‘जर्मनी, एज इट इट्स’ शिर्षकको नयाँ सर्वेक्षण प्रतिवेदनमा यो कुरा उल्लेख छ ।

न्यूट्रिशन स्कोरमा ध्यान

धेरैजसो डिब्बाबन्द वा प्याकेज गरिएका खाद्य वस्तुले त्यसको पोषण स्कोर उल्लेख गर्दछन । यसको दायरा ‘A’ देखि ‘E’ सम्म छ। यसमा A को अर्थ पौष्टिक खाना हो भने E को अर्थ धेरै उच्च क्यालोरी र कम पोषण भएको खाना हो । यदि कसैले ‘ए’ श्रेणीको खाना मात्रै खान्छ भने त्यो पनि धेरै सन्तुलित आहार होइन। किनभने प्याकेज गरिएको सबै खानेकुरा प्रशोधित नै हुन ।

प्याकेजमा स्पष्ट जानकारी

प्याकेज गरिएको खानाको बक्समा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, नुन, चिनी आदि कति छ भन्ने कुरा उल्लेख हुन्छ । यो जानकारी र पोषण स्कोरिङ बिच तुलना गर्ने चलन बढदो छ । जर्मनीका कृषि मन्त्री चेम ओजडेमिरले खाद्य उत्पादनहरूमा स्पष्ट लेबल लगाउने कामको प्रशंसा गर्दै अधिकांश मानिसहरु प्याकेज गरिएको खानामा पौष्टिकताको स्तर स्पष्ट रुपमा उल्लेख हुनुपर्ने पक्षमा भएको बताएका छन् ।

कम चिनी र कीटनाशक रहित खाना प्राथमिकतामा

खानेकुरामा कम चिनीलाइ प्राथमिकता दिनेहरुको संख्या बढ्दै गएको छ । सर्वेक्षण प्रतिवेदन अनुसार सामान किन्दा मानिसहरुले त्यो उत्पादन युरोपेली संघमा बनेको हो वा बाहिरबाट आएको हो भनेर पनि विचार गर्ने गरेका छन । यसबाहेक मानिसहरू खानेकुराको अर्गानिक लेबलमा पनि ध्यान दिन्छन् । उपभोक्ताहरू कीटनाशकको ​​प्रयोगमा सचेत हुँदै गएका छन् ।

एनिमल वेलफेयरको चिन्ता

जनतामा ‘पशु कल्याण’ को चिन्ता पनि बढेको छ । जनावरहरूबाट तयार उत्पादनहरूमा मानिसहरू ती जनावरहरू प्रतिको व्यवहार र उनीहरूलाई राखिएको अवस्थामा समेत ध्यान दिन थालेका छन् । सर्वेक्षणमा सहभागी ८४ प्रतिशतले पशुजन्य उत्पादनमा समावेश गरिएका जनावरहरु प्रति कस्तो व्यवहार गरियो भन्ने अभिलेख अनिवार्य हुनुपर्ने बताएका थिए ।

शाकाहारी तथा भेगनको संख्या बृद्धि

जर्मनी युरोपका ती देशहरू मध्ये एक हो जहाँ शाकाहारी खाना/उत्पादनहरू सजिलै उपलब्ध छन् । जर्मनीमा शाकाहारी र भेगनहरुको संख्या बढ्दै गएको पनि सर्वेक्षणले देखाएको छ । ७१ प्रतिशत सहभागीहरूले दिनको कम्तिमा एक पटक फलफूल र तरकारी खाने कुरालाई प्राथमिकता दिएको पाइयो । सर्वेक्षणमा केवल २३ प्रतिशतले मात्र दैनिक मासु खाने बताए भने एक दिन बाहेक शाकाहारी वा भेगन खाना खाने मानिस १० प्रतिशत थिए ।

स्वाद अझै पनि सबैभन्दा महत्त्वपूर्ण

खानाको स्वाद अझै पनि मानिसहरूको प्राथमिकतामा छ । सर्वेक्षणमा सहभागी ९९ प्रतिशतले खानाको कुरा गर्दा स्वाद सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताए ।

यद्यपि, स्वाद सँगै ९१ प्रतिशतले खाना स्वस्थ्य हुनुपर्छ भनेका छन । त्यसैगरी ५६ प्रतिशत मानिसले छिट्टै र सजिलै पकाउन सकिने खाना नै उत्तम भएको बताएका छन् ।

प्रतिक्रिया